झूटो बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा
प्रतिपक्षी नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।
एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार एक विज्ञप्ति मार्फत खतिवडाको राजीनामा मागेका हुन्।
एक टेलिभिजन कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका वेला आफूले कोभिड विरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति झूटो भएको विज्ञप्तिमा उल्लेख छ।
‘आम जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको वेला मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भत्सर्ना गर्दछौं,’ एमाले सचिव समेत रहेका भट्टराईले भनेका छन्, ‘यति झूट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ।’
एमालेले मन्त्री खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गरेको छ।