‘एमसीसी ४ फागुनमा संसद्मा टेबल हुनेमा प्रधानमन्त्री विश्वस्त’
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता ४ फागुनमा संसद्मा प्रस्तुत हुने बताएका छन्।
नेपाली कांग्रेसको संसदीय दलको मंगलबार काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो विश्वास व्यक्त गरेका हुन्। “भोलि एमसीसी संसद्मा टेबल हुनेमा प्रधानमन्त्रीज्यू विश्वस्त हुनुहुन्छ,” बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भने।
बैठकले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दललाई पनि एमसीसीको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय गरेको महामन्त्री थापाले बताए। आफ्नै सरकार भएको पालामा संसद्मा दर्ता गरेको एमसीसी सम्झौताको विपक्षमा एमाले जान नमिल्ने उनको भनाइ छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको पक्षमा एमाले पनि उभिनुपर्नेमा थापाले जोड दिए। सत्तारूढ तीन दलले पेश गरेको महाअभियोग प्रस्ताव उपयुक्त भएकाले अन्य दलका सांसद्हरूले पनि त्यसको पक्षमा मतदान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन्।