नक्कली पीसीआर रिपोर्ट बनाउने चार कर्मचारी पक्राउ
कोभिड-१९ परीक्षण गरेको नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट वैदेशिक रोजगारमा जाने व्यक्तिको पीसीआर नेगेटिभ भएको रिपोर्ट बनाउने गरिएको भेटिएको छ। महानगरीय अपराध महाशाखाले विशेष सूचनाका आधारमा १८ माघमा अस्पताल जाँदा सरकारले तोकेभन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूना समेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको पाइएको जनाएको छ।
नक्कली रिपोर्ट बनाएको आरोपमा प्रहरीले नागरिक हस्पिटलका कर्मचारी रोशनकुमार छिट्टानलाई आठ वटा नक्कली रिपोर्ट सहित पक्राउ गरेको छ। त्यस्तै, अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ।
यसै गरी १७ वटा नक्कली रिपोर्ट सहित कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्रकुमार यादव र माधव मैनालीलाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली रिपोर्ट बनाएको खुलेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, अस्पतालका ल्याबहरूले कतिपय व्यक्तिको स्वाब र परीक्षण विना नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको, चिकित्सकले रिपोर्ट नै हेर्ने नगरेको र विद्युतीय हस्ताक्षर प्रयोग गरिएको पाइएको छ।
यस्तै, कतिपय पीसीआर पोजेटिभ देखिएका स्याम्पलको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको तथा पीसीआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको पाइएको छ।