कोरोनाका कारण सर्यो माओवादी केन्द्रीय समिति बैठक
केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ।
माओवादीको आठौं महाधिवेशनपछि चयन भएको केन्द्रीय समितिको दोस्रो बैठक २५ पुसमा बोलाइएको थियो। जसमा केन्द्रीय पदाधिकारी चयन गर्ने तयारी थियो।
केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय सहित ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ। अध्यक्ष पुष्पकमल दाहालले पनि भेटघाट बन्द गरेका छन्।
कोरोना सङ्क्रमणका कारण केन्द्रीय समिति बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। अब केन्द्रीय समिति बैठक ८ माघमा बस्ने ढकालले बताए।
यससँगै माओवादी पदाधिकारी चयन प्रक्रिया पनि लम्बिने भएको छ। आठौं महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिएका छन्। केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित १५ पदाधिकारी रहने व्यवस्था छ।