नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन गर्न समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायत व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन गरिएको समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानून शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी छन्।
दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेस्टुरेन्टबारे तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए।
उनले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई २० पुसमा निर्देशन दिएका थिए। उनको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ।
समितिले सङ्ग्रहालयको १० रोपनी जमीनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार आएपछि चौतर्फी आलोचना भएको थियो।