सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयन्त्र बनाउने
सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा संयन्त्र बनाउने भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसार र व्यवस्थापनका लागि केन्द्रमा समन्वय समिति बनाउने निर्णय गरेको छ। यससँगै सातै प्रदेशमा पनि समन्वय समिति बनाउने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए।
सत्तारूढ गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि समन्वय गर्न समिति बनाउने निर्णय भएको उनको भनाइ छ। गठबन्धनले साझा उम्मेदवार तय गरी उम्मेदवारी दर्ता गराइसकेको छ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए।
त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव भुसाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत बैठकमा उपस्थित थिए।