प्रधानमन्त्री देउवा सहभागी हुने ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम स्थगित
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ सम्मेलन स्थगित भएको छ।
कोभिड-१९ को सङ्क्रमण बढेपछि गुजरात सरकारले सम्मेलन स्थगित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय सञ्चार संस्था एएनआईले कोरोनाभाइरसको सङ्क्रमण बढेकाले भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित गरिएको जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा १० जनवरीमा भाइब्रेन्ट गुजरात सम्मेलन हुने तय गरिएको थियो। सम्मेलनको मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा पनि आइतबार भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो।