राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्तारूढ गठबन्धन नै अगाडि
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन नै बलियो देखिएको छ।
१२ माघमा हुने निर्वाचनमा सत्तारूढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ। सत्तारूढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार छन्।
त्यस्तै, एमालेबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दा पनि विपक्षी गठबन्धनको मतभार नै बढी देखिएको छ।
लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सांसद र स्थानीय तहका ८७ प्रमुख तथा उपप्रमुख छ। सबैको मतभार ३३९० छ।
सत्तारूढ गठबन्धनमा कांग्रेसका १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ६६ जना छन्। उनीहरूको मतभार २१०० छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४२ छन्। उनीहरूको मतभार १६६८ हुन्छ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख पाँच जना छन्। उनीहरूको मतभार १३८ छ।
यसै गरी, जसपाका ६ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १४ जना छन्। उनीहरूको मतभार ४४४ छ।
सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेको राप्रपाका दुई र स्वतन्त्र एक सांसदको मतभार १४४ छ। यस अनुसार, सत्तारूढ गठबन्धनको मतभार ४३५० रहेको छ। जबकि, एमाले सहित अन्य पार्टीको मतभार ३५३४ छ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन्। लुम्बिनीमा २९३ मतदाता छन्।
१२ माघमा हुने निर्वाचनका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।