तालीम दिएर औषधि बेच्न दिने प्रस्तावको विरोध
नेपाल फार्मास्युटिकल्स एसोसिएशनले तालीमको भरमा औषधी बेच्न दिने प्रस्ताव गलत भएको भन्दै औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ।
विभागले तालीम दिएर औषधि बेच्न लाइसेन्स बाँड्ने गरी औषधि सल्लाहकार समितिको बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ। यस सम्बन्धी हिमालखबरले समाचार प्रकाशित गरेपछि जनस्वास्थ्यमाथि खेलबाड हुने भन्दै एसोसिएशनले विरोध जनाएको छ।
तालीमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न दिन नहुने एसोसिएशनले जनाएको छ। शुक्रबार एसोसिएशनले विभागका सदस्य-सचिव सन्तोष केसीलाई भेटेर ध्यानाकर्षण गराएको छ।
एसोसिएशनका महासचिव ललितमोहन पन्त विभागको अजेन्डा पारित हुन नदिने बताउँछन्। “विभागले छलफलमा लान लागेको अजेन्डा नै गलत छ भनेर हामीले ध्यानाकर्षण गराएका छौं, जनस्वास्थ्यमा खेलबाड हुने यस्ता निर्णय पारित हुन दिन्नौं,” उनी भन्छन्।
सोमबार बस्ने औषधि सल्लाहकार समितिको बैठकको ११ नम्बर अजेन्डामा रिफ्रेसर तालीम नलिई बसेका व्यवासायीलाई अद्यावधिक गर्ने उल्लेख छ। प्रस्तावमा ‘औषधि बिक्री-वितरणमा समावेश रहेका तर रिफ्रेसर तालीम नलिई बसेका व्यवसायीले विभागले तोकेको रिफ्रेसर तालीम लिएर औषधि बिक्री-वितरणमा समावेश रहेको प्रमाण सहित पेश हुन आएमा अन्तिम पटकका लागि व्यवसायी मान्यता प्रदान गर्न उपयुक्त देखिएकाले प्रस्ताव प्रस्तुत गरिएको’ लेखिएको छ।
त्यस्तै ‘औषधि बिक्री-वितरणमा समावेश रहेका तर रिफ्रेसर तालीम नलिई बसेका व्यवसायीको एकमुष्ठ विवरण सङ्कलन गरी विभागले तोकेको रिफ्रेसर तालीम लिएमा व्यवसायी मान्यता प्रदान गर्न सिफारिश गर्ने’ निर्णय गर्नुपर्ने प्रस्तावमा भनिएको छ।