सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले दिए उम्मेदवारी
नेपाली कांग्रेसको सह-महामन्त्री पदमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बिहान भृकुटीमण्डपस्थित कांग्रेस निर्वाचन समितिको कार्यालय पुगेर विश्वकर्माले दलिततर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। कांग्रेसमा आठ वटा सहमहामन्त्री रहने व्यवस्था छ।
दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा भातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्ष पनि हुन्। दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वकर्मा कांग्रेसको नीति तथा प्रशिक्षण विभागको प्रमुख रहिसकेका छन्।
त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिसमेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए। लामो समयसम्म अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिई चर्चामा आएका थिए।