सभापतिको दाबी छाडेको छैन : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको उम्मेदवारका रूपमा आफ्नो दाबी यथावत् रहेको बताएका छन्।
कांग्रेसको १४औं महाधिवेशनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष साझा रूपमा सभापतिको उम्मेदवार तय गर्न केही दिनदेखि परामर्श गरिरहेको छ। महामन्त्री डा. शशांक कोइरालाले पौडेललाई समर्थन रहेको जनाइसकेका छन्। अहिले पौडेलसँगै सिंह र डा.शेखर कोइराला सभापति पदको उम्मेदवारको दाबेदार छन्।
शुक्रबार पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले आफ्नो दाबी यथावत् रहेको बताए। कांग्रेसलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाएर सबै चुनौती सामना गर्न सक्ने बनाउन आफू सभापतिको उम्मेदवार बन्न लागेको उनको भनाइ थियो।
“पार्टी सभापतिको उम्मेदवारका रूपमा परामर्श भइरहेको छ,” नेता सिंहले भने, “अहिलेसम्म दृढ भएर अगाडि बढिरहेको छु।”
राजनीतिलाई सेवा गर्ने क्षेत्रका रूपमा लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो। पूर्व प्रधानमन्त्री भट्टराईले पनि आफूलाई त्यही कुरा सिकाएको उनले बताए। कांग्रेसलाई विधिसम्मत र संस्थागत रूपमा अगाडि बढाउनु आवश्यक भएको नेता सिंहको भनाइ थियो।
कांग्रेसको १४औं महाधिवेशन २४ मंसीरदेखि काठमाडौंमा शुरू हुन लागेको छ। केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि २७ मंसीरमा निर्वाचन हुने कार्यक्रम रहेको छ।