चुनावी जित-हारले असहिष्णु बन्नु हुँदैन : देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा हुने जित-हारलाई लिएर असहिष्णु बन्न नहुने बताएका छन्।
बिहीबार कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतद्वारा लिखित नेपाली कांग्रेस एन्ड नेशन बिल्डिङ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको चुनावमा हुने हार–जितलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। कांग्रेसको १४औं महाधिवेशनबाट सकभर सहमतिमा नेतृत्व चयन गरिने उनको भनाइ थियो।
देउवाले भने, “सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौं, नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो। तर पनि प्रतिस्पर्धामा हुने हार–जितलाई स्वाभाविक रूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन।”
जसको जित-हार भए पनि सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। “जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन,” देउवाले भने।
कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा शुरू हुँदै छ। त्यसको पूर्वसन्ध्यामा बोल्दै देउवाले भने, “यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईंहरू सबै लाग्नुपर्छ।”
उनले १४औं महाधिवेशन कांग्रेसको मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्त्वपूर्ण अवसर भएको जिकिर गरे। “महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ,” देउवाले भने।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताए। उनले महतलाई मिहिनेती र आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गरे।
सहमहामन्त्री महतले लेखेको नेपाली कांग्रेस एन्ड नेशन बिल्डिङ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाबारे रहेको छ। यही विषयमा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गरेको र त्यसलाई केही संशोधित सामग्री सहित पुस्तकका रूपमा प्रकाशन गरेको महतले बताए।