एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
नेकपा (एमाले)को केन्द्रीय कमिटीको १०औं बैठक आज पनि जारी रहने भएको छ।
एमाले केन्द्रीय कमिटी बैठक आज अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार स्थगित १०औं बैठक आज बस्ने उनले बताए।
सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो। उनीहरूलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोध्न लागिएको जनाइएको छ।
प्रधानमन्त्री देउवाले ३ साउनमा प्रतिनिधि सभामा विश्वासको मत पाएका थिए। उनलाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। जसमध्ये आठ जना अध्यक्ष केपी शर्मा ओली पक्षका थिए।
आज बस्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। यससँगै विधान अधिवेशनका विषयमा पनि छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए।