महामारी असरबारे सर्वेक्षण : ८ प्रतिशत परिवारले पाएनन् पर्याप्त खाद्यान्न
आठ प्रतिशत परिवारले पर्याप्त खाद्यान्न नपाएको एक सर्वेक्षणले देखाएको छ। युनिसेफ र शेयरकास्ट इनिसिएटिभ नेपालले कोभिड-१९ ले महिला तथा बालबालिकामा परेको प्रभावबारे गरेको सर्वेक्षणले यस्तो देखाएको हो।
सन् २०२१ को जनवरीमा अध्ययनमा सामेलमध्ये ८ प्रतिशत घरपरिवारले पर्याप्त पोषणयुक्त खाना नपाएको जवाफ दिएका थिए। यद्यपि, पछिल्ला महीनामा पर्याप्त खाद्यान्न नपाउने परिवारको संख्या घट्दै गएको छ।
सन् २०२० को अगस्टमा पर्याप्त खाद्यान्न नपाउने घरपरिवारको संख्या १९ प्रतिशत रहेको देखिएको थियो। पर्याप्त खाद्यान्न नपाउनेमा दलित, महिला घरमूली, सदस्य अपाङ्गता भएका परिवार तथा रोजगारी गुमाएका परिवार धेरै छन्।
१० प्रतिशत घरपरिवारका बालबालिकाले नियमित खाने खानामा कटौती भएको सर्वेक्षणले देखाएको छ। उत्तरदातामध्ये ७० प्रतिशत घरपरिवारका बालबालिकाले दिनको तीन पटक खाना खान पाएको देखिएको छ।
त्यस्तै, २४ प्रतिशत उत्तरदाताले उनीहरूका बालबालिकाले दिनको तीन पटकभन्दा धेरै खाना खान पाएको जवाफ दिएका थिए। तर, ६ प्रतिशत घरपरिवारका उत्तरदाताले उनीहरूका बालबालिकाले दिनको दुई पटक मात्र खाना खान पाएको जवाफ दिएका थिए।
१२ प्रतिशत घरपरिवारले बालबालिकाको खानेकुराको प्रकार घटेको जवाफ दिएका थिए। दलितसहितका विपन्न परिवारले बालबालिका दुब्ला र ख्याउटे हुँदै गएको जवाफ दिएका थिए। १२ प्रतिशत घरपरिवारले उनीहरूका बच्चा दुब्लो हुँदै गएको बताएका थिए।
अध्ययनले रोजगारी गुमाउनेको संख्या घट्दै गएको पनि देखाएको छ। सन् २०२० को मे महीनामा ५५ प्रतिशत उत्तरदाताले रोजगारी गुमाएको जवाफ दिएकोमा जुलाईमा ६१ प्रतिशत उत्तरदाताले रोजगारी गुमाएको बताएका थिए।
यद्यपि, सन् २०२१ को जनवरीमा रोजगारी गुमाउने १९ प्रतिशत मात्र रहेको देखाएको छ। ५५ प्रतिशत उत्तरदाताले घरपरिवारका कम्तीमा एक सदस्यले पछिल्लो महीना रोजगारी फेला पारेको जवाफ दिएका छन्।
त्यस्तै, खाद्यान्नको जोहो गर्न कठिन पर्ने एकतिहाइ घरपरिवारले मात्र कामको अवसर फेला पार्न सकेको जवाफ दिएका छन्। घरमा अपाङ्गता भएका, महिला घरमूली भएका तथा अशिक्षित परिवारका सदस्यले कामको अवसर पाउन कठिन भएको देखिन्छ।
सर्वेक्षणले पछिल्ला महीनामा घरपरिवारको आम्दानीमा निरन्तर सुधार भएको देखाएको छ। यद्यपि, ४० प्रतिशत घरपरिवार अझै पनि गरिबीको जोखिममा रहेको अध्ययनमा पाइएकाे छ।
सर्वेक्षणमा सहभागी घरपरिवारमध्ये चार प्रमुख आवश्यकतामा वित्तीय सहायता, रोजगारी, खाद्यान्न र बालबालिकाको शिक्षालाई राखिएका छन्। गत जनवरी महीनामा ८ प्रतिशत घरपरिवारले कुनै न कुनै रूपको सरकारी सहायता पाएको र २३ प्रतिशत घरपरिवारले सामाजिक सुरक्षा सहायता पाएको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा सहभागीमध्ये करीब १० प्रतिशत घरपरिवारले कोभिड-१९ का लागि आवश्यक पर्ने होम आइसोलेसनको बन्दोबस्ती मिलाउन आफूहरू असमर्थ रहेको जवाफ दिएका थिए। त्यसैगरी, समुदायमा बालबालिका र महिलामाथि हुने हिंसा र दुर्व्यवहारको घटना बढिरहेको पनि अध्ययनले देखाएको छ।
युनिसेफ र शेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा २०७७ वैशाख (मे, २०२०) देखि कोरोना महामारीका कारण महिला तथा बालबालिकामा परेको प्रभावका विषयमा नियमित सर्वेक्षण हुँदै आएको छ। सर्वेक्षणको छैटौं संस्करण गत जनवरीमा गरिएको थियो, जसमा ६ हजार ५१३ घरपरिवार समावेश थिए।