काठमाडौंको धुवाँ हट्न अझै केही दिन लाग्ने
तराईमा भइरहेको आगलागीका कारण काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रको आकाशमा बढेकाे धुवाँ हट्न अझै केही दिन लाग्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागले डढेलो सम्बन्धी विशेष मौसमी बुलेटिन जारी गर्दै काठमाडौं लगायत आसपासका क्षेत्रको वायु प्रदूषण कम हुन अझै केही दिन लाग्ने जनाएको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं लगायत देशका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको जनाएको छ। जसले गर्दा प्रदूषणका कणहरू छरिन नपाएको र वायुमण्डलमा नै तैरिरहेको उल्लेख गरेको छ।
महाशाखाले भनेको छ, ''हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले धेरै जसो स्थानहरूमा (मुख्यतया उपत्यकाहरूमा) प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ। हाल स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको देखिन्छ।''
अझै केही दिन प्रदूषणमा सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन्। आगलागी जारी रहेको र वायुमण्डल स्थिर रहेकाले प्रदूषणका कणहरू छरिन नपाएको उनले बताइन्।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा वायु प्रदूषणका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आउने जनाएको छ। बुलेटिनमा भनिएको छ, ''प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असरहरू जस्तै आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।''
आज पनि काठमाडौंको वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामै रहेको छ। काठमाडौंस्थित बेलायती राजदूतावास आसपासको क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२१ रहेको छ। त्यस्तै, झम्सिखेलमा ४०२ रहेको छ। एक्यूआई ४०० भन्दा माथि स्वास्थ्यका लागि घातक मानिन्छ।
त्यस्तै, तराईका जिल्लामा आगलागीको क्रम रोकिएको छैन। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रमा आगलागी भइरहेको महाशाखाले जनाएको छ।