चितवन र पर्साको आगलागीले काठमाडौंको आकाशमा धुवाँ
चितवन र पर्साको संरक्षित क्षेत्रमा लागेको आगोका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रको आकाश बाक्लो धुवाँले छोपिएको छ।
काठमाडौं उपत्यका सोमबार मध्याह्न एकाएक बाक्लो धुवाँले छोपियो। यस्तै धुवाँले उपत्यकासँगै बागमती प्रदेशको पहाडी क्षेत्र ढाकिएको थियो।
यसको कारण थियो, तराईका जंगलमा लागेको आगो। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा आगलागी हुँदा हावाले त्यहाँको धुवाँ उडाएर काठमाडौं तथा आसपासका क्षेत्रमा पुर्याएको थियो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एफआईआरएमएस (फायर इन्फर्मेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टम)ले खिचेको स्याटेलाइट तस्वीरमा पनि चितवन र पर्सा लगायतका क्षेत्रमा आगलागी भएको देखिएको छ। त्यस्तै, बर्दिया, सुर्खेत र पहाडी क्षेत्रका केही जिल्लामा पनि आगलागी भएको तस्वीरमा देखिएको छ।
त्यस्तै, नासाको अर्को तस्वीरमा बागमती प्रदेशको हिमाली क्षेत्रमा निलो धुँवा देखिएको छ। यस्तो धुवाँ काठमाडौंसँगै पोखरा र आसपासका क्षेत्रमा पनि देखिएको छ।
यतिवेला तराईका संरक्षित क्षेत्रमा मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस तथा दाउरा संकलन गर्छन्। संरक्षित क्षेत्रले केही समयका लागि घाँस तथा दाउरा संकलन गर्न अनुमति दिनेको गरेको छ।
घाँस तथा दाउराका लागि संरक्षित क्षेत्रभित्र प्रवेशका गरेका स्थानीय बासिन्दाले आगो लगाउने गरेका छन्। त्यही कारणले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष र आसपासका जंगलमा आगलागी भएको छ।
तराईकाे जंगलमा आगो लाग्दा हावाले त्यहाँको धुवाँ उत्तररतिर बढार्ने गर्छ। त्यही क्रममा चितवन र पर्साको धुवाँ काठमाडौं र आसपासको क्षेत्रमा पुगेको हो।
जसले गर्दा काठमाडौंमा वायु प्रदूषण बढेको थियो। सोमबार अपराह्न ४ बजे काठमाडौंको वायु गुणस्तरको सूचकांक (एक्यूआई) ४२१ रहेको थियो। यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा १० गुणा बढी हो।