उखु किसानको आन्दोलन फिर्ता, २१ दिनभित्र रकम भुक्तान गर्ने सहमति
![उखु किसानको आन्दोलन फिर्ता, २१ दिनभित्र रकम भुक्तान गर्ने सहमति](https://www.himalkhabar.com/uploads/posts/1579697093ukhu_kisan.jpg)
काठमाडौंको माइतिघर मण्डलमा २८ मंसिरदेखि आन्दलोलनरत उखु किसानको आन्दोलन फिर्ता भएको छ।
सरकारले २१ दिनभित्र ऊखु किसानको रु.६५ करोड भुक्तान गर्ने सहमति भएपछि आन्दोलन रोकिएको उखु किसान संघर्ष समिति सर्लाही संरक्षक तथा किसान राकेश मिश्रले बताए।
उद्योग मन्त्रालयसँग उखु किसानको रु.६५ करोड भुक्तानी २१ दिन भित्र गर्ने, किसानले पाउने थप रकम आवश्यक छानबिन गरेर तय गर्ने र उक्त रकम पनि भुक्तान गर्ने शर्तमा किसानले आन्दोलन फिर्ता लिएका हुन्।
मिश्रका अनुसार, किसानले पाउनुपर्ने रकम भुक्तानी नभएसम्म उखु उद्योगीको सम्पति रोक्का, ट्राभल डकुमेन्ट रोक्का, पक्राउ पूर्जी जारी निरन्तर र २१ दिनभित्र रकम भुक्तानी नभए थप कानूनी कारवाही गर्ने सहमति भएको छ। यो सहमतिपछि हाललाई आन्दोलन रोकिएको मिश्रले बताए।
उद्योग मन्त्रालयले किसानको रकम भुक्तानी गर्ने सम्बन्धमा एक प्राविधिक समिति समेत गठन भएको छ। समितिले किसानको रकम तथा उद्योगीको भुक्तानीसहितको विषयमा छानविन गरेर प्रतिवेदन तयार पार्ने छ।
१२० दिनभित्रमै सरकारी अनुदानको दुरुपयोग भएको, उखुको तौल घटाएर किसानलाई घाटा पुर्याएको, किसानले पाउनुपर्ने रकम तय गर्ने र रकम भुक्तान दिलाउने गरी समिति बनेको हाे ।
समितिमा तीन जना किसान, उखु किसान संघर्ष समितिका अध्यक्ष, उखु उद्योगीसहित अर्थ, गृह, उद्योग र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन्। समितिले दिएको प्रतिवदेनका आधारमा उखु किसानले पाउने भुक्तानी तय हुने र किसानलाई दिलाउने विषय तय भएको पनि उखु किसान मिश्रले बताए।