‘किम्फ’ को चौथो दिन ‘डिजिटल डायरी’ को प्रदर्शन
‘भर्चुअल’ रूपमा काठमाडौंमा जारी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करणको चौथो दिन ‘डिजिटल डायरी’ सँगै तीन प्रतिस्पर्धी फिल्म प्रदर्शन भएका छन्। साथै उक्त फिल्महरूमाथि ‘भर्चुअल’ अन्तरक्रिया समेत भएको छ।
‘डिजिटल डायरी’ मा कोरोना महामारीको कारण समस्यामा परेका विभिन्न व्यक्तिहरूको कथा प्रस्तुत गरिएको थियो। यसमा पात्रहरूले नै आफूसँग भएको प्रविधिको प्रयोग गरेर कोरोनाको कारण आफूले भोग्नुपरेको भिडियो कथा तयार पारेका हुन्।
उक्त भिडियो डायरी प्रस्तुतपछि डा.शेरबहादुर पुन, डा.मेरी चेम्बर, स्वास्थ्यकर्मी एवं ‘डिजिटल डायरी’ की पात्र सुनिता बानियाँ र ‘डिजिटल डायरी’ का संयोजक दिनेश देवकोटासँग संचारकर्मी दिलभुषण पाठकले छलफल गरेका थिए। छलफलमा स्वास्थ्यकर्मीको अनुभव, कोरोनाबारे आम मानिसको बुझाई र ‘डिजिटल डायरी’ बारेमा चर्चा गरिएको थियो।
फेस्टिभलमा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि सञ्चालन भईरहेको आयोजक संस्थाले जनाएको छ। महोत्सवमा हरेक दिन प्रदर्शन भएका फिल्म किम्फको वेबसाइटमा पाँच दिनसम्म हेर्न सकिनेछ।
बिहिबारदेखि चलिरहेको फेस्टिभलको भोलि अन्तिम दिन तीन टिना माडिसनको ‘द बिलभेड डटर’ को विशेष प्रदर्शनीसहित अन्य तीन फिल्म प्रर्दशन हुने र उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै समापन हुनेछ।
यो वर्ष तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन्। यो निर्णायक मण्डलले ३० वटा प्रतिस्पर्धी फिल्मबाट अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछन्।
निर्णायकको छनौटमा परेका अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रू. २ लाख, रू. १ लाख ५० हजार र रू. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशि क्रमशः रू. १ लाख र रू. ७५ हजार पुरस्कार रहेको छ।
फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि र ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू परेको आयोजकले जनाएको छ।