लुम्बिनी प्रदेशका कांग्रेस प्रमुख सचेतक सुरेन्द्र हमाल जिम्मेवारीबाट हटाइए
![लुम्बिनी प्रदेशका कांग्रेस प्रमुख सचेतक सुरेन्द्र हमाल जिम्मेवारीबाट हटाइए](https://www.himalkhabar.com/uploads/posts/800X600/Surendra-Hamal-1_1604400921.jpg)
प्रदेश सभामा प्रदेशको राजधानीका विषयमा भएको मतदानमा अनुपस्थित भएका सुरेन्द्र हमाललाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको मुख्य सचेतकबाट हटाएको छ।
२० असोजमा प्रदेशको राजधानी तोक्ने क्रममा प्रदेश सभामा भएको मतदानमा हमाल अनुपस्थित थिए। प्रमुख सचेतकबाट हटाइएका हमालले भने आफ्नो सहमतिमै संसदीय दलका नेताले अर्का सांसदलाई मुख्य सचेतक तोकेको बताए। “मैले पहिलेदेखि नै छोड्छु भनेको थिएँ, म सहमतिबाटै बाहिरिएको हो,” हमालले हिमालखबरसँग भने।
हमालको स्थानमा रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित फखरुदिन खानलाई नियुक्त गरिएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै हमाललाई हटाएर खानलाई नियुक्त गरेका हुन् ।
प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावमा कांग्रेस संसदीय दलले विरोध गरेपनि हमाल लगायत डिल्ली चौधरीसहितका सांसदले समर्थन गरेका थिए । हमाल बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।