अध्ययन भन्छ- कोरोना संक्रमणका हिसाबले किराना पसलको किनमेलभन्दा हवाई यात्रा सुरक्षित
संक्रामक भाइरसबाट बच्नका लागि किराना पसलमा किनमेलभन्दा हवाईजहाजमा यात्रा गर्न सुरक्षित हुने एउटा अध्ययनले देखाएको छ।
हार्वड विश्वविद्यालयले जनस्वास्थ्य सम्बन्धी गरेको अध्ययनबाट हवाईजहाजमा प्रयोग गरिएको भेन्टिलेसनको सहायताले भाइरस संक्रमणबाट बच्न सकिने तर्क गरिएको छ।
अध्ययनअनुसार जहाजमा राखिने 'स्पेसिलाइज्ड अनबोर्ड भेन्टिललेसन सिस्टम' ले हावामा हुने ९९ प्रतिशत भाइरसलाई फिल्टर गर्ने भएको हुँदा हवाई यात्रा सुरक्षित हुने बताएको छ।
यस अध्ययनका लागि विमान कम्पनीहरू, विमान निर्माणकर्ता कम्पनीहरू र विमानस्थलहरूले लगानी गरेका थिए । तर हार्वडका अनुसन्धानकर्ताहरूले भने त्यसले अनुसन्धानको निष्कर्षमा कुनै असर नपुगेको बताएका छन्।
अनुसन्धानकर्ताहरूले उच्च गुणस्तरको फिल्टरमार्फत पहिले हावालाई विमानको क्याबिनमा पठाइने र उक्त हावा यात्रुकोमा माथिबाट सिधै पुग्ने भएकाले एउटाको संक्रमण अरूलाई सर्ने सम्भावना नहुने बताएका छन् ।
यद्यपि अनुसन्धानकर्ताहरूले भेन्टिलेसन मात्रै कोरोना संक्रमण रोक्न काफी नहुने भएको हुँदा यात्रुले मास्कलगायत स्वास्थ्य सावधानीका उपायमा भने ध्यान दिनुपर्ने बताएका छन्।