आर्थिक वर्षको पहिलो महीनामै रेमिटेन्समा उत्साहजनक वृद्धि
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महीनामै रेमिटेन्समा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, साउन महिनामा रेमिटेन्स २३ प्रतिशतले बढेर रु. ९२ अर्ब ७१ करोड पुगेको हो। रेमिटेन्स अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ।
गत वर्षको सोही अवधिमा रेमिटेन्समा २ प्रतिशतको मात्र वृद्धि देखिएको थियो। कोभिड–१९ ले संसारभरिको अर्थतन्त्र शिथिल बनाएर वैदेशिक रोजगारीमा गएका नेपालीको श्रम आय खस्किएको अनुमान गरिएका बेला रेमिटेन्समा प्रभाव नपरेको देखिएको हो। साउनमा भित्रिएको रेमिटेन्स मासिक औसतका तुलनामा धेरै हो।
गत आर्थिक वर्ष २०७६/७७ मा रु. ८ खर्ब ७५ अर्ब रेमिटेन्स नेपाल भित्रिएको थियो। यो अघिल्लो आर्थिक वर्षका तुलनामा ०.५ प्रतिशतले मात्रै थोरै हो।
यसअघि, कोभिड–१९ का कारण रेमिटेन्स ह्वात्तै खस्किने चिन्ता गरिएको थियो। तर, विश्व अर्थतन्त्रमा संकचुनका बावजूद रेमिटेन्समा ठूलो उतारचढाव आएको देखिएन। चैतयता वैदेशिक रोजगारी ठप्प प्राय छ।
अनौपचारिक माध्यमबाट आउने रेमिटेन्स औपचारिक माध्यमबाट आएकाले बढेको अनुमान गरिएको छ। नेपाल राष्ट्र ब्यांकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, “नेपालको आयात खस्किएकाले विदेशमैं घुमिरहने रेमिटेन्स अहिले औपचारिक माध्यमबाट भित्रिएको छ, जसले गर्दा आकार बढेको देखिएको हो।”
त्यसबाहेक चैतपछि एक हदसम्म रोकिएको रेमिटेन्स आप्रवाह एकैपटक आएको र रेमिटेन्सको स्रोत देशमा अर्थतन्त्र विस्तारै चलायमान हुन थालेर नेपालीको श्रम आय पनि बढेका कारण रेमिटेन्स आप्रवाह बढेको अनुमान गरिएको उनले बताए।
राष्ट्र ब्यांकका अनुसार, देशको चालु खाता पनि बचतमा आइपुगेको छ। साउनमा चालु खाता रु. २५ अर्ब ४१ करोडले वचतमा छ। अघिल्लो वर्षको यही अवधिमा चालु खाता रु. ९ अर्ब ३४ करोडले घाटामा थियो। त्यस्तै, शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोड वचतमा छन्। आयात खुम्चिएको, रेमिटेन्स आय बढेको लगायतका कारणले चालु र शोधनान्तर स्थिति वचतमा पुगेका हुन्।