वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार
रोजगारीका लागि युवा विदेश जान लालायित भइरहेका वेला वैदेशिक रोजगारीबाट फर्केका केही युवा तन्नेरी भने गाउँमै स्वरोजगार बनिरहेका छन्।
वैदेशिक रोजगारीमा जाँदा कैलालीको धनगढी उपमहानगरपालिका-१८, ‘ए’ गाउँकी लक्ष्मी आचार्यलाई छरछिमेकले पनि राम्रो व्यवहार गरेनन्। कामको खोजीमा महिला घर बाहिर निस्कँदा गरिने छि:छि: दुरदुर उनले पनि भोगिन्।
समाजले जे भने पनि उनलाई परिवार पाल्नु थियो, भाइबहिनीलाई लेखाउनु-पढाउनु थियो। “घर चलाउन निकै गाह्रो थियो, गुजारा चलाउन धौधौ थियो,” लक्ष्मी सम्झिन्छिन्, “जसले जेसुकै सोचून् भन्ने ठानेर कुवेत गएँ।”
घरको आर्थिक अवस्था कमजोर भएकाले एसएलसीपछि उनी ट्राभल एजेन्सीमा काम गर्न थालेकी थिइन्। महीनाको तीन हजार तलब थियो। “दिनको १२ घण्टा काम गरेर तीन हजार कमाउँथें। तर समाजले छोरी मान्छे घर बाहिर काम गरेको पचाउन सक्दैनथ्यो,” उनी भन्छिन्, “मेरो चरित्रमा प्रश्न खडा गर्थे।”
ट्राभल एजेन्सीमा काम गर्दा पनि छरछिमेकले अनेकथरी प्रश्न गरेपछि उनी भारतको दिल्ली पुगिन्। दिल्लीमा केही दिन आफन्तकहाँ बसेर कुवेतको भिसा लगाइन्। महीना दिन नबित्दै २०६३ सालमा घरायसी कामदारका लागि कुवेत उडिन्।
दुई वर्ष आठ महीना कुवेतमा बस्दा घरपरिवारको खर्च त चल्यो तर कमाइ हुन सकेन। तलब नै कम थियो। त्यसपछि नेपाल फर्किएर मलेशियातिर लागिन्।
मलेशियामा सोनी कम्पनीमा काम थियो। “खाना बस्न पनि राम्रो व्यवस्था थियो, तलब पनि राम्रै,” उनी भन्छिन्। मासिक २५ हजार रुपैयाँ जति पाउँथिन्।
तीन वर्ष मलेशियामा बिताएपछि घर फर्किइन्। त्यतिन्जेल भाइबहिनीको लेखपढ सकिएको थियो। उनीहरू आआफ्नो काममा लागिसकेका थिए। त्यसपछि भने उनलाई विदेश जान मन लागेन। “जति दुःख गरेर विदेशमा काम गरिन्छ, त्यति गाउँमै गर्दा कमाउन सकिन्छ भन्ने हिम्मत जुट्यो,” लक्ष्मी भन्छिन्, “अहिले गाउँमा व्यापार गरिरहेकी छु।”
दैनिक पाँच-सात हजारको व्यापार हुन्छ। त्यसबाट परिवार पाल्न र आफ्नो खर्च चलाउन पुगेको उनी सुनाउँछिन्।
यससँगै उनी अर्को काम पनि गरिरहेकी छन्, वैदेशिक रोजगारीबारे युवालाई सचेत गराउने। वडा कार्यालयसँगको सहकार्यमा सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम मार्फत काम गरिरहेको उनी बताउँछिन्। “विदेश जाने युवालाई आइपर्ने समस्या र जोखिमबारे जानकारी गराउँछु,” लक्ष्मी भन्छिन्, “वैदेशिक रोजगारीमा ठगिएका वा अप्ठ्यारोमा परेका युवालाई कानूनी सहायताका लागि सघाउँछु।”
त्यस्तै, धनगढी उपमहानगरपालिका-१४, फूलबारीकी विष्णु क्षेत्री पनि १० वर्षअघि कुवेत गएकी थिइन्। आठ वर्षकी छोरी र १२ वर्षको छोरालाई बहिनीको घरमा राखेर विदेश गएकी थिइन्।
आफ्ना बालबच्चालाई बहिनीको जिम्मा लगाएकी उनको काम कुवेतमा भने बालबच्चाकै हेरचाह गर्ने थियो। त्यही घरमा अर्की नेपाली पनि काम गर्ने भएकाले बोलीचालीमा सजिलै थियो। “एउटै घरमा दुई जना काम गर्थ्यौं,” उनी सम्झिन्छिन्, “मैले हेरचाह गर्ने बच्चा सुतेपछि उनलाई पनि काममा सघाउँथें।”
विष्णुको मासिक तलब २२ हजार रुपैयाँ थियो। काम राम्रै चलेको थियो तर स्वास्थ्यले साथ दिएन। नौ महीनामै नेपाल फर्किएको बताउँदै उनी भन्छिन्, “घरको आर्थिक अवस्था कमजोर भएकाले विदेश गएकी थिएँ तर स्वास्थ्यले साथ नदिंदा फर्किनुपर्यो।”
त्यति वेला उनका श्रीमान् भारतको गुजरातमा काम गर्थे। उतै बोलाएका पनि थिए। तर उनलाई कतै जान मन लागेन। “जति दुःख विदेशमा गरिन्छ, त्यति यतै गर्दा कमाइ गर्न सकिन्छ भन्ने लाग्यो,” उनी भन्छिन्।
त्यसपछि गाउँमै बाख्रापालन शुरू गरिन्। भैंसी पनि थपिन्। “भैंसीको दूध बेच्छु, घरखर्च राम्रै चलेको छ,” उनी भन्छिन्।
यति वेला अधिकांश युवायुवती विदेश जान लालायित छन्। तर लक्ष्मी र विष्णु जस्तै वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवा तन्नेरीलाई विदेश जान मन लाग्ने गरेको छैन। उनीहरू विदेशमा गरिने दुःखकष्ट गाउँमै गर्न तम्तयार छन्।
उनीहरू गाउँमै स्वरोजगार बन्ने प्रयत्न गरिरहेका छन्। कतिपय व्यवसायी नै बनेका छन्। धनगढी उपमहानगरमै वैदेशिक रोजगारीबाट फर्केका ४० जना स्वरोजगारमा लागिरहेका छन्। “वैदेशिक रोजगार विभागसँगको साझेदारीमा विदेशबाट फर्केका ४० जनालाई मशिनरी सामान उपलब्ध गराएका छौं,” उपमहानगरका रोजगार शाखा संयोजक चन्द्र महरा भन्छन्।
यसरी वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई स्वरोजगार बनाउन सहयोगको कार्यक्रम ल्याउने उपमहानगरको तयारी छ। अहिलेसम्म वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा सहयोग गरिरहेको छ।
त्यससँगै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमशीलता तालीम, सीप विकास तालीम तथा व्यवसाय गर्न चाहनेहरूलाई सम्बन्धित संघसंस्थासँग समन्वय गराउँदै आएको संयोजक महरा बताउँछन्।
स्वरोजगारीका लागि सरसामान उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डको १७ लाख र उपमहानगरको तीन लाख रुपैयाँ लगानी भएको छ। यस वर्ष थप १० जनालाई स्वरोजगारीमा सघाउन एक करोड रुपैयाँका सरसामान सहयोग गर्ने प्रस्ताव गरिएको महराको भनाइ छ।
विदेशबाट फर्केर स्वरोजगार बनिरहेका युवा तन्नेरी पनि स्थानीय तथा प्रदेश सरकारले व्यवसाय गर्न सघाउनुपर्ने बताउँछन्। सरकारले सानो सहयोग गरे पनि स्वरोजगार बन्न सजिलो हुने उनीहरूको भनाइ छ।
कुवेतबाट फर्किएकी विष्णुका छोराबुहारी रोजगारीका लागि भारतमा छन्। छोरी जापान जाने तयारीमा जुटेकी छन्। श्रीमान् पनि भारत-नेपाल गरिरहन्छन्।
उनलाई भने गाउँमै आनन्द लाग्ने गरेको छ। “परिवारका सदस्य विदेशै भन्छन्, मलाई भने गाउँमै आनन्द छ,” उनी भन्छिन्, “सरकारले यतै रोजगारी सिर्जना गरिदियो वा व्यवसाय गर्न सहयोग गर्यो भने त घर छोडेर कामका लागि विदेश जान कसलाई मन लाग्थ्यो र!”