घरेलु हिंसा छल्न परदेश
सामाजिक तथा आर्थिक कठिनाइसँगै घरेलु हिंसा झेलिरहेका महिलालाई पीडा भुल्ने मात्रै होइन, आत्मबल बटुल्ने र आत्मनिर्भर बन्ने अवसर पनि बनेको छ परदेश।
परदेश जाने सोच बनाउँदा झापाको अर्जुनधारा नगरपालिका-१ की ४५ वर्षीया मुना आचार्यसँग एक रुपैयाँ पनि थिएन। खान र बस्नको टुंगो थिएन। घरपरिवारले त सताएका थिए नै, दुःखमा माइती र छिमेकीको पनि साथ थिएन।
१४ वर्षको उमेरमा विवाह गरेकी मुनाले श्रीमान्को साथ पाइनन्। कहिल्यै परिवारको मीठो बात पनि सुन्न पाइनन्। “मैले जिन्दगीमा अलिकति आरामले सास फेरेको नै विदेश गएपछि हो,” उनी भन्छिन्।
श्रीमान्सँग १९ वर्ष त बिताइन् तर त्यो साथ कति अँध्यारो र अत्यासलाग्दो थियो, अहिले सम्झन पनि खोज्दिनन्। कैयौं पटक श्रीमान्ले मध्यरातमा घरबाट निकालेका थिए। विगतका तीता अनुभव अहिले पनि मनमा खिल झैं गडेर बसेको उनी सुनाउँछिन्।
अनेक कष्ट सहँदै आफ्नै घर बनाउने सपना बोकेर उनी २०६८ सालमा मलेशिया उडेकी थिइन्। ३३ वर्षीया मुना १६ वर्षकी छोरी र १२ वर्षको छोरालाई घरमै छोडेर विदेशिएकी थिइन्।
मुनालाई विदेश उड्ने आँट भने दिदी नाता पर्ने अर्जुनधाराकै गीता कटुवालले दिएकी थिइन्। अर्जुनधारा नगरपालिका-१, भुलभुलेकी गीता २०६७ मा मलेशिया पुगेकी थिइन्। उसो त गीताको पनि भोगाइ मुनाको भन्दा कम थिएन। “व्यक्तिका भोगाइ एकअर्कासँग तुलना गर्ने हो भने मेरो भन्दा गीता दिदीको वेदन असह्य थियो,” मुना भन्छिन्।
गीताले शरीरभरि बनेका नीलडाम छोप्न कहिले माइतीको साथ मागिन् त कहिले छिमेकीको। “अहिले जस्तो सम्बन्धविच्छेद गर्न सजिलो थिएन, कहिले गाउँ बोलाएर, कहिले प्रहरी बोलाएर श्रीमान्सँग मिलापत्र गरिन्थ्यो, दुई-चार दिन सुध्रे झैं हुन्थे तर कहिल्यै सुध्रिएनन्,” गीता भन्छिन्, “त्यही पीडा भुल्न मलेशिया गएँ।”
गीताकै शब्दमा भन्दा विदेश गएपछि उनको ‘जिन्दगीले काँचुली फेर्यो।’ उनले पटक पटक गरी १३ वर्ष विदेशमा बिताइन्। “सन्तानसँगै बसेर खुशी दिन सकिनँ तर विदेशिएर मेरा सन्तानको जीउमा एकजोर राम्रो लुगा हालिदिन सकें, दुई छाक मीठो खाना दिने सकें,” उनी भन्छिन्, “विदेशले मलाई मेरो जिन्दगी फिर्ता दियो।”
मुना र गीता दुवैका श्रीमान्ले यातना दिएका थिए। झैझगडा मात्रै होइन, कुटपिट पनि गर्थे। त्यो यातनाबाट मुक्ति पाउन घर छोडेको उनीहरू बताउँछन्।
घरभित्रको काम गर्दागर्दै फुर्सद नपाएका उनीहरूले घर बाहिरको कामबाट पैसा पाउने कुनै बाटो नै देखेनन्। परिवारसँगै छिमेकी र आफन्तबाट समेत सहयोग नपाएपछि उनीहरूले विदेशको बाटो समाते। दुवै जनाले आफ्नो कमाइले सन्तानलाई राम्रोसँग पठनपाठन त गराए नै, घर पनि ठड्याएका छन्।
मुना र गीता जस्तै घरेलु हिंसामा पिल्सिएका कैयौं महिला सन्तानको भविष्य र आफ्नै घर बनाउने हुटहुटीले विदेशिने गरेका छन्। उनीहरूमध्ये कतिले आफ्नो सपना पनि पूरा गर्न सकेका छन्। तिनैमध्येकी एक हुन् झापाको हल्दिबारी गाउँपालिका-४ की बुद्धमाया लिम्बू। उनी फेरि विदेश जाने तरखरमा छिन्। डेढ दशकअघि श्रीमान्ले छोडे। त्यति वेला उनी तीन महीनाकी गर्भवती थिइन्।
गर्भमा हुर्कंदै गरेको बच्चाको मायाले बुद्धमायाले मनमनै अठोट गरेकी थिइन्, आफ्नो सन्तानलाई दुःखको छाया पर्न दिनेछैन। किनकि बुद्धमायाको भागमा त्यति वेला दुःखका अनेकौं पहाड मात्रै थिए। तैपनि आमाबुबाको साथले उनलाई बाँच्ने आश बढाएको थियो।
गर्भवती बुद्धमाया गार्मेन्टमा काम गर्न थालिन्। दैनिकी राम्रैसँग चल्ला भन्ने लागेको थियो तर केही समयपछि गार्मेन्ट बन्द भयो। त्यसपछि कुखुरापालनमा लागिन्। यो व्यवसाय फस्टाउँदै थियो तर एकाएक कुखुरा मरे। निकै घाटा लाग्यो।
त्यसबाट उम्किने र जिन्दगी जिउने आशाको त्यान्द्रो देखिन् विदेश। दुई वर्षको काखे बच्चालाई माइतीघरमा आमाबुबाको जिम्मा लगाएर कुवेत उडिन्। तीन वर्षपछि छोराको छेवर गर्ने वेला मात्रै २०७० चैतमा घर फर्किइन्। कुवेत बसाइबाट आफूलाई लागेको ऋण मात्रै तिरिनन्, हल्दिबारीमा थोरै जग्गा पनि जोडिन्।
जग्गा जोडेपछि उनलाई घर बनाउने सपनाले लखेट्यो। अनि २०७१ सालमा मलेशिया उडिन्। सात वर्ष मलेशिया बसेर २०७८ सालमा नेपाल फर्किंदा छोराको पढाइ त राम्रैसँग अघि बढेको थियो नै, घर पनि तयार भयो। “अब पानी पर्दा कहाँबाट चुहियो होला भनेर पीर गर्नु पर्दैन,” बुद्धमाया भन्छिन्, “आफ्नै कमाइले दरिलो घर बनाएकी छु, छोरालाई पढाएकी छु।”
छोरीको फेरिएको जिन्दगी देखेर आमा ६८ वर्षीया राममोती लिम्बू (रणमाया) पनि खुशी छन्। “हाम्रो त सबै थोक यही हो,” राममोती भन्छिन्।
बुुद्धमायाले फेरि विदेश जाने तयारी गर्दा पनि आमा राममोतीले रोक्न खोजेकी छैनन्। “छोरालाई हाम्रो जिम्मा लगाएर विदेश गएकी थिई। ओत लाग्ने घर बनाई,” उनी भन्छिन्, “अब फेरि जान्छु भन्दै छे, नजा कसरी भन्नु?”
बुद्धमायाका छोराको लाहुरे बन्ने सपना छ। उनी पढाइमा पनि राम्रै छन्। छोराको त्यही सपना पूरा गराउन उनी फेरि विदेशिने तयारीमा छिन्।
झापाकै हल्दिबारी गाउँपालिका-४, बडाबारीकी ३५ वर्षीया कुमारी चेम्जोङ भने आफ्नै सपना पूरा गर्न ६ वर्षअघि विदेशिएकी थिइन्। स्कूल पढ्दा उनको सपना नृत्य निर्देशक बन्ने थियो। सानैदेखि नृत्यकी शोखीन कुमारी गाउँमा हुने नाचगान छुटाउँदिनथिन्। “बजूले मलाई नाच्ने काम हैन, काम भनेको त दश नंग्रा खियाएर गर्ने पो त भन्नुहुन्थ्यो,” उनी सम्झिन्छिन्, “बजूका कुरा बुझ्ने हुन मैले धेरै वर्ष कुर्नुपर्यो।”
बिहेपछि भने सपनालाई परिवारको जिम्मेवारीले थिच्यो। अढाईवर्षे छोरीलाई घरमै छोडेर २०७४ सालमा भारतको बाटो हुँदै कुवेत पुगिन्। अवैधानिक ढंगले वैदेशिक रोजगारीमा जानु हुँदैन भन्ने थाहा थियो तर नजानुको विकल्प पनि थिएन। कुमारी भन्छिन्, “जसरी हाँस्न र रुनका लागि एउटा मात्रै कारण हुँदैन, त्यसैगरी मैले विदेश जानुपर्ने एउटा मात्रै कारण थिएन, हजार कारण थिए। जुन अहिले सम्झिन चाहन्नँ।”
दुई वर्षको कुवेत बसाइले कुमारीलाई पैसा मात्रै दिएन, परिवार, आफन्त र साथीभाइको साथ कस्तो हुँदो रहेछ भन्ने पनि आभास गरायो। देशको माया कस्तो हुँदो रहेछ भन्ने महसूस गरायो। “मान्छेहरू विमानस्थलमा आइपुगेर देशको माटोलाई किन ढोग्छन् भन्ने विदेशमा काम गरेर फर्केका नेपालीलाई मात्रै थाहा हुन्छ, मैले त्यही थाहा पाएँ,” कुमारी भन्छिन्।
विदेशबाट फर्किएपछि भने आफ्ना सपनालाई आकार दिन थालेकी छन्। अहिले हल्दिबारीकै दुई वटा निजी विद्यालयमा नृत्य सिकाउँछिन्। त्यस्तै, आफूले लेखेका गजल रेकर्ड पनि गराएकी छन्।
उनी विदेशमा सरसफाइ गर्थिन्। त्यसले उनलाई काम सानो र ठूलो हुँदैन भन्ने बुझायो। त्यसैले अहिले घरमै पोते उनेर अनलाइन मार्फत बेच्छिन्। आफूले जानेको सीप गाउँका दिदीबहिनीलाई बाँडिरहेकी छन्। “मलाई विदेशले आफूभित्र रहेका सम्भावना खोज्ने अवसर दियो, आफैंलाई चिन्ने अवसर दियो,” उनी भन्छिन्।
उनी जस्तै मुना आचार्य पनि आर्थिक उपार्जन गरिरहेकी छन्। उनले घुम्ती पसल राखेकी छन्। घरकै आडमा सानो कठघरा बनाएर दैनिक उपभोग्य सामान बेचबिखन गर्छिन्। विदेश बसाइले नै दैनिकी सहज बनाउन सिकाएको उनको अनुभव छ। “भगवान्ले ‘तँ चिता म पुर्याउँछु भन्नुहुन्छ रे!’ हिजो दुई छाक टार्नै अरूको आश गर्नुपर्थ्यो, आज दिएर खान पुगेको छ,” मुना भन्छिन्, “मलाई विदेशले सबै थोक दिएको छ।”
अप्ठ्यारालाई अवसरमा बदल्दै
अहिले विदेश पैसा कमाउने आकर्षक थलो बनेको छ। अक्षर चिन्ने अवसर नै नपाएका तथा अक्षर चिनेर पनि पढाइ पूरा गर्न नपाएका महिलालाई विदेशले काम र दाम दुवै दिएको छ। घरेलु कामले थिचिंदै आएका महिला नेपालमा हुँदा न त्यसको दाम पाउँछन् न त सम्मान नै। विदेश पुगेपछि भने उनीहरूले काम अनुसारको दाम र आफ्नो गुमेको आत्मसम्मान फिर्ता ल्याएका छन्।
श्रीमान्को हेलाहोचो, अपमान र तिरस्कार सहँदै आएका कतिपय महिला त्यसबाट जोगिन पनि विदेशिएका छन्। खाडी मुलुकमा बगाएको पसिनाले स्वदेशमा ओत लाग्ने घर त बनाएका छन् नै, आत्मसम्मान पनि पाएका छन्। तिनैमध्ये एक हुन् गीता कटुवाल।
सन्तान र गाउँठाउँ छोडेर विदेश जान महिलालाई सजिलो छैन र थिएन पनि। वेलावेला महिलाले विदेशमा पाउने गरेको दुःख र पीडाका कथा सबैले सुनेका थिए र अहिले पनि सुन्दै आएका छन्। अझ गीता विदेश जाने वेलामा त गाउँकै दुई जना महिलाको मृत्यु भएको खबर आएको थियो। “मुटु थरर कामेको थियो तर नगए पनि गाउँमा काम गर्ने त के, बस्ने वातावरण नै थिएन,” उनी सम्झिन्छिन्।
लेखपढ त परका कुरा अक्षर नै चिन्ने अवसर नपाएकी गीताका लागि देश छोडेर विदेशिनुपर्ने बाध्यता आइलागेको थियो। जसलाई उनले बाध्यता थोरै, अवसर धेरै ठानिन् र कहिले मलेशिया त कहिले कुवेत गरेर १३ वर्ष बिताइन्। “हिजो दुई पैसा नपत्याउने छिमेकी आज सापटी माग्दै आउँछन्। हिजो दुई जना मान्छेको अगाडि बोल्न डराउने म आज आफ्ना दुःखसुख नडराई साट्न सक्ने भएँ,” गीता भन्छिन्, “विदेशले मलाई धेरै कुरा जान्ने बनायो।”
घरेलु हिंसा, सामाजिक अपमान तथा आर्थिक अभाव झेलिरहेका महिलालाई आफ्नो र सन्तानको भविष्य बदल्ने अवसरका रूपमा वैदेशिक रोजगारी देखिएको छ। यसबाट उनीहरूको आर्थिक अवस्थामा सुधार त भएको छ नै, देशलाई पनि योगदान पुगिरहेको यस क्षेत्रमा संलग्न व्यक्ति बताउँछन्। अधिकारकर्मी डा. रेणु अधिकारी वैदेशिक रोजगारी मार्फत महिलाले देश विकासमा योगदान गरिरहेको बताउँछिन्। “महिलाले विदेश गएर आफ्ना र सन्तानका लागि मात्रै हैन, देशका लागि पनि ठूलो मात्रामा रेमिटेन्स भित्र्याएका छन्,” अधिकारी भन्छिन्।
आप्रवास कामदार संरक्षण हकहित केन्द्रकी झापा जिल्ला उपाध्यक्ष कुमारी चेम्जोङ पुरुषको तुलनामा महिलाले बढी रेमिटेन्स पठाउने गरेको सुनाउँछिन्। “पुरुषको तुलनामा महिलाले आफ्नो तलबको धेरै रकम बचत गरेर नेपाल पठाउँछन्,” चेम्जोङ भन्छिन्। उनी विदेश जाने महिलाका लागि सुरक्षित कार्यथलो र वित्तीय साक्षरता आवश्यक रहेको बताउँछिन्।
बहसमा विदेशगमन थप सामग्री: