कोरोना उपचारमा प्रयोग हुने नेपालमै बनेको औषधिलाई क्लिनिकल ट्रायलको अनुमति
देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको कोरोना उपचारमा प्रयोग हुने औषधिले क्लिनिकल ट्रायलको अनुमति पाएको छ।
कम्पनीले उत्पादन गरेको फाभिर २०० ट्याबलेट (फाभिपिराभिर-२००एमजी) लाई सरकारले कोभिड-१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि अनुमति दिएको देउराली जनताले जानकारी दिएको छ।
यो औषधि क्लिनिकल अध्ययनमा उपलब्ध गराउने गरि औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाइएको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोभिड–१९ का बिरामीहरूको उपचार/प्रयोग गर्न चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि विभागबाट स्विकृति प्राप्त भएको हो।
यो औषधि विश्वका अन्य सात राष्ट्रले मात्रै उत्पादन गरेका छन्। औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबी उत्पादक कम्पनी देउराली जनताको छ।
हालसम्म फाभिपिराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बांग्लादेश लगायतका देशले कोभिड-१९ को उपचारमा अत्यावश्यक अवस्थामा प्रयोग गर्न स्वीकृति दिएका छन्।
औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा आवश्यक मात्रामा औषधि उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार विभागबाट अनुमति लिएर उत्पादन भएको उक्त औषधिको क्लिनिकल अध्ययनको लागि अनुमति दिइएको हो। अन्तर्राष्ट्रियस्तरमा पनि उपयोग र धेरै प्रयोग भइरहेकोले नेपालमा पनि क्लिनिकल अध्ययनको अनुमति दिइएको ढकालले बताए।
अनुमतिपछि कति बिरामीमा परीक्षण गर्ने, कति परीक्षणलाई सफल मान्ने भन्ने कुरा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने प्राविधिक र वैज्ञानिक अध्ययनबाट मात्रै थाहा हुने ढकालले बताए।