कोरोना परीक्षणको रिपोर्ट चाँडो दिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले काठमाडौं उपत्यकामा रहेका कोरोना परीक्षण प्रयोगशाला र संक्रमितहरू बसिरहेका आइसोलेसन सेन्टर तथा अस्पतालको अनुगमन गरी सेवालाई व्यवस्थित र चुस्त-दुरुस्त बनाउन निर्देशन दिएको छ।
उपसमितिले हिजोदेखि प्रयोगशाला, क्वारेन्टिन र अस्पतालहरू अनुगमन/निरीक्षण गर्न शुरू गरेको हो। उपसमितिले हिजो पहिलो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुगमन र स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग छलफल गर्यो। त्यसक्रममा टोलीलाई प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रयोगशालाले २४ वा बढीमा ४८ घण्टाभित्र रिपोर्ट तयार गरिसक्ने जानकारी दिएको उपसमिति संयोजक जीवनराम श्रेष्ठले बताए।
“रिपोर्ट ढिलो प्राप्त हुनुकाे कारणबारे छलफल भयो, ल्याबले ढिलो रिजल्ट निकाल्ने भन्दा पनि रिजल्ट आइसकेपछि दिने विभिन्न चेनका कारण ढिलो भएको भन्ने बुझ्यौं, त्यसैले स्वास्थ्य सेवा विभाग र विभागमार्फत् तलका निकायसम्म पुग्ने गरी छिटो हुने प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएका छौं”, श्रेष्ठले भने।
कुनै प्रयोगशालामा थोरै स्वाब आउने र खाली हुने, तर कुनै प्रयोगशालामा स्वाब लगेर पालोमा राख्नुपर्ने अवस्था पनि देखिएकाले प्रयोगशालाबीच समन्वय गर्न समेत निर्देशन दिएको श्रेष्ठले बताए।
प्रदेशहरूमा पनि अस्पताल तथा प्रयोगशालाहरूबीच समन्वयको आवश्यक भएकाले आफूहरूले प्रदेश सरकार र अस्पताल तथा प्रयोगशालाहरूसँग पनि छलफल गर्ने श्रेष्ठ बताउँछन्।
संसदीय उपसमितिले हिजो भक्तपुरका अस्पताल तथा प्रयोगशाला र खरिपाटी आइसोलेसन सेन्टरको अनुगमन गरेको थियो भने उपत्यकाकै अन्य प्रयोगशाला तथा अस्पतालहरूसँग समय लिएर अनुगमनमा जाने तयारी गरिरहेको छ।
स्वाब दिएको व्यक्तिले रिपोर्ट ढिलो पाउने र अस्पताल तथा आइसोलेसन सेन्टरको सेवा/सुविधाका विषयमा गुनासाहरू आएपछि प्रयोगशाला, अस्पताल तथा आइसोलेसन सेन्टर र क्वारेन्टिनहरूको स्थलगत अनुगमन गर्न शुरू गरिएको हो।
टोलीले हिजै भक्तपुरको खरीपाटीस्थित् क्वारेन्टिइन, मध्यपुर थिमी नगरपालिकामा रहेको कोरियामैत्री नगरपालिका अस्पताल तथा त्यहाँको प्रयोगशालाको पनि अनुगमन गरेको थियो।
उपसमिति सदस्य सरिता न्यौपानेका अनुसार काठमाडौंको अनुगमन गरेपछि प्रदेशसँग पनि समन्वय गरेर स्थलगत अनुगमन जाने तयारी उपसमितिको छ। उनले भनिन्, “हामीले स्वास्थ्य मन्त्रालयको नीतिगत कुराहरू हेर्यौं, जिम्मेवार व्यक्ति र विज्ञहरूसँग छलफल गर्दै अनुगमन थालेका हौं, काठमाडौंको अनुगमन गरेपछि प्रतिवेदन तयार गरेर सरकारलाई सुझाव दिन्छौं।”
उपसमितिले कोरोना संक्रमित र अन्य बिरामीका लागि अस्पतालहरूले दिएको सेवाका बारेमा पनि अनुगमन गर्ने र सम्बन्धित अस्पताल प्रमुख र सरकारलाई निर्देशन दिनेछ। संसदको शिक्षा समितिले कोभिड-१९ का बारेमा सरकरले गरेका कामको बारेमा अध्ययन, अनुगम र निरीक्षण गर्न ७ सदस्यीय उपसमिति बनाएको छ।