समाचार शुक्रबार, साउन १६, २०७७

ऋण तिर्न नसकेपछि अपहरणमा परेको नाटक गर्ने १८ घन्टापछि पक्राउ

रासस

ऋण तिर्न नसकेपछि अपहरणमा परेको नाटक गर्ने १८ घन्टापछि पक्राउ

आफूलाई अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री छन्।

ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरी जाँचबुझ गर्दा नाटक मात्र गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

उनलाई अपहरणको नाटक गरी अफवाह फैलाएर समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गररिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए। उनको बारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो। उनले एक वर्षदेखि गाउँमा कुखुरापालन गरेका थिए। त्यसका लागि लिएको ऋण सापटी तिर्न नसकेपछि अपहरण भएको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस