समाचार आइतबार, असार १४, २०७७

अहिले कहाँ छ नेपाल आइपुगेको सलहको झुण्ड?

मुकेश पोखरेल

अहिले कहाँ छ नेपाल आइपुगेको सलहको झुण्ड?

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अहिलेसम्म सलहले नेपालमा ठूलो क्षति नगरेको जानकारी दिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी रुपन्देहीको सैनामैनास्थित मकैबारीमा बसेको सलहले सामान्य क्षति गरेको जनाएको छ।

मन्त्रालयद्वारा सलहको अध्ययन तथा नियन्त्रण र रोकथामका लागि गठित प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईले बाली नै नष्ट हुने गरी क्षति नगरेको बताए।

बयस्क किरा फूल पार्ने स्थानको खोजीमा रहेकाले पनि छिटो छिटो स्थानान्तरण भइरहेको हुनसक्ने कृषि विज्ञहरुको अनुमान छ।

“दुई किसिमका सलह किरा आएका छन् । एउटा परिपक्क वयस्क छ भने एउटा अपरिपक्क वयस्क छ । परिपक्क वयस्कको फूल पार्ने समय भएकाले तिनीहरु फूल पार्ने ठाउँको खोजीमा रहेका छन् । उपयुक्त ठाउँ पाएनन् । त्यसैले पनि स्थान परिवर्तन गरेको हुनसक्छ,” प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख समेत रहेका हुमागाई भन्छन् “भारतमा ठूलो मात्रामा विषादी प्रयोग भएको र बाँचेका किराहरु फुत्केर हावाको चापसँगै नेपालमा आएका हुन् । अर्को झुण्ड प्रवेश गरेन भने त्यति धेरै आत्तिनु पर्ने अवस्था छैन।”

सलहलाई फुल पार्नका लागि तातो हावापानी र मरुभूमि नै चाहिन्छ । त्यो हावापानी नेपालमा नभएकाले सलहको संख्या वृद्धि नेपालमा हुन नसक्ने कृषि विज्ञहरु बताउँछन्।

नेपालमा प्रवेश गरेको सलहको झुण्डले छिनछिनमा स्थान परिवर्तन गरिररहेको छ । हिंजो सर्लाहीमा देखिएको सलहको झुण्ड सिन्धुलीको भिमान हुँदै त्यहाँबाट पनि चियावारीमा पुगेको थियो । चियाबारीमा रातभर बसेको झुण्ड साँझपख काभ्रे आइपुगेको छ।

विहानदेखि पानी परिरहेका कारण एक घण्टा घाम लागेपछि मात्र त्यहाँबाट उडेको हुमागाईले बताए । “सलहलाई उडान भर्न अगाडि शक्ति चाहिन्छ, त्यो शक्ति उनीहरुले घामबाट प्राप्त गर्दछन्, घाम नलागे सलहको झुण्ड चलायमान हुन सक्दैन,” हुमागाईले भने।

त्यसैगरी मकवानपुर हुँदै प्रवेश गरेको अर्को झुण्ड चितवनको कालिका गाउँपालिकाको पदमपुर माथिको जंगलमा बसेको छ । अर्को झुण्ड मकवानपुर र काभ्रेको जंगलमा छ।

रुपन्देहीमा हिंजो देखिएको झुण्ड दुई भागमा बाँडिएको थियो । एउटा झुण्ड पाल्पातिर गएको थियो भने अर्को झुण्ड पश्चिमतिर। सैनामैनामा आज विहानसम्म देखिएको झुण्ड पनि त्यहाँबाट पाल्पातिर गएको छ।

त्यसैगरी आज दिउँसो ४ बजे कपिलवस्तुको तौलिहवामा देखिएको सलहको झुण्ड पनि दुई घण्टापछि अन्यत्र गएको छ।

कृषि विज्ञहरुका भनाइमा सलहको सरदर आयु करीब ३ महीनाको हुन्छ । एउटा वयस्क सलह ६ हप्तासम्म बस्न सक्छ । तर, नेपालमा प्रवेश गरेका सलहको उमेर भने एकिन गर्न सक्ने अवस्था छैन । त्यसकारण पनि यी कति दिनसम्म बाँच्छन् भन्नसक्ने अवस्था नरहेको हुमागाई बताउँछन्।

अर्को खतरा

नेपालमा अहिले देखिएको सलहको झुण्डले बाली नालीलाई क्षति गर्ने ठूलो सम्भावना नदेखिए पनि अर्को खतरा देखिएको छ । त्यो हो, राजस्थानमा रहेको सलहको झुण्ड नेपालमा आउन सक्ने । कृषिविज्ञहरुका भनाइमा राजस्थानमा देखिएको सलहको झुण्ड हावाको वेगसँगै दिल्लीतर्फ अघि बढिरहेको छ।

अहिले हावाको वेग नेपालतर्फ नै आइरहेकाले सलहको ठूलो झुण्ड नेपालमा आउनसक्ने खतरा रहेको कृषि विज्ञहरुले औंल्याएका छन्।

प्रतिकृया दिनुहोस