टिप्पणी शुक्रबार, असार १२, २०७७

उखुबाली बचाऔं !

हिमालखबर

उखुबाली बचाऔं !
अनलाइन तस्वीर

उखु नगदे बाली मात्र होइन तराईको आर्थिक मेरुदण्ड पनि हो । यसले धेरैको घरगृहस्थीदेखि चूलो–चौकोसम्म धानेको छ ।

कृष्णलाल कर्ण

नेपालमा ३८ लाख ३१ हजार किसान परिवार छन् (राष्ट्रिय कृषि गणना २०६८) । तीमध्ये १ लाख १२ हजार ६०० जनाले उखु उत्पादन गर्छन् । उखु रोप्ने, गोडमेल, कटानी, ढुवानी तथा उद्योगमा कार्यरत जनशक्ति, मूल्य शृङ्खलामा आवद्ध व्यक्ति तथा किसान गरी करीब तीन लाखले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यसैगरी अहिले नेपालमा १४ वटा उद्योग (चिनी मिल) ग्रामीण स्तरमै स्थापना भएका छन्।

बारा निजगढका युवा सरोज कोइरालाले तीन हेक्टरमा लगाएको उखु बालीको आम्दानीबाट सात जनाको परिवार मात्रै पालिएको छैन तीन जना भाइले उच्च शिक्षा समेत हासिल गरिसकेका छन् । विगत केही वर्षदेखि भने चिनी मिलले समयमा भुक्तानी नदिएकाले केरा खेतीतर्फ मोडिएका छन् । उनी भन्छन्, “उखुमा कमाइ भए पनि भुक्तानीको समस्याले केरा खेती गर्न बाध्य भएँ।”

यो पनि पढ्नुहाेस्–‘किसानलाई उखुको तीतो

त्यस्तै सर्लाहीका उमेश महतोको चिन्ता भने फरक छ । उनका अनुसार सयौं युवाले टायर गाडी र ट्रयाक्टरमा उखु ढुवानी गरेर मासिक रु.४० हजारसम्म आम्दानी गर्छन् । यही आम्दानीले उनीहरूको जीविका चलिरहेको छ ।

यसबाहेक ठूलो संख्यामा महिलाहरू रोजगार हुने भएकोले उखु बाली विस्तार गर्न आवश्यक छ । यो विचारसँग वीरगञ्जका हरिप्रसाद पनि सहमत छन् । हरिप्रसादको कमाइको मुख्य स्रोत पनि उखु नै हो । उनी ठेलामा उखु राखेर जुस बनाएर बिक्री गर्छन् ।

बारा, रौटहट, सर्लाही र महोत्तरी जिल्लामा मात्रै १५२ वटा साना तथा ठूला सक्खर (मिठा÷भेली) उद्योगहरू स्थापना भएका छन् । यी उद्योगहरूले स्थानीय किसानको उखु खरीद गरी सक्खर उत्पादन गर्ने गरेको सर्लाहीस्थित सहयोगी व्यवसाय परामर्श केन्द्रका व्यवसाय सेवा प्रबन्धक अत्माराम राय बताउँछन् । रायका अनुसार नेपालमा गुड (सक्खर) उत्पादन भए पनि बजारको माग धान्न सक्ने स्थिति छैन । अहिले बजारमा देखिएको कमी पूरा गर्न बाह्यदेशबाट आयात गरिरहेको अवस्था छ ।

भन्सार विभागको तथ्यांक अनुसार २०७४/७५ मा ३३ हजार ११२ टन सक्खर भारत, पाकिस्तान, बाङ्लादेश तथा अन्य मुलुकबाट आयात गरिएको थियो ।

बजारको माग अनुसार सक्खर उत्पादन गर्न उद्योग विस्तार गर्न सकिने प्रचूर संभावना विद्यमान छ । यसका लागि उखु किसानले झेलिरहेको समस्यालाई समयमै नीतिगत तवरले सम्बोधन गर्नु आवश्यक छ। अन्यथा आगामी दिनमा लघु उद्योगमा नकारात्मक प्रभाव पर्ने निश्चित छ ।

वीरगञ्ज चिनी मिल १६ फागुन २०५९ मा सरकारले बन्द गर्‍यो । परिणामतः यस क्षेत्रका थुप्रै किसान तथा मजदूरहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको कुरा हामीले बिर्सनुहुँदैन ।

उखु उत्पादन अवस्था, चिनीको माग र आपूर्ति

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार उखु नगदे बाली भन्दा उधारो बालीको जालोभित्र फसेपछि उखु किसानहरू बैंक तथा साहूको ब्याज, लिजमा लिइएको जग्गाको भाडा र मजदूरको भुक्तानी गर्न नपाएर के गरौं र कसो गरौं भएका हुन् ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७४/७५ मा ७८ हजार ६०९ हेक्टरमा उखु खेती गरिएको थियो । उक्त खेतीबाट ३७ लाख ७९ हजार ५०८ टन उखु उत्पादन भएको थियो । पछिल्ला १० वर्षको तथ्यांक हेर्दा पछिल्लो चार वर्षदेखि उत्पादनमा अस्थिरता देखिएको छ।

अर्कातर्फ गुणस्तरीय बीउ, मलखाद, कीटनाशक औषधि तथा कामदारको ज्याला महँगो हुँदै गएकाले उत्पादन लागत पनि बढेको छ । सरकारले उपलब्ध गराएको प्रतिक्विन्टल रु.६५.६६ अनुदान सहित जम्मा रु.५३१.६६ मा बिक्री मूल्य निर्धारण गरिएको छ । जसअनुसार किसानहरू प्रति हेक्टर रु.१ लाख २५ हजार भन्दा कम नाफामा सीमित हुन बाध्य भएका छन् । उखु किसान उखु खेती छाड्दै वैकल्पिक बालीको खोजीमा छन् । 

यो पनि पढ्नुहाेस्–‘उखु खेतीको विकल्प खोज्ने बेला भयो

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७४/७५ मा ७८ हजार ६०९ हेक्टरमा उखु खेती गरिएको थियो । उक्त खेतीबाट ३७ लाख ७९ हजार ५०८ टन उखु उत्पादन भएको थियो । पछिल्ला १० वर्षको तथ्यांक हेर्दा पछिल्लो चार वर्षदेखि उत्पादनमा अस्थिरता देखिएको छ।

इन्दुशंकर चिनी मिल हरिवन सर्लाहीका प्रमुख उखु विकास प्रबन्धक यज्ञनारायण रजकका अनुसार मुख्य समस्या गुणस्तरीय बीउको हो । जसको कारण यस वर्ष चिनी उत्पादनको मात्रा ८.५० प्रतिशतमा सीमित भएको छ । भारत (बिहार) को उखुमा ११ प्रतिशतसम्म चिनीको मात्रा हुन्छ । उनी उखु उत्पादन र चिनीको उत्पादन लागत बढ्नुको मुख्य कारण नेपालको उखुमा चिनीको मात्रा कम हुनु नै हो भन्छन् । उत्पादन लागत बढेका कारण बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ । यसको असर किसानको भुक्तानी प्रक्रियामा समेत देखिएको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत रामकृष्ण रजकका अनुसार उखुका विभिन्न जातका बिरुवा अनुसन्धान गरी उत्पादकत्व बढाउने कार्य भइरहेको छ ।

यो पनि पढ्नुहाेस्–किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का हुने

उनी उत्पादन लागत बढ्नुको कारणमा कृषकसँग प्रविधिको अभाव, परम्परागत खेती प्रणाली, बैंक ब्याज र उद्योगमा प्रयोग भएका पुराना मेशिन, उपकरण आदि हुन् भनेर औंल्याउँछन् । अहिले केही नयाँ मेशिन उपकरण भित्र्याइएका छन् तर ती सबै परीक्षणकै क्रममा रहेको पनि उनले बताए । 

उखु विकास प्रबन्धक यज्ञनारायण रजकका अनुसार नेपालमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग रहेको छ। यो माग धान्न नेपालका उद्योगहरू सक्षम पनि छन् तर नेपालको आयात नीतिमा सुधार नगरी त्यो सम्भव छैन।

राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा १४ वटा चिनी मिलले १ लाख २६ हजार ९०० टन मात्रै उत्पादन गरेको देखिन्छ ।

भन्सार विभागको सोही वर्षको तथ्यांक अनुसार एक लाख २३ हजार, १०० टन भारत, पाकिस्तान, बाङ्लादेश लगायत अन्य मुलुकबाट आयात भएको देखिन्छ ।

चुनौतीसँगै ठूलो अवसर

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक तफैल अवतरका अनुसार उखुबाट ठूलो मात्रामा सह–वस्तुहरू जस्तै मोलाशेष, प्रेसमड र बेग्यास पनि उत्पादन हुन्छन् । यसबाट खासै फाइदा लिएको देखिंदैन । मोलाशेष बायो इन्धनको ठूलो स्रोत भए पनि अधिकतम मात्रामा निर्यात भइरहेको छ । बेग्यास तथा प्रेसमड केही मात्रामा नेपालमै खपत हुन्छ तर अधिकांश भाग कुहेर जान्छ । अर्कातर्फ चिनी मिलबाट उत्पादन भएको विद्युत् खरीद गरी सरकारले उपभोग गर्न सक्छ तर अहिलेसम्म यस सम्बन्धी दीर्घकालीन नीति तर्जुमा हुनै सकेको छैन ।

नेपालमा उखु खेती हुने क्षेत्रफल मध्ये प्रदेश–२ मा मात्रै ६८ प्रतिशत (५३ हजार १२३ हेक्टर) मा खेती हुने गरेको छ । यस प्रदेशमा ८ वटा चिनी मिल स्थापना गरिएका छन् । त्यस कारण प्रदेश–२ सरकारले यसलाई मनन् गरी विशेष उखु विकास कार्यक्रम ल्याउन जरूरी छ ।

यो पनि पढ्नुहाेस्– कोभिड–१९स् मजदुरले असाधारण विपत्ति सामना गर्नुपर्ने

बायोटेक्नोलोजिस्ट विनायकराज पाण्डेका अनुसार मोलाशेष र बेग्यासबाट इथेनल (अल्कोहल) प्रशोधन गरी पेट्रोलसँग मिक्स गरी बायो इन्धनको रूपमा प्रयोग गर्न सम्भव छ । उनका अनुसार चीन, ब्राजिल, भारत लगायतका अन्य मुलुकले बायो इन्धनको प्रयोग गरिरहेका छन् । यसबाहेक इथेनल (अल्कोहल) बाट स्यानिटाइजर उत्पादन गर्न सकिने ठूलो सम्भावनातर्फ पनि कसैको पर्याप्त ध्यान पुगेको छैन । पाण्डे र डा. भूपाल श्रेष्ठ सम्मिलित समूहले भने काठमाडौं विश्वविद्यालयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र एशियाली विकास बैंकको आर्थिक सहयोगमा विशेष ब्याक्टेरियाहरूको प्रयोग गरी बेग्यास जस्ता पदार्थहरूबाट बायो इथेनल (अल्कोहल) बनाउन सकिने जानकारी साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित आलेख मार्फत दिएका छन् ।

यो पनि पढ्नुहाेस्–किसान ‘मर्ने’ देश

सर्लाहीस्थित सक्खर फ्याक्ट्रीमा उखु पेल्दै ।

पाण्डेका अनुसार, प्रेसमडबाट कम्पोष्ट मल र बेग्यासबाट कागज, कार्डबोर्ड, कप, प्लेट र पशुको लागि दाना आदि उत्पादन गर्न सकिन्छ । सानो–ठूलो लगानी गरी छुट्टै व्यवसाय सिर्जना गर्न सकिने संभावना यहाँ पनि देखिन्छ ।

नेपालमा उखु खेती हुने क्षेत्रफल मध्ये प्रदेश–२ मा मात्रै ६८ प्रतिशत (५३ हजार १२३ हेक्टर) मा खेती हुने गरेको छ । यस प्रदेशमा ८ वटा चिनी मिल स्थापना गरिएका छन् । त्यस कारण प्रदेश–२ सरकारले यसलाई मनन् गरी विशेष उखु विकास कार्यक्रम ल्याउन जरूरी छ ।

अन्त्यमा हामीसँग उखु उत्पादनमा देखिएका चुनौतीलाई अवसरको रूपमा प्रयोग गरी ग्रामीण अर्थतन्त्रको बलियो आधार तयार गर्ने ठूलो अवसर छ ।

कोभिड–१९ को प्रभावले रोजगारी गुम्दै गएका वेलामा उखु बालीसँग जोडिएका विविध उद्यममार्फत किसान र उद्योगलाई राहत उपलब्ध गराउन राज्यले तुरुन्त दीर्घकालीन नीति तय गर्नु आवश्यक छ ।

अहिले कृषिकर्म गरिरहेका धेरैले केही महीना काम गरेर अधिकांश समय बेरोजगार भएर बस्नु परिरहेको छ । कृषिलाई उद्यमसँग नजोडे यो स्थिति अझै रहिरहन्छ । नाफा आर्जन गर्न चाहने कुनै पनि उद्यमीले चनाखो भएर अवसर र जोखिम नउठाएसम्म लक्ष्यमा पुग्न सक्दैन । यसरी जोखिम मोलिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्र्दै जान सक्नुपर्छ।

प्रतिकृया दिनुहोस