दस्तावेज शनिबार, असार १३, २०७७

दीपेन्द्रले भने– बुबाज्यू प्रेरणा बक्सिन्छ, मुमाज्यू रिसानी मात्र हुन्छ

हिमालखबर

दीपेन्द्रले भने– बुबाज्यू प्रेरणा बक्सिन्छ, मुमाज्यू रिसानी मात्र हुन्छ
तस्वीर: गेट्टी इमेज

२०५७ सालको जाडो महीना । माओवादीहरूबाट आधार इलाका घोषणा गरिएको गोरखा जिल्ला । जनयुद्ध उत्कर्षमा पुगिरहेको कालखण्डमा म त्यहाँको प्रमुख जिल्ला अधिकारी थिएँ ।

आत्माराम पाण्डे

‘प्रचण्डपथलाई अँगालौं, जनयुद्धलाई सफल पारौं’ लेखिएको पुष्पकमल दाहाल र र डा. बाबुराम भट्टराईका फोटो अंकित पोष्टर, पर्चाहरू जताततै छरिएका हुन्थे। माओवादी जनअदालतबाट जिल्ला जनसरकार मार्फत जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई ‘डेथ वारेन्ट’ आउँथे।

जिल्ला कारागार माओवादी छापामारहरूले भरिएको थियो। विस्फोट, हिंसात्मक घटना नभएको दिन विरलै हुन्थ्यो । द्वन्द्वको त्रास र भयले स्थानीय विक्षिप्त र निराश देखिन्थे। सदरमुकाममा हमला हुँदैछ भन्ने हल्ला दिनहुँ चल्थ्यो । गोरखाका माथिल्लो र तल्लो दरबार आक्रमणको निशानामा छन् भन्ने सुनिन्थ्यो । राजतन्त्र समाप्त गरी गणतन्त्र ल्याउने जनयुद्धको उद्देश्य रहेको बताइन्थ्यो।

हनुमानढोका, पाटन, भक्तपुर, भरतपुरको दियालो बंगला र पोखराको रत्न मन्दिर लगायत देशका सबै दरबार राजा वीरेन्द्रले निजी सम्पत्तिको रूपमा राजकीय सम्पत्ति कोष विभागमा सुरक्षित राखिएको चर्चाले युद्धरत पक्ष आक्रोशित भएको अनुमान थियो। त्यसरी नै शिवपुरी, नागार्जुन र गोकर्ण वन क्षेत्र राजनिकुञ्जको रूपमा सूचीकृत भएको राजपत्रमा प्रकाशित सूचनाबाट जानकारी हुन्थ्यो।

गोरखा राज्यको स्थापनादेखि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसम्मको इतिहास बोकेको गोरखा दरबारको आफ्नै पहिचान र विशिष्टता छ। तल, माथिका दुई ऐतिहासिक दरबारका अतिरिक्त चौघेरा दरबार, गोरखनाथ गुफा र गोरखकाली मन्दिरको धार्मिक ऐतिहासिक महत्व छ । पृथ्वीनारायण शाहकालीन राजगद्दी तथा तत्कालीन युद्ध सामग्री संग्रहित संग्रहालय पुरातात्विक महत्वको पर्यटकीय केन्द्र हो।

गोरखा राज्यको स्थापनादेखि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसम्मको इतिहास बोकेको गोरखा दरबारको आफ्नै पहिचान र विशिष्टता छ। तल, माथिका दुई ऐतिहासिक दरबारका अतिरिक्त चौघेरा दरबार, गोरखनाथ गुफा र गोरखकाली मन्दिरको धार्मिक ऐतिहासिक महत्व छ ।

यही दरबार क्षेत्रमा रहेका प्राचीन संरचना, मूर्ति तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, भौतिक पूर्वाधारहरू (बगैंचा, धाराहरू, पदमार्ग आदि) विकासका साथै ऐतिहासिक सामग्रीहरू संकलन गरी संग्रहालय सुदृढीकरण गर्न गोरखा दरबार संरक्षण परियोजना संचालित थियो। राजदरबारको भावनात्मक सम्बन्ध रहेको यस स्मारक क्षेत्रको विकासमा दरबारमा नै राजकीय सम्पत्ति कोष विभागका प्रमुख सुदन पोखरेलको संयोजकत्वमा कार्यदल बनेको थियो।

यो पनि पढ्नुस्– त्यो दरबार, यो दरबार

कार्यदल सदस्यमा राजदरबारका पदाधिकारीहरू डा. फणिराज पाठक, मधुसूदन तिमल्सिना र प्रदीप पोखरेल लगायत सरकारी निकायका प्रतिनिधि पनि थिए। कार्यदललाई निर्देशन, नियन्त्रण र अनुगमन गर्न राजा वीरेन्द्रबाट तत्कालीन युवराज दीपेन्द्रलाई तोकिएको थियो।

दरबार संरक्षण परियोजना पुरातत्व विभाग अन्तर्गत थियो। परियोजनाको जग्गा अधिग्रहण, निर्माणको ज्याला दररेट निर्धारण लगायतका विभिन्न काममा सघाउन प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष भूमिका रहन्थ्यो। यही क्रममा एक दिन बिहान राजदरबारबाट युवराजाधिराज दीपेन्द्र गोरखा दरबार संरक्षण परियोजनाको कार्य प्रगति निरीक्षणमा आउने खबर आयो।

दिउँसो ३ बजे, दीपेन्द्र आफैंले चलाएको पुमा हेलिकप्टर पूर्वतिरको बादललाई छिचोल्दै गोरखा दरबारको हेलिप्याडमा उत्रियो । स्वागतपछि राजदरबारका सचिव (प्रमुख, राजकीय सम्पत्ति कोष विभाग) ले दीपेन्द्रसँग मेरो परिचय गराए। त्यसलगत्तै दीपेन्द्रले भने, “सिडियो साबको यहाँ धेरै काम छ।”

राजाको छोराको विनम्र शैलीको लवज। तिमी होइन तपाई। प्रस्तुतिको सरलताबाट म अवाक् भएँ। हेलिप्याडबाट गोरखकाली मन्दिर रहेको दरबारतिर उकालो लाग्दै गर्दा कार्यादल संयोजक सुदनजीले दरबार संरक्षण परियोजनामा भइरहेका गतिविधि सुनाउँदै भविष्यमा भारतको तिरुपति बालाजी मन्दिरमा जस्तो भव्य वातावरण बनाइ दर्शनका लागि टिकटको व्यवस्था गर्न सकिने लक्ष्य पनि बताए।

दीपेन्द्रले भने, “हाम्रो जस्तो देशमा देवीदेवताको दर्शन गर्न टिकट काट्ने व्यवस्था उचित होला र ?” उनी चूप रहे।

दीपेन्द्र शाह ।

मन्दिर दर्शनका लागि अगुवाइ गर्दा ‘पारसले छोरी पाएकोले सूतक परेको छ’ भन्दै मन्दिरमा नपसी दीपेन्द्रले त्यहाँको सुरक्षा प्रबन्ध सम्बन्धमा मसँग जानकारी लिन खोजे। दरबारको सुरक्षा पहरामा प्रहरीको १–१० को सेक्सन कमाण्ड पठाउनुपर्ने मापदण्ड भए पनि द्वन्द्वका कारणले १–४ मा सीमित गर्नु परेको बताएँ।

उनी सुरक्षाकर्मीहरूको सुत्ने र भान्छा कोठामा प्रवेश गरे। त्यहाँका एक–एक कपडा, भाँडाकुँडा नियाल्दै असन्तुष्ट भावमा मलाई प्रश्न गरे, “यस्तो थोरै संख्याले सुरक्षा हुन्छ ? यो निरीह अवस्थामा सुरक्षाकर्मीले कुन ‘मोरल’ (मनोबल) ले काम गर्छन्, सिडियो साब?”

मैले टालटुल गर्ने तरिकाले जवाफ दिएँ। वास्तवमा, त्यो अवस्था म स्वयंलाई नै चित्तबुझ्दो थिएन । दरबारको वरिपरि खानेपानीका पाइपहरू उदाङ्ग पारेर झुण्डिएको र फोहोर छरिएको ठाउँ देखेर उनी असन्तुष्ट भए। सुदनलाई ती सबै देखाउँदै पाइपहरू जमीनमुनि गाडेर ल्याउन अथवा गाड्न नमिल्ने भए हरियाली ठाउँको चिनारीका लागि सूचनापाटी राख्न, रूख बिरुवाले छोप्न र फोहोरको उचित व्यवस्थापन गर्न सल्लाह दिए।

प्राचीन स्मारक सम्पदाको संरक्षणको बेजोड नमूना इटालीको रोम र भेनिसको उदाहरण दिंदै उनले अंग्रेजी लेखकका दुई/चार वटा किताबको नामै भनेर पढ्न सुझाए । त्यो साँझ युवराजको डिनर सैनिक ब्यारेकमा हुने र रातिको बास चौघेरा दरबारमा हुने उनका निजी सचिव सौजन्य सुल्प्या जोशीले जानकारी गराए। अनि बेलुकी ब्यारेकमा भेट्ने बाचा गरेर विदा भयौं।

सैनिक ब्यारेकमा भएको बेलुकाको खानपिनमा त्यस्तो उल्लेखनीय कुरा केही भएन। राजदरबारका पदाधिकारीहरू, जिल्लास्थित सुरक्षा प्रमुखहरू र कर्णेल कुमार बुढाथोकी समेतका युवराजका एडीसीको जमघटमा दीपेन्द्रले डीएसपी भोगबहादुर थापाको कम्मरमा झुण्ड्याएको पेस्तोल हेर्न मागे। उनले त्यो पेस्तोललाई खोलेर करीब आधा घण्टासम्म खोल्ने बन्द गर्ने गरिरहे । उनको सीधा मेरो बसाइ भएकोले कुनै दुर्घटना हुने हो कि भनेर म अलि पर सर्दा सबै गलल्ल हाँसे।

भोलिपल्ट बिहान मानेपानी हुँदै माथिल्लो दरबारको पल्लो थुम्को पल्लो कोट बज्रभैरवथान सूर्योदयको दृश्य हेर्न पुग्ने योजना बन्यो। त्यही क्रममा जंगल क्षेत्रको पूरै परिक्रमा हुने गरी जगिङ (बिहानको दौड) गर्ने आफ्नो कार्यक्रम बताउँदै दीपेन्द्र चौघेरा दरबारतिर लागे।

हामी पुग्दा अघिल्लो रातको धेरै रक्सीको नशाले होला दीपेन्द्र बिहानै उठ्न नसकेकोले सूर्योदयको दृश्य हेर्न जाने कार्यक्रम हुन नसकेको र काठमाडौंबाट हेलिकप्टर आएपछि फर्किने कार्यक्रम भएको निजी सचिव जोशीले हामीलाई जानकारी गराउनुभयो। केही क्षणपछि स्पोर्टस् ट्रेकिङ सुटमा दीपेन्द्र झरे र आफ्ना एडीसीहरू सहित चौघेरा दरबारको पर्खालको आडमा हेलिकप्टरको प्रतीक्षामा उभिई उभिई दुई घण्टा विताए।

मौसम सफा नहुँदा धेरैबेर पर्खनुपर्ने बाध्यता थियो। त्यही क्रममा उनको आफ्नो ब्राण्ड सूर्य चुरोट, एकक्षण पनि नबिसाई पिइरहे। चुरोटको एउटा खिल्ली सक्नासाथ क्याप्टेन राजु कार्की र गजेन्द्र बोहराले पालैपालो अर्काे खिल्ली टक्र्याइहाल्नुपर्ने । वास्तवमा, हामीलाई ती अंगरक्षकहरू साँच्चैको अपरिपक्व लाग्यो। दीपेन्द्र स्वयंको व्यवहार नै अल्लारे केटाको जस्तो थियो, कतिखेर आफूलाई मन पर्ने रक्सीको ब्राण्ड ‘फेमस ग्राउज’ यति बोतल सिध्याइयो भनेर हाँस्ने, कतिखेर नेपालमा भर्खर आएको इन्टरनेटमा भएको अश्लील वेबसाइटको दृश्य सम्झाउँदै खित्का छाड्ने, यस्तै यस्तै।

मौसम सफा नहुँदा धेरैबेर पर्खनुपर्ने बाध्यता थियो। त्यही क्रममा उनको आफ्नो ब्राण्ड सूर्य चुरोट, एकक्षण पनि नबिसाई पिइरहे। चुरोटको एउटा खिल्ली सक्नासाथ क्याप्टेन राजु कार्की र गजेन्द्र बोहराले पालैपालो अर्काे खिल्ली टक्र्याइहाल्नुपर्ने । वास्तवमा, हामीलाई ती अंगरक्षकहरू साँच्चैको अपरिपक्व लाग्यो। दीपेन्द्र स्वयंको व्यवहार नै अल्लारे केटाको जस्तो थियो।

‘जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ’ भने झैं केहीवेर पछि गम्भीर मुद्रामा दीपेन्द्रले आफ्नो जिम्मेवारीको व्याख्या सुनाउन थाले । उनले भने, “बुबाज्यूबाट मलाई गोरखा दरबार संरक्षण परियोजना हेर्ने र राजदरबारको प्रशासनिक संगठनलाई पुनर्संरचना गर्ने जिम्मेवारी बक्सेको छ । मलाई थाहा छ दरबारमा धेरै अनावश्यक कार्यालय र नचाहिने पदका दरबन्दी छन् । कटौती गरेर चुस्त र सानो संगठन बनाउने तयारीमा छु।”

उनले टेलिफोन, इन्टरनेट र सवारी साधनको दुरुपयोग भइरहेको बताए। फूलबारी, वन जहाँ पनि टेलिफोन लाइन भएकाले काट्ने आदेश दिइसकेको पनि सुनाए । उनले भने, “मेरो काममा बुबाज्यू प्रेरणा बक्सिन्छ। मुमाज्यू रिसानी मात्र हुन्छ। बहिनी कुरा बुझ्छिन्, साथ दिन्छिन्। भाइ सानै छ, कुरा बुझ्ने वेला भएको छैन।”

यस्तो आफ्नो नितान्त व्यक्तिगत कुरा हामी जस्तो साधारण कर्मचारीसँग व्यक्त गर्ने त्यो सरलता र विनय देखेर वास्तवमा म आश्चर्यचकित र आनन्दित भएँ। कुराकानी हुँदै गर्दा आकाशमा हेलिकप्टर देखियो।

दोस्रो भेटघाटको क्षण

पञ्चायतकालदेखि नै राजाको जन्मोत्सवमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पदाधिकारी र व्यक्तिहरूलाई श्रेणी अनुसारको विभूषण, तक्मा, अलंकार र मानपदवी दिने चलन थियो। बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि संवैधानिक राजतन्त्र रहँदासम्म मन्त्रिपरिषद्को सिफारिशमा तत्कालीन श्री ५ महाराजाधिराजबाट राजदरबारमै सुशोभन समारोहको आयोजना गरी पुरस्कृत व्यक्तिहरूलाई विभूषित गरिन्थ्यो।

विभूषणको सिफारिश लगायतका सम्पूर्ण प्रक्रिया, सुशोभन समारोहको व्यवस्थापन लगायतका राजदरबारसँग सम्बन्धित काम गृह मन्त्रालयबाट सम्पादन गरिन्थ्यो। राजाबाट युवराजाधिराजलाई तिनै कामको व्यवस्थापन गर्न ‘पृथुलाधीश’ तोकिन्थ्यो। गृह मन्त्रालयको सम्बन्धित शाखा प्रमुखको हैसियतमा २०५८ वैशाखमा नारायणहिटी राजदरबारमा हुने सुशोभन समारोहको व्यवस्थापनका लागि म आफैं खटिएको थिएँ।

सुशोभन समारोहको अघिल्लो दिन गृह सचिव श्रीकान्त रेग्मी, सम्बन्धित शाखा प्रमुख (यो पंक्तिकार) मेरा सहयोगी टेकवीरजंग रायमाझी नारायणहिटी दरबार पुग्यौं । समारोहस्थलको अवलोकन गर्दागर्दै युवराज दीपेन्द्रको आगमन भयो । तत्कालीन प्रधान सेनापति प्रज्ज्वलशमशेर राणा, राजकीय सम्पत्ति कोष विभागका हाकिम सुदन पोखरेल र अन्य राजदरबारका कर्मचारीहरूबाट समारोह तयारीको खाका प्रस्तुत गरियो ।

तयारीका हरेक कुरामा दीपेन्द्रबाट प्रधान सेनापति र राजकीय सम्पत्ति कोषका सुदन पोखरेललाई प्रश्न सोध्ने र सुझाव दिने क्रम शुरू भयो। बिजुली गएमा ब्याकअप लाइट भए नभएको, विभूषण दिंदादिंदै थकित भई बस्नुपर्ने भएमा कुर्सीको व्यवस्था भए नभएको बारेमा सोधनी भयो। को कहाँ उभिने, कसरी कुन ढाँचामा सुशोभनको मोडालिटी निश्चित गर्ने छलफल भयो।

सुशोभन समारोहको अघिल्लो दिन गृह सचिव श्रीकान्त रेग्मी, सम्बन्धित शाखा प्रमुख (यो पंक्तिकार) मेरा सहयोगी टेकवीरजंग रायमाझी नारायणहिटी दरबार पुग्यौं। समारोहस्थलको अवलोकन गर्दागर्दै युवराज दीपेन्द्रको आगमन भयो। तत्कालीन प्रधान सेनापति प्रज्ज्वलशमशेर राणा, राजकीय सम्पत्ति कोष विभागका हाकिम सुदन पोखरेल र अन्य राजदरबारका कर्मचारीहरूबाट समारोह तयारीको खाका प्रस्तुत गरियो।

प्रधान सेनापतिले विभूषितहरूको नाम बोलाउने, गृह सचिवले विभूषित हुने व्यक्तिलाई राजासमक्ष पुर्‍याउने, प्रधानमन्त्री, मुख्यसचिव राजाको किनारमा उभिने र राजाबाट सुशोभन भइसकेपछि सुशोभन व्यक्ति अर्काे ढोकाबाट निस्कने प्रचलनको रिहर्सल भइरह्यो। तत्कालीन समयका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई इङ्गित गर्दै युवराज दीपेन्द्रले भने, “इफ द प्राइममिनिस्टर क्यान नट् स्टान्ड फर ए लङ् टाइम, हि क्यान सिट ओभर दियर” (यदि प्रधानमन्त्री लामो समयसम्म उभिन नसक्ने भएमा उनी त्यहाँ (सोफातिर देखाउँदै) बस्न सक्छन् ।)

सुदन पोखरेलले भने, “प्रभु! गिरिजाबाबु त तगडा हुनुहुन्छ, त्यस्तो व्यवस्था गर्नु नपर्ला!”

दीपेन्द्रले जवाफ दिए, “तिमीलाई थाहा छैन, भाषण गर्दागर्दै अस्ति भर्खर संसद्‍मा फेन्ट भएको।”

यसरी तयारीको सानोभन्दा सानो कुरामा पनि दीपेन्द्रको चासो हुन्थ्यो । हरेक विषयमा गम्भीर सोच र वैकल्पिक व्यवस्थापनको सुझाव प्रशंसनीय त थियो नै, त्यस अतिरिक्त उनी आफैं शौचालय कक्ष पुगेर प्रत्येक युरिनलमा दुर्गन्ध छ कि भनेर सुँघ्दै हिंडेको देख्दा सबै कर्मचारी अचम्मित भयौं। सुशोभन समारोहको तयारीको सन्दर्भमा आवश्यक हरेक विषय सम्बद्ध पदाधिकारीलाई एक–एक गरेर ब्रिफिङ गर्ने र अरूले दिएको सुझाव पनि धैर्यपूर्वक सुन्ने गजबको कार्यशैली थियो।

यो पनि पढ्नुस्– महामारीमा अर्थतन्त्र टिकाउने सूत्रः फजुल खर्च रोक्ने, जीवनशैली बदल्ने

प्रतिकृया दिनुहोस