राम्री केटी खोजी ल्याउन जंगबहादुरको आदेश
कामक्रीडामा जंगबहादुर कतिसम्म आसक्त थिए भने भारतमा रहेका सुबेदार मन्नु सिंहलाई रूपवती स्त्री, खास गरी ‘अंग्रेजी बेबी’ खोज्न पत्र नै लेखेका थिए।
जंगबहादुर राणाको चर्चा गर्दा उनका रानी वा प्रेमिकाहरूको प्रसंग पनि कम रोचक छैन। इतिहासकार पुरुषोत्तमशम्शेर जबराले श्री ३ हरूको तथ्यवृत्तान्त (२०६५ः१८९–९७) मा सात वर्षको उमेरमा पहिलो विवाह गरेका जंगबहादुरका नाम खुलेका ४२ रानी र आमाको नाम नखुलेका केही छोराछोरीको सूची प्रकाशमा ल्याएका छन्। यसबाट जंगबहादुर आधुनिक नेपालमा सबैभन्दा बढी विवाह गर्ने शासक रहेकामा द्विविधा छैन।
जंग गीता (२०४०ः१४०)मा कमल दीक्षितले ‘जंगबहादुरका १२ सय जति पटके श्रीमती (प्रेमिका) थिए रे’ भन्ने उल्लेख गरेबाट उनको स्त्रीमोह पनि राजनीति र शासनसत्ताप्रतिकै जस्तो उत्कर्षमा रहेको बुझ्न सकिन्छ। उनले यस्ता विवाहलाई राजनीतिक दाउपेचमा पनि उपयोग गरेका थिए। साली माग्न जाँदा ससुरा काजी प्रसादसिंह बस्न्यातले सातो खाएपछि अरू कसैसँग विवाह बन्धनमा बाँधिइसकेकी साली सिद्धिगजेन्द्रलक्ष्मीलाई जबर्जस्ती आफ्नो दरबारमा ल्याउनु, आफ्नो जात ‘उच्च’ बनाइसकेपछि कोतपर्वमा मारिएका प्रधानमन्त्री फत्तेजंग शाहकी बहिनी हिरण्यगर्भकुमारीलाई विवाह गरेर आफू चौतरिया खलकभन्दा कम नरहेको देखाउन खोज्नु, सत्तामा आउन रचेका अनेक गुप्तचरी दाउपेचमा सघाउने दरबारकी सुसारे पुतली मैयालाई रानी बनाउनु जस्ता घटना यसका उदाहरण हुन्।
छोइछिटोले नबाँधेको कामक्रीडा
दीक्षित (२०४०ः९८)ले प्रकाशमा ल्याए अनुसार दरबारका तत्कालीन सैन्य अफिसर खड्गसिंह गुरुङले गोप्य कुरा खोल्दा ‘जंगबहादुरको हात्तीमा, जुवामा, पहलमानको तमासामा, मैथुनमा ज्यादा शोष थियो पछि उनलाई अफिमको लत लागेको थियो। त्यसैले हुकुम भयाको कुरा पनि भनेको छैन भंन्या हुकुम हुने ३२ सालदेखि रिसानी मात्र भैबक्सने’ उल्लेख हुनुले उनको आनीबानी तथा लत–कुलतबारे झल्काउँछ।
तत्कालीन राजदरबारको सूचना दिने व्यक्तिसँग राम्रै पहुँच बनाएका इतिहासकार रामजी उपाध्यायले बुलेट महाराजा (युवराज त्रैलोक्यविक्रम शाह)को सेवा गर्ने नानी धाई चन्द्रवदनसँग भेट गर्ने अवसर पाएका थिए। २००१ सालमा उपाध्यायले काशीमा भेट गर्दा चन्द्रवदन ९४ वर्षको वृद्धावस्थामा पुगिसकेकी थिइन्। उनले उपाध्यायलाई बताए अनुसार जंगबहादुर गोत्र, वंश, सन्तान, ब्राह्मण, यवन, म्लेच्छ, हाडनाताको विचार राख्दैनथे। उनी यौनशक्ति बढाउन भाङ, गाँजा, चरेश, धतुरो, हर्रो लगायतका रस मिसाएर बनाइएको मिस्री हरखबत सुपारी खाए जसरी चपाइरहन्थे (रामजी उपाध्याय, नेपालको इतिहास अर्थात् दिग्दर्शन – २००७ः२९५–९६)।
त्यस वेला जंगबहादुरलाई रोक्ने हिम्मत कसको?
जंगबहादुर कट्टर सनातनी हिन्दू थिए, भात–पानीमा जातीय छुवाछूत मान्थे। तर विवाह र रतिक्रीडामा आफूलाई कुनै जातीय छेकबार लगाउँदैनथे। त्यसैले उनका रानी वा प्रेमिकाको सूचीमा नेवार, तामाङ, मेचे आदि महिला पनि छन्।
जंगबहादुरले यूरोप भ्रमणमा पनि आफूलाई लागेका सबैजसो इच्छा पूरा गरेका थिए। यूरोपमा देखिएका महिलाहरूको सुन्दरताका विषयमा उनको भ्रमण विषयको टिपोटमा पनि उल्लेख गरिएको छ। जंगबहादुरको बेलाइत यात्रा (कमल दीक्षित (सम्पा.), २०१४ः१२)मा यूरोपेली महिलाहरूको सुन्दरताको बयान गर्दै यस्तो लेखिएको छ, ‘...अति सुन्दर जनानाहरू पनि आइ षचीत् भयाका भारी गहना, पोसाक लायाका चंद्रमा विच जस्ता मुष, तेल्का धारा जस्ता नाष, कपाल्ज जस्तो नेत्र भयाका अति सुन्दरी जो देष्यो उस्तै...”।
त्यस समयकी चर्चित बेलायती युवती लाउरा बेलसँग जंगबहादुरको सम्बन्धले अखबारका पानाहरूमा समेत स्थान पाएको थियो।लाउरासँग जंगबहादुरको उठबसबारे ब्रिस्टल टाइम्सले १७ अगस्ट १८५० को अंकमा ‘द नेपाउल प्रिन्सेस’ शीर्षकमा समाचार पनि प्रकाशन गरेको थियो। समाचारमा ‘ओपेरामा नेपाली प्रशासक (जंगबहादुर)का लागि छुट्याइएको क्याबिनमा ती प्रशासकका साथ ती युवतीको उपस्थितिले उनको निकै बदनाम भएको थियो। ती महिलाको नाम लाउरा बेल हो’ भनी लेखिएको थियो।
जंगबहादुरले तीन महीनामा लाउराका लागि साढे दुई लाख पाउन्ड खर्चिएको चर्चा छ। तर जंगबहादुरले आफ्नो भ्रमण टोलीका लागि तीस हजार पाउन्ड मात्र खर्च लगेका थिए। उनले पछि त्यो सबै पैसा देशकै लागि खर्चिएको स्पष्टीकरण दिएका थिए। तर चर्चा गरिए अनुसार त्यति ठूलो रकम कताबाट आएको थियो त ? बेलायती लेखकहरूले उक्त दुई लाख ५० हजार पाउन्ड इस्ट इन्डिया कम्पनीले भर्पाई गरिदिएको भनी लेखेका छन्। लाउराको प्रेममा परेका जंगबहादुरले लन्डन भ्रमणको अन्त्यमा ‘केटा हो, तिमीहरू जाओ र मलाई नेपाल गएर पैसा पठाइदेओ, म यहीं एक-दुई वर्ष राजदूत भएर बस्छु’ भनेर आफ्ना भाइ धीरशमशेर र जगतशमशेरलाई भनेछन्। (डा. विश्व पौडेल, हिमाल वर्ष २० अंक १०–भदौ २०६७ः१०–११)। तर भ्रमण दलका सदस्यहरूले “हजुर नभए नेपालमा अरूले राजकाज सम्हाल्न सक्दैनन्” भनी नेपाल फर्कन मनाएका थिए (विश्व पौडेल, हिमाल वर्ष १९ अंक १५–मंसीर २०६६ः८०)।
यसबाट पनि जंगबहादुरको मनमौजी जीवनशैली थाहा पाउन सकिन्छ।
म्लेच्छले छोएको नखाने जंगबहादुरले म्लेच्छ लाउरासँग हिमचिम र लसपस गर्न भने बारेनन्। नेपाल फर्कंदा पतिया पनि लिएनन्। यही विषयलाई लिएर नेपाल फर्कने बित्तिकै उनलाई भाइ बद्रीनरसिंह लगायतले सत्ताबाट विस्थापित गर्ने मात्र होइन, ज्यानै लिने योजना समेत बनाएका थिए।
यस्तो योजना बुन्नेमा उनकै साथ बेलायत भ्रमणमा गएका लप्टन करवीर खत्री प्रमुख रूपमा सक्रिय थिए। उनैले जंगबहादुरले हिन्दू भएर पनि बेलायत र फ्रान्समा रहँदा त्यहाँका महिलासँग संसर्ग गरेको पोल खोलेका थिए (जबरा, २०६५ः८७)।
विसं १९०६ माघ ४ मा यूरोप भ्रमणमा निस्केका जंगबहादुर अर्को वर्षको माघ २६ गते थापाथली दरबार उत्रिएका थिए।
त्यो पत्र
विसं १९०३ भदौ ३१ गते कोतपर्वमा विरोधीलाई सखाप पारेपछि जंगबहादुरले तत्कालीन शक्तिसम्पन्न महारानी राज्यलक्ष्मीबाट मुख्तियार जनरलको जिम्मेवारी पाएका थिए। बाँकी रहेका वीरध्वज बस्नेत लगायत विरोधीलाई पनि भण्डारखालपर्वमा सिध्याएर राज्यलक्ष्मीलाई समेत निर्वासित गराएपछि उनले राजा राजेन्द्रविक्रम शाहबाट विसं १९०३ कात्तिक २५ गते ‘प्राइममिनिस्टर एन्ड कमान्डर इन चीफ’ को जिम्मेवारी पाए।
यसरी सत्तामा सर्वेसर्वा हुन आइपुगेका जंगबहादुरले त्यसपछि मातहतका सैनिक कर्मचारीलाई आफ्नो कामक्रीडाका निम्ति महिलाहरू ल्याउन आदेश दिन थाले। त्यसमा पनि अंग्रेजी बेबी (बेलायती महिला) आपूर्ति गर्न सुबेदार मन्नु सिंहलाई आदेश दिएको पत्र इतिहासकार दिनेशराज पन्तले प्रकाशनमा ल्याएका छन्। पन्तले पूर्णिमा पूर्णांक ८९ (मंसीर २०५३ः५१)मा प्रकाशनमा ल्याएको पत्रको व्यहोरा यस्तो छ :
संं. १९०४ वैशाषसुदि ७ रोज ४ श्री प्राइममिनिष्टर यान्बाट सुवेदार
मन्नुसीके
षबसुरत अंगरेजी विवीमाफिक्का केटि २।३ मैन्हाभीत्रमा तैले ल्याउन स
किस् भन्या तेरो दर्जा पनि बढाइदिउला. मुनासीव माफीक्का केटि
लाई ल्याउदामा लाग्याको षर्च पनि मिनाह लिदउला अं
कृत गरीकन ल्याउन सकुला भन्या षोजन पनि जा देस देसको
षै षबर पनि लषद गर सक्तिन भन्छस् भन्या असवाव
का साथ लागी आउन्या काम गर शुभम्।
यस पत्रमा जंगबहादुरले सिंहलाई आफूले भने जस्ती महिला ल्याए दर्जा बढाइदिने र लागेको खर्च व्यहोरिदिने उल्लेख गरेका छन्।
इतिहासकार पन्त (मंसीर २०५३ः५१)का अनुसार उनले अनुसन्धानका क्रममा विसं २०३८ मंसीर ९ गते परराष्ट्र मन्त्रालयको १६१ नम्बरको खाममा यो पत्र मस्यौदाका रूपमा फेला पारेका हुन्। जंगबहादुरकै हस्ताक्षर रहेको उक्त पत्रमा लेखिएको मिति विसं १९०४ वैशाख सुदी ७ रोज ४ (पात्रो अनुसार वैशाख १० गते बुधबार) छ। तर हालै सामाजिक सञ्जालमा प्राप्त त्यसको छायाप्रतिमा १९०४ वैशाख सुदी रोज ४ मात्र उल्लेख गरिएको छ।
जंगबहादुर मुश्किलले लेखपढ गर्न जान्दथे। उनले लेखेका अक्षर र हस्ताक्षरको नमूना प्रकाशमा आइसकेकोले उक्त पत्र जंगबहादुर आफैंले लेखेको देखिन्छ। तत्कालीन शक्तिशाली जनरल गगनसिंहसँग कंकेश्वरीमा एउटा धर्मपत्र गर्दा लेखिएको जंगबहादुरको अक्षरको विशेषता उल्लेख गर्दै इतिहासकार ज्ञानमणि नेपालले नेपालको महाभारत (२०५२ः२२५)मा खुलाए अनुसार उनका अक्षर सिकारुका जस्ता ठूलठूला र टेढामेढा छन्।
दीक्षित (२०४०ः११–२७)ले आफू बेलायतमा हुँदा जंगबहादुरले भाइ बमबहादुरलाई लेखेको पत्रको सक्कल नै प्रकाशमा ल्याएका छन्। ‘जंगबहादुरका अक्षर भँगेराको टाउको जस्ता छन्। उनलाई जोडेमोडेको अक्षर लेख्न पटक्कै आउँदो रहेनछ। जंगबहादुरलाई नेपाली लेख्न त्यति गाह्रो पर्दो रहेछ। उनले अक्षर खार्ने समय पाएका रहेनछन्। अ, छ, ह, श्री लेख्न निकै मेहनत गर्नुपर्दो रहेछ। ट र ठ को फरक, नजोरेको ट र जोरेको ठ भन्ने उनलाई सिकाएकै रहेनछ’ (दीक्षित, २०४०ः३)।
जंगबहादुरको हस्ताक्षर प्रकाशमा ल्याउने इतिहासकारमध्ये भगिराज इङ्नाम पनि एक हुन्। उनले आफ्नो पुस्तक लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७ः७३४)मा समेटेको खेत सम्बन्धी झगडा मुद्दाको एउटा आदेशपत्रमा जंगबहादुरले ‘यो जग्गा जस्ले कीचला गर्ला नेल् ठोकी १२ मैना कयद होला गौडाका मालीक्ले रुका व..गरी दिनू’ भन्ने टिप्पणी लेख्दै शिरको बायाँपट्टि कुनामा ‘सही जंङ्बहादुर’ भनी हस्ताक्षर गरेका छन्।
अक्षरका सबै विशेषता र हस्ताक्षरको तरीका हेर्दा हालै इतिहासप्रेमी सुशीलविक्रम थापाले सार्वजनिक गरेको पत्र जंगबहादुरकै हस्ताक्षरमा तयार पारिएको स्पष्ट देखिन्छ। उनले हस्ताक्षर गर्दा ज अक्षरमा शिरबिन्दु लगाई ङ अक्षरको खुट्टा काटी ‘जंङ्’ लेख्ने गरेको देखिन्छ।
जंगबहादुरले राम्री केटी झिकाउन आदेश दिएका सुबेदार मन्नु सिंह भारतमा रही नेपालका लागि इस्ट इन्डिया कम्पनीका गतिविधिको गुप्तचरी गर्ने सैनिक भएको देखिन्छ। रामजी तेवारीले पूर्णिमा पूर्णांक ५७ (असार २०४१ः४१–४३)मा जमदार मन्नुसिंह, अैमानसिंह र मेजर रघुले विसं १८९४ फागुन वदी ६ रोज ५ मा भारतको कानपुरबाट लखनउ आई नेपाल सरकारलाई लेखेको पत्र प्रकाशन गरेका छन्। त्यस वेला मन्नु सिंहको पद जमदार रहेको देखिन्छ। पत्रमा ‘...जहाँ जहाँ अङ्ग्रेजको कम्पनी ताहीं ताहिं चिठी आयाका छन् भनि भं..उश्ले चिठि षोलि हेर्यो भन्या हामिलाई पक्रंछ कि भंन्या दहशत्ले (कानपुर)बाट अर्जि चर्हाइ पठाउन सकिएन...’ भन्ने उल्लेख भएबाट उनीहरू इस्ट इन्डिया कम्पनीको गतिविधि बुझ्न खटाइएका थिए भन्ने अड्कल काट्न सकिन्छ।