याक्थुङ/लिम्बू पुर्खाको निशानी हाङसेमलुङ आफैमा एउटा सभ्यताको परिचायक र इतिहास खोज्ने आधार पनि हो।
मधुराज केरुङ
लिम्बू भाषामा ‘हाङ्’ भनेको राजा, ‘सेमा’ भनेको छुट्टिनु वा छोडिनु र ‘लुङ्’ भनेको ढुंगा हो। यी तीन शब्दबाट बनेको ‘हाङ्सेमालुङ्’ ले ढुंगाहरू निशानी गाडेर राजाहरू छुट्टिएको ठाउँ भन्ने बुझाउँछ। समयक्रममा स्वभाषामा भएको अपभ्रंशबाट हाङ्सेम्लुङ् र परभाषामा अपभ्रंश हुँदा हंसमोरङ भन्न थालियो।
अहिले यो ठाउँ धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-५, बोधेमा पर्छ। साविक हंसमोरङ-५ का बासिन्दा ८१ वर्षीय हर्कबहादुर कार्की र ७० वर्षीय गोविन्दबहादुर बस्नेत यस ठाउँमा ठड्याइएका चार वटा लामा लामा ढुंगा ६० वर्ष अघिसम्म देखेको बताउँछन्।
त्यसपछि भने जिमाला, सिमाला खोज्नेहरूले खोतलेर तीन वटा ढुंगा लडाए। ढलेका ती ढुंगाहरू फुटाएर खेतमा गाह्रो लगाउने काम गाउँलेबाट भयो। अहिले एउटा मात्र ढुंगा साबुत छ। यो पनि उचित संरक्षणको अभावले जोखिमबीच उभिएको छ। यसको उचाइ चार फिट नौ इन्च, चौडाइ एक फिट नौ इन्च र मोटाइ नौ फिट चार इन्च छ।
त्यसो त अहिले लिम्बूवानको चौबिसे, बोधेमा लिम्बूको बसोबासै शून्यप्रायः छ। बसाइँसराइले लिम्बूविहीन यस ठाउँमा क्षेत्रीहरू मात्र छन्।
याक्थुङ/लिम्बू जातिमा यसरी ठड्याएका ढुंगाको ऐतिहासिक महत्त्व हुन्छ। लिम्बु मुन्धुम अनुसार यस्ता ढुंगाहरूको फरक फरक अर्थ हुन्छ। यो आलेख हाङसेमलुङ सम्बन्धी यसअघिका खोज-अनुसन्धान र अबको जिम्मेवारी विषयक चर्चामा केन्द्रित छ।
प्रसाद थेबेको लिम्बूको संक्षिप्त इतिहास र थेवे वंशावली (२०५७) को पृष्ठ ४१ मा चूडामणि सेनको मृत्युपश्चात् उनका चार भाइ छोराहरूले ठाउँ छोडी उत्तरतर्फ जाने सल्लाह गरी तमोर नदी र छरुवा खोला दोभानको सम्म परेको गडतिरका चार वटा ढुंगा गाडी सो ठाउँलाई ‘हाङसेम्मालुङ’ नाम राखी अन्दाजी इसं १००० वरपरको समयमा दाजुभाइ छुट्टिएको उल्लेख छ।
थेबेले इमानसिंह चेम्जोङको दि हिस्टोरी एन्ड कल्चर अफ किरात पिपुल (१९६७) र दगलसिंह सेन लिम्बूको सेन लिम्बू चवेगू वंशावली (२०३५) लाई आधार मानेको देखिन्छ। किरात इतिहासबारे चेम्जोङका कतिपय आलेख तथ्यहीन भेटिएकाले उनैलाई आधार मानेर लेखिएका कुरा अविश्वासिलो बनेका छन्।
सुब्बा प्रेमबहादुर माबोहाङ र भूपेन्द्रनाथ शर्मा ढुंगेलको नेपाल इतिहास (२०६१, पुनः प्रकाशन) मा ठ्याक्क ‘हाङसेमलुङ’ नभनिए पनि यस ठाउँबारे उल्लेख छ। ‘... राय, राजा, मन्त्री, उपमन्त्री नियुक्त गराई चुम्लुङ (सभा) गरेका दिन दुई हात चौडा, छ हात लामो ढुंगा रोपी सभा विसर्जन गरी उक्त लेखिएका मितिदेखि अरुणपूर्व कैरात देश दश प्रान्तीय राय राज्य विभाजन भएको’ किताबको पृ. ७७ मा लेखिएको छ।
१० लिम्बुवानको नेतृत्व गर्न ढुंगा गाडेर छुट्टिएका १० राजाबारे यस्तो उल्लेख भएको बुझ्न सकिन्छ। यो पुस्तकमा वास्तविक इतिहास भए पनि अस्पष्ट रहेकाले हाङसेमलुङको इतिहास अपुरो नै रहन गएको छ।
भीमविक्रम सेन चोवेगू थेगिमहाङ लिम्बूको संकलन तथा लेखनको किरात सेनेहाङ् लिम्बू वंशावली इतिहास (२०६४)मा पनि हाङसेमलुङको चर्चा छ (पृ. २२९)। यस अनुसार चूडामणि सेनका चार भाइ छोरा वराहक्षेत्रबाट तम्बर तीरैतीर उकालो लिम्बुवान जाँदा हाल धनकुुटाको साविक बोधे गाविस-५, तमोर किनार सधाम पूर्वतिरको टारमा सरसल्लाह गरी चार ढुंगा गाडेर छुट्टिने निधो गरे।
चौबिसे गाउँपालिका-५ का ७० वर्षीय गोविन्दबहादुर बस्नेत।
चोवेगूका अनुसार ती चार राजपुत्रले पुर्खाको यादगार शान्तिको प्रतीक गाडेको ठाउँ ‘हाङ्सेम्मालुङटार’ भयो। ...त्यसपछि जेठा सेनेहाङ तम्बरपार, कान्छा मणिसेन हिंवा खोला, एक भाइ मेवा खोला र अर्को भाइ तमोर खोला गए।
थेगिम हाङहरू मणिसेनका सन्तान हुन् भनेर चोवेगूले लेखेका छन्। यो भनाइ तथ्यसंगत देखिए पनि थेगिमहरू सेनवंशी हुन् भनेर मान्न चाहिं कठिन छ। लिम्बूहरूको सामाजिक इतिहास मुन्धुम ले थेगिमहरूलाई तेत्लारा लाहादङ्नाका कान्छा पुत्र सेच्छेरे सेनेहाङका सन्तान भन्छ।
अर्जुन माबुहाङ र लक्ष्मण लावती (२०७८)ले थेगिमलाई सेच्छेरे सेनेहाङको सन्तान भन्दै दश लिम्बुवान सत्रथुमको नीति को पृष्ठ १५२ मा प्रमाणस्वरूप कागजातहरू नै राखेका छन्। यो कारण पनि थेगिमहरू सेनवंशी हुन् भन्ने चोवेगूको तर्क भ्रामक लाग्छ।
धनहाङ सुब्बाद्वारा संकलित लिम्बुवानको लोककथा को पृष्ठ २८-२९ मा उहिले लिम्बुवानका आठ आपुंगी राजा र १० सरदारबीच भीषण युद्ध भएको कथा छ। युद्धमा विजयी १० सरदारले फेदेन सुम्हालुङ् डाँडामा तीन चुला गाडेर, तीन वटा आँपको बिरुवा रोपेर पवित्रस्थल बनाएको कथा बताउँछ।
फेदेनबाट तमोरको किनारैकिनार तमोर, छरुवा र तेलिया खोलाको त्रिवेणी छेउको टारमा आएर ती सरदारहरूले चुम्लुङ गरे। १० विजेताले एक/एक राज्य लिने प्रशासनिक बाँडफाँड चुम्लुङ गरेर छुट्टिंदा रोपिएका चार ढुंगा हाङसेमलुङ भएको कथामा उल्लेख छ।
पान्थरको फेदेन सुम्हालुङ् डाँडाबाट तमोर किनारैकिनार उति टाढा गएर सभा बसेको भन्ने कथा भौगोलिक हिसाबले पनि इतिहासको तथ्यसँग मेल खाँदैन। यो लोककथा आफैमा चाखलाग्दो भने छ। लिम्बू गाउँमा यस्ता अनेक लोककथा सुन्न पाइन्छ। केही कविले पनि आफ्ना कवितामा यस्ता विम्बहरू उतारेका छन्।
शिवकुमार श्रेष्ठको लिम्बुवानको ऐतिहासिक अध्ययन मा हंसमोरङको छोटो चर्चा छ। त्यस अनुसार १० सरदार धनकुटा, बोधेको हंशमोरङबाट छुट्टिएर लिम्बुवानका विभिन्न क्षेत्र गएका हुन् (२९ पृ.)। हंसमोरङको वास्तविक अर्थात् पुरानो नाम हाङसेमलुङ हो, जसको अर्थ हुन्छ- राजाहरू छुट्टिंदा गाडेको ढुंगा।
श्रेष्ठका अनुसार नेपालको पूर्वी पहाडमा ईस्वीको सातौं शताब्दीअघि नै १० लिम्बूको आगमन भएको अनुमान छ। यो भनाइले चेम्जोङको किरात इतिहासलाई आधार मानेको छ, जुन आफैमा भ्रामक रहेको माथि उल्लेख भइसकेको छ।
कमलप्रसाद लिम्बूको विद्यावारिधि शोध नेपालको आदिवासी याक्थुङ (लिम्बू)का पुर्ख्यौली जमीन र प्रथाजनित संस्थाका परीक्षण (२०७६)मा पनि हाङसेमलुङको चर्चा छ। त्यस अनुसार उहिले लिम्बू समुदायमा निशानाका रूपमा ढुंगाहरू गाड्ने प्रचलन थियो। चुम्लुङको निर्णयबाट ढुंगाहरू गाडिन्थे। यद्यपि यसमा पनि कुन कुन राजा, कहिले कहिले, कहाँ कहाँ ढुंगा गाडेर छुट्टिए भनी इंगित गर्ने तथ्यहरू छैनन्।
हंसमोरङका ८१ वर्षीय हर्कबहादुर कार्की।
उल्लिखित अध्येताहरूको भनाइ बाहेक विभिन्न थरका लिम्बूको माङ्गेन्नामा फेदाङ्मा, साम्बा, येबा, येमानीहरूले मुन्धुम फलाक्दै विचरण गर्दा हाङसेमलुङको चर्चा गर्छन्।
इतिहासमा दिग्भ्रम
याक्थुङ/लिम्बूहरूका विषयमा प्रायः सबै इतिहासकारले ‘किरातीलोजिस्ट’ इमानसिंह चेम्जोङलाई आधार मानेर लेखे। नयाँ पुस्ताका इतिहासकारहरूले उनलाई खण्डन गर्न थालेका छन्।
उति वेला चेम्जोङले क्षेत्रकार्य गरेर लेख्नुभन्दा पूर्ववर्ती अध्येताहरू– ब्रायन हज्सन, आर.के स्प्रीग, एच.एच. रिस्ले, ह्यामिल्टन, एडेन भेन्सिटार्ड जस्ता विदेशी इतिहासकारका द्वितीय सामग्रीलाई आधार मानेकाले धेरै संशोधन जरुरी रहेको मानिएको छ। चेम्जोङलाई आधार मानिएका लेखनीले दिग्भ्रम सिर्जना गरेको पछिल्लो पुस्ताका इतिहासकारहरूको भनाइ छ।
लिम्बू जातिको इतिहास अस्पष्ट हुनु अहिले टाउको दुखाइको विषय भएको छ। धेरैजसो थरका वंशावलीमा त्रुटि भएका छन्। लिम्बू जातिको सभ्यता अलिखित श्रुतिपरम्परामा सीमित हुनु यसको कारण हो।
लामो कालखण्ड इतिहास अलिखित रहँदा धेरै कुरा विस्मृत भएर गए। प्रत्यक्ष स्रोतव्यक्तिहरूको देहावसान हुँदै गयो भने कति नवीन कुरा आरोपित हुँदै आए। कति प्रमाणमा काल्पनिकी थप हुन जाँदा सही कुरा पत्ता लगाउन कठिन हुँदै गयो। यसले गर्दा इतिहासमा मतैक्य भएन। हाङसेमलुङ पनि यसकै एउटा ज्वलन्त उदाहरण हो।
भाषागत रूपमा ‘हाङ्’, ‘सेमा’ र ‘लुङ्’ बाट बनेको ‘हाङसेमलुङ’ शब्द अक्षरशः लिम्बू बोली भएकोमा शंका छैन। बोधे क्षेत्र याक्थुङ/लिम्बूहरूको प्राचीन वासस्थान पनि हो। लिम्बू जातिमा राजा हुने व्यवस्था थियो। ढुंगा गाड्ने संस्कृति आजसम्म पनि कायम छ।
इतिहासको कुनै कालखण्डमा यहाँ लिम्बू पुर्खाहरूले चुम्लुङ गरेर निशानाका रूपमा ढुंगा गाडेर छुट्टिएका हुन सक्ने नै देखिन्छ। ती राजाहरू थिए नै भनेर किटान गर्न सकिने अवस्था भने छैन।
ढुंगा मात्रै हुँदैनन् सबै ढुंगा
पितृपुकार गरे मात्र कुल-वंशको संरक्षण हुने, प्राकृतिक विपत्तिबाट जोगिने मान्यता बोकेका लिम्बूहरू ढुंगालाई आफ्ना पितृहरूको पवित्र प्रतीक मान्छन्। उनीहरूको विश्वासमा पितृआत्मा बसेको ढुंगामा अलौकिक शक्ति हुन्छ। यसरी ठड्याइएका ढुंगाहरूले कुल-वंशको नैतिक व्यवहारको समेत रक्षा गर्ने विश्वास लिम्बू जातिमा छ (माबुहाङ, २०७३ : ३५)।
कुनै ढुंगा साइनो-सम्बन्धको प्रतीकका रूपमा ठड्याइएका हुन्छन्। कुनै ढुंगा साँधसिमानाका रूपमा त कुनै उत्पत्तिस्थलमा थान थपना गरी ठड्याइएका हुन्छन्। कतै झैझगडा मिलाएपछि ठड्याइएका शान्तिका प्रतीक ढुंगाहरू हुन्छन् भने कतै प्रथाजनित कानून/व्यवहार बुझाउने ढुंगाहरू ठड्याइएका हुन्छन्।
कुनै ढुंगा केवल ढुंगा हुँदैन, संस्कृतिले निर्माण गरेको सभ्यताको इतिहास पनि हुन्छ। खुवालुङ, सुम्हालुङ, वधिनलुङ, चोलुङ, काईलुङ, थामालुङ, इन्दोलुङ, सेरिलुङ, मुयालुङ, साम्बोकलुङ, सुङलुङ, तेप्लुङ, लोत्लुङ आदि यस्तै ऐतिहासिक–सामाजिक–सांस्कृतिक अर्थ बोकेका शिलाहरू हुन्।
लिम्बू जातिको सामाजिक इतिहास मुन्धुम मा ढुंगाको बहुआयामिक महत्त्व छ। ठड्याइएका ढुंगा मात्र नभई चिहान, चौतारी, गुफा, चौर, पोखरी, झरना, खोलानाला, चराचुरुंगी, ठूल्ठूला रूखहरू सभ्यताका प्रतीक हुन्। यस्ता स्थलहरू पूज्य हुन्छन्। यस्ता निशानी नाशिंदा इतिहासविहीनताको अवस्था आउँछ।
लिम्बू जातिका पुर्खाहरूले निर्माण गरिराखेको निशानी भएकाले हाङसेमलुङ आफैमा लिम्बू सभ्यताको परिचायक हो। यी ढुंगाहरू लिम्बू इतिहास खोज्ने आधार पनि हुन्।
हाङसेमलुङको इतिहासले उति वेलाका लिम्बू पुर्खाहरू के-कस्ता व्यवहार गर्थे भन्ने तथ्य खुलाउनेछ। साथै, लिम्बू पुर्खाको विचार, रीतिथिति, नैतिक मूल्यमान्यता कस्तो थियो भनेर पर्गेल्न मद्दत पुर्याउँछ।
यो इतिहासले प्रकृतिपूजक याक्थुङ/लिम्बूहरूको विगत बुझाउँदै वर्तमानमा दृष्टिकोण निर्माण र भविष्यको मार्गचित्र कोर्न सघाउँछ। ऐतिहासिक-सांस्कृतिक निशानीहरूको पहिचानले स्वपहिचान र अस्तित्वबोधलाई अझ गहिरो बनाउने कुरा आफ्नो ठाउँमा छँदै छ।
विभिन्न धार्मिक-सांस्कृतिक स्थलहरू आदिवासी जनजाति लिम्बू समुदायको इतिहासका महत्त्वपूर्ण स्रोत हुन्। आफूलाई ‘खाम्बोङबा/लुम्बोङ्बा सा’ अर्थात् ढुंगा-माटाको सन्तान मान्ने लिम्बू जातिका लागि यी निशानीहरू आफ्ना पुर्खाको गतिविधि बुझ्ने प्रत्यक्ष प्रमाण हुन्।
स्थानीय सरकारको जिम्मेवारी
ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरू देशकै अमूल्य निधि हुन्। यस्ता सम्पदाको समुचित संरक्षण गर्नु सबैको दायित्व हो। यो सवालमा अहिले स्थानीय सरकारहरूले सबैभन्दा महत्त्वपूर्ण र प्रभावकारी पहल लिन सक्छन्। हाङसेमलुङ जस्तो ऐतिहासिक महत्त्वको ठाउँको संरक्षण, संवर्द्धनका निम्ति सम्बन्धित स्थानीय तहलाई निम्न सुझाव छ :
हाङसेमलुङ पुग्ने सिढी निर्माण र खानेपानीको प्रबन्ध तत्काल गर्नुपर्छ। यो ऐतिहासिक स्थललाई तमोरको कटानबाट जोगाउन तटबन्ध पनि तत्कालै बनाउनुपर्ने देखिन्छ।
त्यस्तै, इतिहासतः पहिलेका चार ढुंगामध्ये अहिले एउटा मात्र बाँकी छ। नाशिएका तीन वटाको पनि प्रतिरूप कुँदेर पहिले झैं ठड्याए राम्रो हुन्छ। यहाँ पालिकाले ऐतिहासिक पात्रहरूको शालिक राखेर सम्बन्धित इतिहासका दसीप्रमाण समेत व्यवस्थित गरेर उदाहरणीय कार्य गर्न सक्छ।
विविध माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार, इतिहास समेटिएको वृत्तचित्र निर्माण/प्रदर्शन, मौलिक चाडपर्वको अवसरमा मेला आयोजना लगायत गतिविधि गरेर यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।
यी बाहेक अन्य सुझावहरू पनि हुन सक्छन्। यसमा विषयविज्ञहरूको परामर्श उत्तिकै आवश्यक हुन्छ। यस्तो कार्यमा अग्रसरता लिए स्थानीय सरकारको सान्दर्भिकता थप पुष्टि हुनेछ।
(सम्पादन : आनन्द राई , भाषा : प्रद्युम्न खनाल )
यो पनि पढ्नुहोस् :
राजा विजयनारान याक्थुङ/लिम्बू कि सेन?
किरात: शब्द, वंश र बसाइँसराइ
काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि