दस्तावेज सोमबार, जेठ १९, २०७७

त्यो दरबार, यो दरबार

हिमालखबर

त्यो दरबार, यो दरबार
राजा वीरेन्द्र । तस्वीर: मीनरत्न बज्राचार्य ।

प्रत्येक १९ जेठ आउने बित्तिकै १९ वर्षअघि २०५८ सालको त्यो त्रासदी आज पनि मस्तिष्कमा आउँछ, असाध्यै नमिठो अनुभूति हुन्छ।

बूढापाकाहरु भन्थे– दरबार र तरबारको धेरै नजिक नबस्नू । दरबारको कुदृष्टि र तरबारको धार सोझिएमा विनाश हुन्छ भन्ने धारणामा आधारित थियो, त्यो भनाइ । नभन्दै हतियारबाटै राजदरबार हत्याकाण्ड भयो, राजा वीरेन्द्र शाहको वंशविनाश भयो ।

अहिले त मुलुकमा राजतन्त्र समाप्त भएको पनि १३ वर्ष पुगिसकेको छ । राजपरिवारका शान र शौकतको राजदरबार यतिबेला इतिहास बनिसकेको छ, मिथक र कथा झैं लाग्न थालेको छ । हिजो आम नागरिकले फर्केर हेर्न समेत डर मान्ने नारायणहिटी दरबार आज संग्रहालयमा परिणत भइसकेको छ । संग्रहालय बाहेक दरबारका अन्य भागहरु कुरुप बनिरहेका छन् । बरु भर्खरै तयार गणतान्त्रिक स्मारकले केही शोभा बढाउने सम्भावना देखिन्छ । सामाजिक सान्दर्भिकता परिवर्तन भएपनि नारायणहिटी दरबार देशको साझा सम्पदा हो, लामो इतिहास बोकेको स्मारक हो ।

आत्माराम पाण्डे

पञ्चायतमा दरबारको हाउगुजी
पञ्चायतकालमा दरबार एउटा हाउगुजी थियो । दरबारको कृपादृष्टि परे भाग्य सप्रिन्छ भनिन्थ्यो । दरबारमा पहुँच भएका मन्त्रालयका सचिवहरुसँग मन्त्री समेत डराउँथे। उनीहरुका घरमा चाकरी गर्नेको भिड लाग्थ्यो । खासगरी अञ्चलाधीश, राष्ट्रिय पञ्चायत सदस्य र संवैधानिक अंगहरुमा नियुक्ति पाउन दरबारिया सचिवहरुकै सिफारिश निर्णायक आधार हुन्थ्यो ।

राजाबाट दरबारका सचिवहरुलाई अनुभव र क्षमताको आधारमा मन्त्रालयहरु हेर्ने भाग लगाइन्थ्यो । जसअनुसार, मन्त्रिपरिषद्का निर्णयहरु जाहेर गर्ने, निर्णय निकासा दिनेमा प्रमुख सचिवालय, गृह, रक्षा, लगायत शान्ति सुरक्षा हेर्न प्रमुख सैनिक सचिवालय र समस्त प्रेस संचारको जिम्मा प्रमुख संवाद सचिवालयमा हुन्थ्यो ।

राजारानीका निजी र व्यक्तिगत मामिलाहरु प्रमुख निजी सचिवालय र प्रमुख स्वकीय सचिवालयबाट सम्पादन हुन्थे भने राजदरबारका समारोह, उत्सव प्रमुख राजदरबार समारोह प्रबन्धक कार्यालयबाट सम्पन्न गरिन्थ्यो ।

पञ्चायतकालको संविधानमा श्री ५ मा नै मुलुकको सार्वभौमसत्ता निहित भएको हुँदा मन्त्रिपरिषद्‍मा पेश हुने अधिकांश प्रस्तावहरु मन्त्रिपरिषद्बाट ‘प्रस्तावमा लेखिए बमोजिम गर्ने निर्णय सदर हुन श्री ५ महाराजाधिराजका हजुरमा जाहेर गर्ने’ भन्ने व्यहोराका साथ दरबार पठाइन्थ्यो । प्रमुख सचिवालय मार्फत श्री ५ मा जाहेर हुने यस्तो प्रस्ताव निर्णयको आदेशपछि मन्त्रिपरिषद् सचिवालयबाट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पुग्थे।

मन्त्रिपरिषद्‍मा आउने प्रस्तावको कारवाही प्रक्रिया अत्यन्त गोपनीयताका साथ अघि बढाइन्थ्यो । निर्णय नभएसम्म प्रस्तावको अवस्था बुझ्न अन्यलाई ज्यादै कठिन हुन्थ्यो । प्रस्तावमा दरबार सन्तुष्ट नभएमा थप कारण र पुष्ट्याइँका लागि मन्त्रिपरिषद् सचिवालयमा पत्राचार हुन्थ्यो । सम्बन्धित मन्त्रालयबाट आवश्यक कागजात र थप विवरण मगाई पुनः दरबार पठाएपछि मात्र निर्णय निकासा हुन्थ्यो।

राष्ट्रिय महत्वका विषयहरु तथा राजकीय भ्रमणका विषयका सम्बन्धमा नारायणहिटी राजदरबारको मंगल सदनमा ‘ब्रिफिङ’ हुन्थ्यो । जहाँ मर्यादाक्रम अनुसार बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो । मन्त्रिपरिषद् सचिवालयको शाखा अधिकृत भए पनि मुख्यसचिवसँग दरबारका कार्यक्रमहरुमा जान पाउँदा यो पंक्तिकारलाई आत्मसम्मान र गौरवको अनुभूति हुन्थ्यो।

राजारानी प्रत्येक दुई वर्षमा एकपटक मुलुकका ५ वटै विकास क्षेत्र भ्रमण गर्ने प्रचलन थियो । त्यतिवेला हरेक विकास क्षेत्रमा विकास आयोजनाको शिलान्यास, उद्घाटन र निरीक्षण हुन्थ्यो । भ्रमणका अवसरमा राजाबाट पञ्च तथा समाजसेवी र आम नागरिकलाई भेट्नुका साथै अभिनन्दन समारोहलाई समेत सम्बोधनसमेत हुन्थ्यो । भ्रमणपछि राम्रो काम गर्ने कर्मचारीलाई नगद पुरस्कार र तक्मा पदकको घोषणा हुन्थ्यो भने सन्तोषजनक काम नगर्नेलाई तत्काल सेवाबाटै हटाइन्थ्यो । भ्रमणमा राजाबाट निर्देशित कुरा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाइन्थ्यो।

प्रत्येक वर्ष २ साता चितवन र बर्दियामा राजारानीको शिकार भ्रमण हुन्थ्यो । भ्रमण तयारीमा आवास, खानपिन, सुरक्षा लगायत सबै व्यवस्था सेना, गृह मन्त्रालय, वन मन्त्रालय र स्थानीय प्रशासनबाट हुन्थ्यो । शिकारको प्राविधिक पक्षको सबै जिम्मेवारी निकुञ्जका कर्मचारीलाई दिइएको हुन्थ्यो। राजारानी र युवराजबाट बाघ, गैंडाको शिकार सफल भएको दिन सवारी क्याम्पमा धूमधामका साथ रात्रिभोज गर्ने परम्परा थियो।

कर्फ्यु लगाएर गरिएकाे थियाे राजपरिवारकाे शवयात्रा । तस्वीर: मीनरत्न बज्राचार्य

प्रत्येक वर्ष २ साता चितवन र बर्दियामा राजारानीको शिकार भ्रमण हुन्थ्यो । भ्रमण तयारीमा आवास, खानपिन, सुरक्षा लगायत सबै व्यवस्था सेना, गृह मन्त्रालय, वन मन्त्रालय र स्थानीय प्रशासनबाट हुन्थ्यो । शिकारको प्राविधिक पक्षको सबै जिम्मेवारी निकुञ्जका कर्मचारीलाई दिइएको हुन्थ्यो।

सवारीमा सामेल हुने डफ्फाका सबैलाई खानेपानी, बिच्छ्यौना, पलङ र झुल समेत भएको टेन्ट तयार गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे पथ्र्यो । राजारानी र युवराजबाट बाघ, गैंडाको शिकार सफल भएको दिन सवारी क्याम्पमा धूमधामका साथ रात्रिभोज गर्ने परम्परा थियो।

राजाको शुभ जन्मोत्सवमा राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई विभिन्न श्रेणीका अलङ्कार मानपदवी, विभूषण र पदकहरुको घोषणा हुन्थ्यो । विभूषणको सुुशोभन समारोह राजदरबारमा भव्यताका साथ सम्पन्न गर्ने परम्परा थियो । नारायणहिटीमा प्रवेश पाएर राजाको हातबाट विभूषित हुन पाउँदा पुरस्कृत व्यक्तिहरु दंग पर्थे । सम्मानित विदेशी नागरिक पनि उल्लास र उमङ्गका साथ सहभागी हुन्थे।

२०४६ सालको जनआन्दोलनपछि राजा पनि संविधानमा बाँधिए । संसदीय प्रणालीमा विभिन्न दलका सरकारहरु निर्वाचित भए, सरकार परिवर्तन भए । नचाहँदा नचाहँदै मुलुक द्वन्द्वमा भासियो । शान्ति सम्झौताका लागि सरकारबाट वार्ता र सम्झौताका प्रयास भए । यसबीचमा दरबारको भूमिका तटस्थ नै रह्यो ।

त्यो १९ जेठ
१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा राजारानी र राजपरिवारका ९ जना सदस्यको एकै ठाउँमा हत्या भयो । घटनाको अर्को दिन २० जेठ बिहानै ३ बजे तत्कालीन गृह सचिवले सिंहदरबारमा बोलाउनुभयो । मन्त्रालयमा दरबार हत्याकाण्डको हल्ला सुनियो । सबै घाइतेहरु छाउनीको सैनिक अस्पतालमा पुर्याइएको, कोही जीवित नरहेको चर्चा सुनियो ।

रेडियो टेलिभिजनमा एकहोरो शोक धून मात्र बज्न थाल्छ । घटनाको जानकारीका लागि पत्रकारहरुको फोन बारम्बार आइरहन्छ । तर, घटनाको आधिकारिकता कतैबाट पुष्टि हुँदैन । आधिकारिक सूचना र उर्दी जारी गर्नुपर्ने गृहका हामी कर्मचारीहरु नै अलमलमा पर्छौं ।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजधानी बाहिर भएकाले सैनिक हेलिकप्टर लिन गएको पुष्टि हुन्छ । बिहान १०–११ बजेतिर राजदरबारबाट अन्तिम सम्मान सम्बन्धीको व्यवस्थाका लागि राजा महेन्द्रका पालाको अभिलेख खोजी हुन्छ । तर, विडम्बना, मुद्रण विभागमा राजपत्र, अभिलेखालय, गोरखापत्र, गृह मन्त्रालयमा कतै त्यो अभिलेख भेटिन्न । अन्ततः मन्त्रालयका एक जना सुब्बाको घरको व्यक्तिगत संग्रहमा फेला परेको उक्त अभिलेख दरबार पठाइन्छ ।

केही समयमै राजपरिषद् स्थायी समितिका सभापतिबाट अस्पतालमा घाइते युवराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज र अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक परिषद्को अध्यक्ष घोषणा हुन्छ । तदनुसार, गृह मन्त्रालयबाट सम्बधित पदाधिकारीहरुलाई दिउँसो ३:३० बजे औपचारिक पोशाकमा शवयात्रामा उपस्थित हुन उर्दी जारी गरिन्छ ।

आम नेपालीलाई स्तब्ध र दुखित बनाएको १९ जेठको त्यस घटनाले अन्ततः दरबारको पारिवारिक संरचनाको शृंखला मात्र तोडेन, राजतन्त्रको स्थायित्वमा नै ठूलो प्रश्नचिन्ह लगाइदियो। २०६५ सालको पहिलो संविधानसभा बैठकले गणतन्त्र अनुमोदन गरेसँगै राजा ज्ञानेन्द्र पूर्व राजा बने र नारायणहिटीबाट बाहिरिए।

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी छाेड्नुअघि पत्रकार सम्मेलनमा । तस्वीर: आर्काइभ

सिंहदरबार बाहिर आमजनको शोक जुलुसलाई नियन्त्रण गर्न कठिन हुँदा ठाउँठाउँमा कफ्र्यू लगाउने बाध्यता पनि आइपर्छ । जताततै सुरक्षाकर्मी तैनाथ गरिए पनि सैनिक अस्पताल छाउनीबाट शुरु शवयात्रा जुलुसमा प्रधानमन्त्री र मन्त्रीहरु माथि स्वयम्भू क्षेत्रमा ढुङ्गा बर्सन्छ । मानिसहरु स्वस्फूर्त शवयात्रामा समेल हुन सडकमा ओइरिएका देखिन्छन् । जताततै रुवाबासी सुनिन्छ ।

आर्यघाटमा प्रिय राजारानी र राजपरिवारका सदस्यहरुको शव लहरै चितामा जलिरहेको दृश्यले हेर्दा देख्दा सबैको आँखाबाट आँसु बगिरहेको देखिन्छ ।

आम नेपालीलाई स्तब्ध र दुखित बनाएको १९ जेठको त्यस घटनाले अन्ततः दरबारको पारिवारिक संरचनाको शृंखला मात्र तोडेन, राजतन्त्रको स्थायित्वमा नै ठूलो प्रश्नचिन्ह लगाइदियो । २०६५ सालको पहिलो संविधानसभा बैठकले गणतन्त्र अनुमोदन गरेसँगै राजा ज्ञानेन्द्र पूर्व राजा बने र नारायणहिटीबाट बाहिरिए ।

(लेखक पूर्व सचिव हुन् ।)

 

प्रतिकृया दिनुहोस