अन्तर्वार्ता/विचार शुक्रबार, जेठ २३, २०७७

बन्दाबन्दीमा यसरी बनाउन सकिन्छ काठमाडौंलाई 'साइकल सिटी'

हिमालखबर

बन्दाबन्दीमा यसरी बनाउन सकिन्छ काठमाडौंलाई 'साइकल सिटी'
अहिलेको कारमुखी काठमाडौं (बायाँ) र समतामूलक साइकल काठमाडौं शहर । तस्वीरः सोमराज राणा

- सन्दर्भः विश्व वातावरण दिवस

गत नोभेम्बरमा ललितपुरका मेयरले पाटनबाट ४.७ किलोमिटर साइकल लेन निर्माण कार्य प्रारम्भ गराए । कुपण्डोलबाट पुल्चोक खण्डको सडकमा रेखा पेन्टिङ पनि गरेका थिए । त्यो रेखा अहिले नदेखिने भइसकेको छ र ठेकेदारले पनि काम पूरा गर्न अस्वीकार गरिदिएको छ ।

जमलस्थित प्याङ्क बाइक स्टोर अगाडि झुन्ड्याइएको साइनबोर्डमा लेखिएको छ– ‘१९२५ देखि’ । ‘प्याङ्क’ स्टोरको नाम हो । साइकल स्टोरका संस्थापकद्वयको नाम पञ्चनारायण र अष्टनारायणलाई संक्षेपमा ‘प्याङ्क’ बनाइएको छ ।

साइकल यात्राको इतिहास भने १९०३ भन्दा अघिसम्म पुग्छ । राणा परिवारका केही सदस्यले भारतबाट साइकल आयात गरेर आफ्नो दरबारभित्र चलाएर रमाइलो गर्दथे । यो प्रसंग अष्टनारायणका छोरा तीर्थनारायण मानन्धरले आफ्नो किताब ‘काठमाडौं देन एण्ड नाउ’ मा उल्लेख गरेका छन् ।

काठमाडौंको जमलस्थित नेपालको पहिलो साइकल पसल पञ्चनारायण अष्टनारायण ।

अघिल्लो शताब्दीमा साइकल नेपालका उच्च वर्गकाले फुर्सदमा चलाउने सामग्री र अभावको प्रतीक बन्यो । अहिले साइकललाई मोटरसाइकल र कारले विस्थापित गरिदिएको छ ।

भूषण तुलाधर

१९९१ देखि २०११ का बीच काठमाडौंमा ६.६ प्रतिशतले साइकलमा यात्रा गर्थे तर अहिले घटेर १.५ प्रतिशतमा झरेको छ ।  जबकि मोटरसाइकलमा यात्रा गर्नेहरू ९.३ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको छ । अहिले काठमाडौंमा ८ लाख भन्दा बढी मोटरसाइकल छन् र यो सम्पूर्ण सवारी साधनको लगभग ८० प्रतिशत हुन्छ ।

साइकल पूर्ण रूपले हराएको भने छैन र वास्तवमा साइकलका दिन फेरि आउन सक्छन् । काठमाडौंका धेरै युवाले अहिले पनि साइकल चलाइरहेका छन्, तर उनीहरूले दैनिक आवागमनका लागि भन्दा पनि मनोरञ्जनका लागि चलाएका हुन् । धेरैजसो मानिस ‘सडक सुरक्षित हुन्थ्यो भने खुशीले साइकलको पाइडल मार्नेथिएँ’ भन्छन् ।

शीतल हावापानी र औसतमा ५ किमिको यात्रा दूरीका कारण काठमाडौं उपत्यका साइकल यात्रा गर्ने एउटा आदर्श शहर हो । छुट्टै लेनको अभाव र दिनप्रतिदिन खस्कँदो वातावरणीय प्रदूषणका कारण साइकलको उपयोग कम भएको छ ।

३१ अक्टोबर २०११ मा कार्यालयको काम सकेर साइकलमा घर फर्किरहेका संंरक्षणविद् प्रह्लाद योञ्जनलाई रिङरोडमा एउटा ट्रकले किचेर मा¥यो । उनका समर्थकहरूले साइकल सुरक्षाको विषय उजागर गर्न सोही स्थान नजिकै एउटा भित्ते चित्र (वाल पेन्टिङ) बनाए ।

एक वर्षपछि रिङरोड विस्तार गर्ने बारेमा सडक विभाग र चिनियाँ ठेकेदारका बीच एउटा सम्झौता भयो । सो सम्झौतामा रिङरोडको दुवैतर्फ साइकल लेन निर्माण गरिने उल्लेख गरिएको थियो ।

साइकल शहरका अभियन्ता वातावरणविद् प्रल्हाद योञ्जनको सम्झनामा बल्खु सडकमा बनाइएको कला भत्काइदैं । अहिले चक्रपथको यो ठाउँमा आठ लेनको कारमुखी सडक बनाइएको छ । तस्वीरः भूषण तुलाधर

१३ जूनमा साइकल एक्टिभिस्टहरूले थसिखेल नजिकको रिङरोडमा नमूना साइकल लेन पनि बनाए । त्यहाँ दुवै छेउका रूखहरू नकाटी हरियालीसहित कसरी लेन तयार गर्न सकिन्छ भन्ने देखाइएको थियो ।

साइकल लेन कहिल्यै बनेन । आठ लेनको नयाँ राजमार्ग बनाउन प्रह्लाद योञ्जनको सम्मानमा बनाइएको भित्तेचित्र माथि बुल्डोजर लगाएर त्यहाँ गुड्ने कारहरूलाई चढाइयो । आज रिङरोड साइकल यात्री र पैदल यात्रुका लागि पहिलेभन्दा पनि अधिक खतरनाक भएको छ ।

गत साता, नेपाल साइकिलिङ सोसाइटीले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा सडक विभागका महानिर्देशकद्वारा चिनियाँले रिङरोड विस्तार गर्न बनाएको दोस्रो चरणको विस्तृत डिजाइनमा साइकल लेन समावेश भएको देख्न पाउने प्रतिबद्धता जनाएको छ । साइकल यात्री आशामुखी छन् तर आश्वस्त भने छैनन् किनभने यस्ता प्रतिबद्धता सामान्यतः कहिल्यै पूरा गरिंदैन ।

सन् २००९ मा विद्यार्थीको एउटा समूहले उपत्यकालाई साइकलमैत्री शहर बनाउन ‘काठमाण्डू साइकल सिटी २०२० क्याम्पेन’ अभियान शुरू गरे । यद्यपि ‘साइकल एक्टिभिजम्’ को केही प्रभाव परेको छ तर समग्रमा भने परिणाम निराशाजनक छ ।

सन् २०१७ को चुनावताका प्रचारका क्रममा मेयरले काठमाडौंलाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धतासहित एउटा फ्लायर प्रकाशन गरेका थिए । जितेपछि उनले शहरको नीति तथा कार्यक्रममा साइकल सिटीको मास्टर प्लान तयार गरिने र वागमती करिडोरमा साइकल लेन तयार गरिनेछ भनेर उल्लेख गरेका थिए । अहिलेसम्म न गुरुयोजना बनाइयो न त साइकल लेन नै ।

गत नोभेम्बरमा ललितपुरका मेयरले पाटनबाट ४.७ किलोमिटर साइकल लेन निर्माण कार्य प्रारम्भ गराए । कुपण्डोलबाट पुल्चोक खण्डको सडकमा रेखा पेन्टिङ पनि गरेका थिए । त्यो रेखा अहिले नदेखिने भइसकेको छ र ठेकेदारले पनि काम पूरा गर्न अस्वीकार गरिदिएको छ ।

काठमाडौं र ललितपुरको प्रारम्भिक कार्यले साइकल एक्टिभिस्टहरूलाई यस वर्ष काठमाडौंमा विश्व साइकल फोरम आयोजना गर्न प्रोत्साहित गरेको थियो । कोभिड–१९ का कारण त्यस्ता सबै कार्यक्रम रद्द गरिएको छ ।

लकडाउनले साइकल यात्रीलाई सुखद् समाचार दिनसक्छ किनभने विश्वभरिका शहरहरूले साइकललाई शहरी गतिशीलताको सुरक्षित मोडको रूपमा हेरिरहेका छन् ।

काठमाडौं साइकल सिटी अभियान २०२० का क्रममा बनाइएको नमूना साइकल ।

साइकलले सडकमा न्यूनतम स्थान ओगट्दै शारीरिक दूरी कायम गर्न बाध्य बनाउँछ । शारीरिक व्यायाम र स्वच्छ हावाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि मद्दत गर्छ । संयुक्त राष्ट्रसंघले पनि साइकललाई कोभिड–१९ पछि हरियाली फर्काउने चालकका रूपमा हेरिरहेको छ । काठमाडौंंले पनि फड्को मार्ने समय आएको छ ।

साइकल एक्टिभिस्टहरूले एक पटक फेरि साइकल अनुकूल शहरको लागि आवाज उठाइरहेका छन् । नेपाल साइकल सोसाइटीका रत्न श्रेष्ठ भन्छन्, “अहिले नभए कहिल्यै हुँदैन ।”

उनी अतीतका व्यवहारबाट निराश छन्, तर अब काठमाडौंलाई वास्तवमै साइकल सिटी बनाउने समय यही नै हो भन्नेमा विश्वास पनि गर्छन् ।

(तुलाधर साझा यातायातका कार्यकारी निर्देशक र वातावरणविद् हुन् ।)

 

प्रतिकृया दिनुहोस