टिप्पणी विहीबार, जेठ २२, २०७७

'लकडाउन सिन्ड्रोम'- बढ्न थाले हृदयघात, मस्तिष्कघात र आत्महत्या

हिमालखबर

'लकडाउन सिन्ड्रोम'-  बढ्न थाले हृदयघात, मस्तिष्कघात र आत्महत्या
स्केच: भानु भट्टराई

'लकडाउन सिन्ड्रोम'कै कारण पछिल्लाे समय हृदयघात, मस्तिष्कघात र आत्महत्याबाट मानिसहरू मर्ने क्रम बढ्दै गइरहेको देखिन्छ।

डा. प्रकाशराज रेग्मी

हिजोआज सबैको ध्यान कोरोना महामारीतिर केन्द्रित छ । तन, मन र धन सबै त्यतैतिर छ । यसैबीच उत्पन्न सामाजिक, आर्थिक समस्या बाहेक अन्य समस्याहरू बारे धेरैले थाहा नै पाएका छैनन्। पछिल्लो समय बढिरहेको शारीरिक र मानसिक समस्या बारेमा पनि कतिपय मानिसहरूसँग जानकारी छैन ।

एकातर्फ कोरोना महामारी छ भने अर्कोतर्फ नयाँ महामारी समाजमा देखिन थालेको छ । यो ‘नयाँ महामारी’ ले कोरोनाले भन्दा धेरै गुणा बढी मानिसलाई पीडित बनाएको छ । उनीहरूको ज्यान पनि लिएको छ । यो नयाँ महामारीको नाम हो ‘लकडाउन सिन्ड्रोम’ ।

अहिले एक तिहाइ जनसंख्यालाई कुनै न कुनै रूपमा लकडाउन सिन्ड्रोमले छोएको देखिन्छ । यो सिन्ड्रोमकै कारण हृदयघात, मस्तिष्कघात र आत्महत्याबाट मानिसहरू मर्ने क्रम बढ्दै गइरहेको देखिन्छ ।

यो ‘लकडाउन सिन्ड्रोम’ के हो ? यसका लक्षणहरू के के हुन् ? यो रोग लागेको कसरी थाहा पाउने ? यो आलेख यिनै विषयमा केन्द्रित छ ।

हामी कोरोनाको संक्रमणबाट बच्न र समुदायमा यो रोग नफैलियोस् भनेर सरकारको आह्वानमा दुई महीना भन्दा बढी समयदेखि घरभित्र एकान्तवास अर्थात् ‘लकडाउन’ मा छौं । यो बाध्यतावश आएको एकान्तवासको परिस्थितिले जन्माएको रोग नै ‘लकडाउन सिन्ड्रोम’ हो ।

रोगका लक्षण

यो रोगले छोएपछि मानिसमा निम्न सातवटा महत्वपूर्ण लक्षणहरू देखिन सक्छन्ः

पहिलो, छातीको बीचभागमा ढुङ्गाले थिचेको जस्तो गह्रुङ्गो हुनु सबैभन्दा महत्वपूर्ण लक्षण हो । यो छातीको दुखाइ मुटुरोग (विशेषगरी एञ्जाइना र हृदयघात) को दुखाइ भन्दा फरक छ । मुटुको दुखाइ परिश्रम गर्दा बढ्छ र आराम लिंदा घट्छ तर यो ‘लकडाउन सिन्ड्रोम’ को दुखाइ आराम लिंदा बढ्छ । परिश्रम र हिंडडुल गर्दा घट्छ । रातमा निदाएपछि हराउँछ, बिहान जागेपछि फेरि दुख्न थाल्छ ।

दोस्रो लक्षण हो– मुटुको ढुकढुकी बढ्ने । सामान्यतया निरोगी मानिसले मुटु धड्केको थाहा पाउँदैन । मुटु अनवरत रूपमा २४सै घण्टा धड्किरहँदा पनि स्वस्थ मानिसले आरामको अवस्थामा यो थाहा पाउँदैन । धेरै परिश्रम गर्दा, दौडिंदा मात्र मुटु छिटो–छिटो धड्किएको अनुभव हुन्छ । यो लकडाउन सिन्ड्रोममा आराम गरेको र सुतेको अवस्थामा पनि छातीबाट मुटु बाहिरै निस्केला झैं गरी ढुक्ढुक् हुन्छ र बिरामीले अप्ठ्यारो महसूस गर्छ । सुत्दाखेरी पनि तकियाबाट कानमा मुटु छिटो–छिटो धड्किएको आवाज आउँछ ।

तेस्रो, खुला आकाशमुनि बस्दा पनि सास नपुगेको जस्तो भएर निसास्सिन सक्छ । कोठाभित्र हुँदा सास नपुगेर झ्याल, ढोका खोल्न मन लाग्ने हुन्छ । लामो लामो सास भित्र तानिरहने गर्छन् । खोकी लाग्दैन तर दम बढेको जस्तो भइराख्छ ।

चौथो, अत्यधिक थकानको अनुभव भइराख्छ । बिहान उठेदेखि नै जीउमा आलस्यता रहिरहन्छ । कति पनि स्फूर्ति र जाँगर नआउने हुन्छ ।

पाँचौं, अनायास विना कारण मन डराउने गर्छ । बेला बेलामा झसङ्ग भएर तर्सिने र जीउ काम्ने गर्छ ।

छैटौं, रक्तचाप बढ्ने गर्छ । औषधि सेवन गरिरहेका रक्तचाप पीडितहरूको रक्तचाप पनि नियन्त्रण भन्दा बाहिर जाने हुन्छ ।

सातौं, निद्रा बिग्रिन्छ । निद्रा कम लाग्ने, मध्यरातमा जाग्ने अथवा बिहान चाँडै निद्रा टुट्ने गर्छ । रातमा निद्रा बिग्रिएपछि अर्को दिन दिनभरि हाई आइराख्ने हुन्छ ।

यी माथि वर्णन गरिएका सातवटा लक्षणहरूमध्ये कसैलाई चार वा सोभन्दा बढी लक्षणहरू देखिएको छ भने उसलाई ‘लकडाउन सिन्ड्रोम’ ले छोएको पक्का गर्न सकिन्छ । जति धेरै वटा लक्षण देखिए त्यति नै यो रोग गम्भीर अवस्थामा छ भनेर बुझ्नुपर्दछ ।

‘लकडाउन सिन्ड्रोम’ यी सातवटा लक्षणहरू मिश्रित शारीरिक र मानसिक विकृतिको अवस्था हो । यसबाट ग्रसित मानिसहरूलाई हृदयघात र मस्तिष्कघात हुने र यिनै जटिलताबाट मृत्यु हुने खतरा रहन्छ ।

यसका अतिरिक्त यो सिन्ड्रोमको प्रभाव गहिरिंदै गयो भने अवसाद (डिप्रेशन) उत्पन्न भई मानिसले आत्महत्या गर्ने खतरा रहन्छ । हामीले ‘लकडाउन सिन्ड्रोम’ का कारण भएका हृदयघात, मस्तिष्कघात र आत्महत्याका घटनाहरू देखेका छौं, सुनेका छौं । यो बढ्ने क्रममा छ ।

रोग लाग्ने कारण

‘लकडाउन सिन्ड्रोम’ उत्पन्न हुनुका पछाडि चारवटा महत्वपूर्ण कारणहरू छन् । ती हुन्ः

  • नियमित कामकाज, व्यवसायमा बाधा अड्चन र रोक लाग्नु । दैनिक गर्दै आएको काम लामो समयसम्म रोकिंदा मानिसमा नकारात्मक मानसिक असर पर्छ ।
  • शारीरिक गतिविधि कम हुनु ।

  • कोरोना महामारीबाट सिर्जित समस्या, यसबाट परेको प्रभाव सम्बद्ध जानकारी सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत लिइराख्नु । यस्ता समाचारले मन र मस्तिष्कमा नकारात्मक असर पार्छन् ।

  • शारीरिक, सामाजिक, आर्थिक असुरक्षाको अनुभव गर्नु । कोरोना लागेर मरिएला, व्यापार व्यवसाय डुब्ला, पढाइ बिग्रिएला, रोजगारी गुम्ला भन्ने सोचाइले ठूलो असुरक्षाको भावना जन्माउँछ। यसकारण रोग लाग्छ ।

कसरी बच्ने ?

यो ‘नयाँ महामारी’ बाट बच्न त्यत्ति नै आवश्यक छ जति कोरोनाको संक्रमणबाट बच्न हामी प्रयत्नशील छौं । ‘लकडाउन सिन्ड्रोम’ को जोखिमबाट बच्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः

  • आफूले नियमित रूपमा गरिआएको काम घरबाटै सञ्चालन गर्ने प्रयास गर्नुपर्छ । जे–जति सकिन्छ त्यति गर्नुपर्छ । यसमै चित्त बुझाउनुपर्छ । लकडाउन खुलेपछि काम, व्यापार, व्यवसाय आदि नियमित हुन्छन् र जीवन पुनः सहज हुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्छ । आफ्नो नियमित काम पुनः सञ्चालन गर्न मानसिक रूपले तयार रहनुपर्छ ।

  • घरभित्र विना काम बस्नुहुँदैन, केही न केही गरी राख्नुपर्छ । अर्थात् आफूलाई व्यस्त बनाइराख्नुपर्छ । घरको काम, भान्छाको काम, बगैंचाको काम आदि गरेर त्यसैमा रमाउन सकिन्छ । नियमित रूपमा शारीरिक व्यायाम, योग, प्राणायाम आदि गर्नुपर्छ ।

  • टेलिभिजनका नकारात्मक समाचार धेरै हेरिरहनुहुँदैन । जतिखेर पनि मोबाइलमा घोत्लिइरहनु पनि हुँदैन ।

  • आफ्नो रुचिको पुस्तक पढ्ने, संगीत सुन्ने, सिनेमा हेर्ने, खेल खेल्ने आदि गर्नुपर्छ ।

  • परिवारका सदस्यहरूसँग रमाइला कुराकानीहरू गरेर एकअर्कासँग माया, प्रेम, सद्भावना बाँड्नुपर्छ ।

  • निद्रा पुग्ने गरी सुत्नुपर्छ । सुत्नु अगाडि खुट्टा धुने र क्रिम अथवा तेलले खुट्टा मालिस गर्नुपर्छ । सुत्नुभन्दा एक घण्टा अगाडिदेखि टेलिभिजन, मोबाइल, कम्प्युटर लगायतका विद्युतीय उपकरण आदि बन्द गर्नुपर्छ ।

  • धेरै नै कडा समस्या छ भने डाक्टरको परामर्श लिई औषधि सेवन गर्नुपर्छ ।

‘लकडाउन’ नयाँ महामारीको कारण नबनोस् । यसबाट जोगिन सचेत हौं र समयमै आवश्यक कदम चालौं ।

प्रतिकृया दिनुहोस