काठमाडौं उपत्यका भित्रिन कोरोना परीक्षणको रिपोर्ट चाहिने
कोरोनाभाइरस संक्रमणदर बढ्दै जाँदा काठमाडौं उपत्यका प्रवेशमा सरकारले कडाइ गर्न थालेको छ। गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजन बाहेक सिल गर्ने निर्णय गरेको छ। योसँगै गृहले कोरोनाभाइरस परीक्षण गरेर मात्र आवतजावत गर्न दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ।
बिहीबार मन्त्रालयले उपत्यकाभित्रका नगर प्रमुखहरुसँग बैठक गरेर सबै नाका पूर्णरुपमा सिल गर्ने निर्णय गरी आवागमनमा कडाइ गर्न निर्देशन दिएको हो।
गृहका प्रवक्ता केदारनाथ शर्माले हिमालखबरसँग कुरा गर्दै उपत्यका भित्रिने नाममा सवारी पासको दुरुपयोग हुन थालेकाले जिल्ला प्रशासन कार्यालय र उपत्यकाभित्रका नगरहरुलाई यस्तो निर्देशन दिइएको बताए। उपत्यकाभित्र अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने व्यक्तिले प्रवेश गर्नुअघि नै उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्टसहित प्रवेश अनुमति माग्नुपर्ने व्यवस्था गरिएको छ।
"अनिवार्य रुपमा सबैको कोरोना परीक्षण सम्भव नभएकाले सम्भव भएसम्म परीक्षण गरेर प्रवेश गर्न दिन भनिएको छ", प्रवक्ता शर्माले भने, "आरडीटी किटबाट मात्र नभई पीसीआर परीक्षणको रिपोर्टका आधारमा भित्र्याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।"
सम्बन्धित समाचार- राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु सिल गरिने
उपत्यकाभित्रका स्थानीय तहलाई आरडीटी परीक्षण तथा काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयलाई आरडीटी वा पीसीआर परीक्षणको रिपोर्ट पेश गर्न पत्र नै लेखेर निर्देशन दिइएको छ।
प्रवक्ता शर्माले एम्बुलेन्समा आउने बिरामी र किरिया बस्ने जस्ता आपतकालीन कामका लागि भने कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको बताए। “सवारी पासको दुरुपयोग नहोस् र नागरिकको सुरक्षा होस् भनेर यो निर्देशन दिइएको हो”, उनले भने।
उपत्यका भित्रिनेका लागि अहिलेसम्म जिल्ला प्रशासन कार्यालयहरुले पास जारी गर्दै आएका छन्।