राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु सिल गरिने
राजधानी उपत्यका प्रवेश गर्ने सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सिल गरिने भएको छ । राजधानी उपत्यकाका नगर प्रमुखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ । उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्ने निर्णयको परिपत्र बिहीबार नै जारी भइसकेको छ।
बढी जनघनत्व रहेको उपत्यका उच्च जोखिम देखिएकाले अत्यावश्यक काम बाहेक प्रवेश गर्न रोक लगाइएको छ । लुकिछिपी प्रवेश गर्ने कार्य नरोकिएकाले तत्काल कडाइ गर्न परिपत्र गरिएको छ।
काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थलहरुमा क्वारेन्टिन बस्ने व्यक्तिहरुको लगत संकलन र अन्य व्यवस्थापन अगाडि बढाउने निर्णय गरेको छ।
आरडीटी परीक्षण गरी सोको रिपोर्ट आएपछि मात्रै उपत्यका प्रवेश गर्न दिइने भएको छ । आरडीटी परीक्षण भने स्वयम् व्यक्तिले नै बेहोर्नुपर्ने भएको छ।
बैठकले उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरुको प्रवेश विन्दुमाा आइपुग्न पूर्व नै सुरक्षा निकायले विशेष निगरानीमा रोक्ने निर्णय गरेको छ । यस्तै, उपत्यकाका स्थानीय तहहरुले स्थानीय प्रशासनमा लुकिछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी, लगत संकलन आवश्यक कार्बाहीको प्रक्रिया शुरु गरिने भएको छ ।
स्थानीय क्लबहरुले गरिरहेको सामुदायिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाइएकाले उक्त कार्य स्थानीय तहसँग समन्वय नभए रोक्ने समेत निर्णय भएको छ ।