कला/साहित्य बुधबार, वैशाख २४, २०७७

फिल्म क्षेत्रका मजदूर र कलाकारलाई सलमान खानद्वारा आर्थिक सहयोग

हिमालखबर

फिल्म क्षेत्रका मजदूर र कलाकारलाई सलमान खानद्वारा आर्थिक सहयोग

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका मजदूर र कलाकारलाई बलिउड अभिनेता सलमान खानले आर्थिक सहयोग गरेका छन्।

सलमानले महामारीको रोकथामका लागि भारत सरकारले गरेको लकडाउन (बन्दाबन्दी) का कारण गुजारा चलाउन समस्या भोगिरहेकाहरुलाई निरन्तर सहयोग गर्दै आएका छन्। पहिले उनले फिल्म फेडरेशनमा आबद्ध २५ हजार ज्यालादारी मजदूरलाई आर्थिक सहयोग गरेका थिए। उनले ती मजदूरलाई उनीहरुको ब्याङ्क खातामा रकम हालिदिएका हुन्। तर, कति-कति रकम सहयोग गरे भन्ने खुलाइएको छैन।

यसपछि सलमानले फिल्म फेडरेशनमै जोडिएका अन्य ७ हजार ज्यालादारी मजदूरलाई रकम सहयोग गरेको बलिउड हङ्गामाले जनाएको छ। यस्तै, उनले बन्दाबन्दीका कारण बेरोजगार बनेका टीभी र फिल्मका ९० कलाकारलाई पनि सहयोग गरेका छन्।

सलमानले अल इन्डिया स्पेशल आर्टिस्ट्स एसोसिएशन (एआईएसएए) अन्तर्गतका ४५ कलाकारलाई ब्याङ्क खातामा भारु तीन-तीन हजार सहयोग गरेको जनाइएको छ। एआईएसएएका एक सदस्यले सलमानले आगामी दिनमा पनि सहयोग गर्ने वाचा गरेको बताएका छन्।

यस्तै, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलाइज (एफडब्ल्यूआईसीई) का प्रमुख बीएन तिवारीका अनुसार, संस्थामा आबद्ध ४५ कलाकारलाई सलमानले आर्थिक सहयोग गरेका छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस