कला/साहित्य शनिबार, वैशाख २०, २०७७

राज कपूर र ऋषि कपूरसँगको त्यो भेट

हिमालखबर

राज कपूर र ऋषि कपूरसँगको  त्यो भेट
त्रिपुरेश्वरको ब्लुस्टार होटलमा सन् १९७३ मा राज कपूर (बीचमा), सबैभन्दा दायाँ गरीबनाथ सर्राफ । तस्वीरहरु सौजन्यः मोहन सर्राफ

विश्वज्योति हलका सञ्चालक मोहन सर्राफसँग आजभन्दा चारदशक अघिका भिन्न समयमा बुबा राज कपूर र छोरा ऋषि कपूरसँग भेटेको धमिलो सम्झना छ ।

आजभन्दा ४७ वर्षअघि सन् १९७३ मा राज कपूर नेपाल आएका थिए । उद्देश्य थियो, फिल्म ‘बबी’को वितरण र प्रबद्र्धन । बबीमा उनकै छोरा ऋषि कपूरलाई आफ्नै निर्देशन र निर्माणमा उनले डेब्यू गराएका थिए । नायिका थिइन्, डिम्पल कपाडिया । १६ वर्षीया डिम्पलको पनि यो पहिलो फिल्म नै थियो ।

त्यतिबेला राज कपूरकै नाममा सन् १९४८ मा खुलेको आरके फिल्मले नै आफ्नो फिल्मको वितरण हेथ्र्यो । यो फिल्म भारत र नेपालमा एउटै समयमा लगाउने हिसाबले उनी नेपाल आएका थिए।

मोहन सर्राफ । तस्वीर: पहिलाेपाेष्ट

नेपाल आएकै क्रममा उनको भेट काठमाडौंका हल सञ्चालकहरुसँग भयो । त्रिपुरेश्वरको ब्लुस्टार होटलमा । त्यो बेला मेरो बुबा (गरिबनाथ सर्राफ) काठमाडौंको विश्वज्योति सिनेमा भवन प्रालि चलाउनुहुन्थ्यो । बुबा र म सँगै कार्यक्रममा पुगेका थियौं ।

भीडमा राज कपूरको आँखा मेरा बुबामा गयो । धोती लगाएका बुबालाई मजाले हेरे । अनि नजिक आएर ‘नेपालमा पनि भारतमा जस्तै धोती लगाइन्छ ?’ भनी प्रश्न गरे। बुबाले हाँसेर आफ्नो जन्मथलो नै भारत भएको बताएपछि उहाँहरु बीच लामै कुराकानी भयो ।

सन् १९५६ मा मेरो बुबा बिहारको मुजफ्फरपुरबाट काठमाडौं आउनुभएको थियो । उता गहनाको व्यापार थियो, यता आएर चलचित्र हल सञ्चालनको काम थाल्नुभएको थियो ।

त्यसबेला हरेक फिल्म प्रदर्शनपूर्व फिल्मको रिल लिएरै पशुपतिनाथको दर्शन गर्ने र आशीर्वाद लिने चलन थियो । राज कपूर पनि पशुपतिनाथ गएका थिए ।

फिरोज खान, जितेन्द्रजस्ता थुप्रै त्यो बेलाका बलिउडका अभिनेता निर्माण कम्पनीसँग आफै नेपाल आउने र पशुपतिनाथ जाने गर्थे । त्यस क्रममा उनीहरुले पनि हाम्रो हलमा भ्रमण गरे । हलको अवस्था बुझ्न पनि उनीहरुसँग बुबाको पटकपटक भेट हुन्थ्यो । कहिलेकाहीँ भने मेरो पनि देखादेख हुन्थ्यो ।

बुबा फिल्म वितरणको कामका लागि पटकपटक बम्बई गइरहनुहुन्थ्यो । यसक्रममा उहाँले धेरै निर्माता, निर्देशक र कलाकार भेटेको बताउनुहुन्थ्यो।

बुबा राज कपूरसँगै छोरा ऋषि कपूरसँग पनि हाम्रो सम्झना जोडिएको छ ।

ऋषिजी ‘खोज’ छायांकनका क्रममा सन् १९७९ मा नेपाल आएका थिए, जतिबेला राज कपूरलाई भने दमको बिरामीले छुन थालिसकेको थियो ।

मेरो बुबाले राज कपूरको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथको आशीर्वाद स्वरुप ऋषिजी मार्फत रुद्राक्ष पठाउने सोंच बनाउनुभयो ।

त्रिपुरेश्वरको ब्लुस्टार होटलमा सन् १९७३ मा राज कपूर (बीचमा), सबैभन्दा दायाँ गरीबनाथ सर्राफ । तस्वीरहरु सौजन्यः मोहन सर्राफ

बुबा र म ऋषिजी बसेको होटल अन्नपूर्ण पुग्यौं । र, आफ्नो परिचय दिएर उनका बुबासँगको भेटबारे बतायौं ।

ऋषिजी अत्यन्त खुला मनका हँसमुख मानिस रहेछन् । उनले बडो आदरसाथ हामीसँग कुरा गरे । र, हाम्रो शुभेच्छासहितको रुद्राक्ष र प्रसाद बुबासम्म पुर्‍याउने वचन दिए।

भारतीय सिनेमाका सबैभन्दा महान शो म्यान मानिने राज कपूरको सन् १९८८ मा निधन भयो । उनको निधनमा बुबा निकै दुःखी हुनुभएको थियो । किनकि, कपूर अभिनित, निर्देशित चलचित्रहरु हेर्दै, हलमा चलाउँदै र संयोगले उनीसँग प्रत्यक्ष भेट भएका कारण पनि बुबामा उनीप्रति आत्मीयता थियो ।

अहिले उनै ऋषिको पनि निधनको समाचार सुनिरहेको छु । म स्वयं युवावस्थामा भेटेका र मभन्दा केही वर्ष कान्छा उनको निधनमा म स्तब्ध भएको छु ।

बुबाजस्तै म पनि सिनेमा हल सञ्चालन, फिल्म वितरणको व्यवसायमै लागें । सबैजसो ऋषिजीका फिल्म पनि चलाएँ । फेरि यतिबेला त्यो भेटघाटको पनि याद आइरहेको छ ।

(बुबा गरिबनाथपछि विश्वज्योति सिनेमाका सञ्चालक सर्राफले ‘चिनो’, ‘राँको’, ‘बुहारी’जस्ता नेपाली चलचित्र पनि निर्माण गरे । चलचित्र विकास बोर्डमा बसेर पनि काम गरे। पुनर्निर्माणका कारण बीचमा केही समय बन्द विश्वज्योति हल पुनःसञ्चालनको तयारीमा जुटेका सर्राफसँगको कुराकानीमा आधारित सम्झना।)

प्रतिकृया दिनुहोस