समाचार सोमबार, वैशाख १५, २०७७

नेकपा घर्षणले तरंगित प्रदेश ५ : नेताहरू विभाजित, सरकार परिवर्तन भने गर्न नहुने पक्षमा

मुकेश पोखरेल

नेकपा घर्षणले तरंगित प्रदेश ५ : नेताहरू विभाजित, सरकार परिवर्तन भने गर्न नहुने पक्षमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय नेतृत्वमा सरकार तथा पार्टी सञ्चालनका विषयमा देखिएको विवादको प्रभाव प्रदेश तहसम्म पुगेको छ।

प्रदेश तथा जिल्ला तहको नेतृत्वमा रहेका नेकपाका नेताहरू पनि केन्द्रीय नेतृत्व जस्तै विभाजित देखिएका छन्। यद्यपि सरकार परिवर्तनसम्म गर्ने गरी सचिवालयका नेताहरूले देखाएको सक्रियताप्रति भने प्रदेशका नेताहरूको असन्तुष्टि छ।

पछिल्लो समय राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको अध्यादेश प्रकरण र पार्टी विभाजनको खेलले पार्टीसम्ममा असर परेको भन्दै नेकपाभित्र घर्षण बढेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल निकटका नेताहरूको सक्रियता र भेटघाट तीव्र भएको छ।

पछिल्लो घटनाक्रमका कारण सत्ताबाट ओलीको बहिर्गमनदेखि पार्टी फुट्नेसम्मका अड्कलबाजी भइरहँदा प्रदेश–५ का नेकपा नेताहरू अहिले सरकार हेरफेरमा लाग्न नहुने बताउँछन्। अध्यक्ष ओली इतर समूहका नेताहरू पनि अहिले सरकार परिवर्तन भए त्यसले पार्टीलाई विभाजनमा पुर्‍याउने भएकाले त्यता नलाग्न नेताहरूलाई खबरदारी गर्छन्।

नेता नेपाल निकट प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ अध्यादेश सम्बन्धी सरकारको निर्णय अपरिपक्व भएको टिप्पणी गर्छन्। उनी प्रधानमन्त्री ओलीले आफ्ना गल्ती सच्याएर पार्टी निर्णय र पद्धति अनुसार देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउँछन्। “सरकार बनाउने खेलले पार्टीलाई कमजोर बनाउँछ, यसैले अहिले आन्तरिक एकता बलियो बनाउनुपर्ने खाँचो छ”, श्रेष्ठ भन्छन्।

केन्द्रीय राजनीतिमा भइरहेको रस्साकस्सीमा पूर्व माओवादी पंक्ति भने मौन देखिन्छ। नेकपा केन्द्रीय सदस्य समेत रहेका प्रदेश–५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी पार्टीभित्रको विवादबारे आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउँछन्। अर्का नेता एवम् प्रदेश सांसद माधव शर्मा पार्टी विवादबारे बोल्दै नबोल्ने बताउँछन्। केसी र शर्मा दुवै पूर्व माओवादी पृष्ठभूमिका हुन्।

बढेको असन्तुष्टि

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सरकार तथा पार्टी सञ्चालन विधिप्रति प्रदेश तहमा पनि असन्तुष्टि देखिन्छ। खासगरी पार्टी कमिटिको निर्देशन नमानी सरकारले मनोमानी किसिमले काम गरेको बुझाइ प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तामा छ।

नेकपाका दाङ इन्चार्ज जीवन गौतम पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने बताउँछन्। “पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, विधि र प्रक्रियाबाट पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्छ”, उनी भन्छन् “विधि र प्रक्रियाबारे पार्टीले ठूलो बहसको माग गरेको छ।”

प्रदेश–५ को राजधानी बुटवलबाट निर्वाचित एवम् नेकपा महासचिव समेत रहेका विष्णु पौडेलले अध्यक्ष ओलीको साथ छोडिसकेको पछिल्लो घटनाक्रमले नै देखाएका छन्। तर, विगतमा पौडेलको नजिक मानिएका प्रदेश–५ का पूर्व एमाले पंक्तिका नेताहरु भने सरकार विरुद्ध भइरहेका चलखेललाई बेमौसमको बाजाको संज्ञा दिंदै नेताहरु कुर्सीको मोहमा लागेको बताउँछन्।

नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश–५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी अहिले देखिएको चलखेल बाहिरी तत्वबाट खेलिएको खेल भएको बताउँछन्। “केही नेताहरुको स्वार्थमा खेलिएको खेल भविष्यमा तुहिएर जानेछ, कृत्रिम गठबन्धन गर्नेहरु अन्ततः पछुताउनेछन्”, उनी भन्छन्।

पौडेल निकट मानिने अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष एवम् प्रदेश सांसद चेतनारायण आचार्य नेपाली कांग्रेसको पुरानो प्रवृत्ति अहिले नेकपामा दोहोरिएको देख्छन्। “कुर्सीको मोहले जनादेश विरुद्ध खेलिएको खेलले कम्युनिष्ट आन्दोलन उठ्न नसक्ने गरी थला पर्न सक्छ, यसैले विवेकले काम गर्नुपर्ने देखिन्छ”, आचार्य भन्छन्।

प्रतिकृया दिनुहोस