थप समाचार शनिबार, चैत २९, २०७६

उत्तरी हुम्लामा खाद्य संकट

रासस

दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ ।

कोभिड–१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरुपमा खाद्यान्न लगायत अन्य काममा पनि संकट चुलिँदै गएको छ । उक्त पालिकाको वडा ४ चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य संकट भएको छ ।

गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षौँदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको अर्का बासिन्दा टसि लामाले बताए । उनले भने, “भोट माग्न मात्रै आउँछन्, हामीहरुलाई भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन् ।”

प्रतिकृया दिनुहोस