ब्लग शुक्रबार, चैत २१, २०७६

२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !

हिमालखबर

२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !

- बलराम यादव

मेरो जन्म १९८२ सालमा रुपन्देहीको हालको गैडहवा गाउँपालिका–३ मा भएको हो। मेरो गाउँबाट बुटवल ६० किलोमिटर र भैरहवा ४० किलोमिटर टाढा छ। उति वेला साधन भनेको गोरुगाडा मात्र थियो। एउटा गाउँमा के भएको छ, अर्को गाउँका मानिसले थाहा पाउन गाह्रो थियो। बुटवल र भैरहवाबारे नै मैले धेरै पछाडि मात्र थाहा पाएको हुँ।

मेरो भाग्य नै भन्नुपर्छ, नेपालका विभिन्न शासन व्यवस्था र सामाजिक परिवर्तन देख्ने र भोग्ने मौका पाएँ। राणा शासन भोगें, २००७ सालको प्रजातन्त्र, पञ्चायती व्यवस्था, २०४६ सालको राजनीतिक परिवर्तन हेर्दै अहिलेको गणतान्त्रिक व्यवस्थाको साक्षी बनिरहेको छु।

अहिले महामारी आयो भन्छन्, मानिसहरु। सबैतिर त्रास छाएको छ। बाहिर पढ्न गएका मेरा नातिहरू पनि घर फर्केका छन्। मैले यस्ता महामारी र त्रासका धेरै अनुभव भोगेको छु। महामारीकै कारण मैले परिवारका सदस्यहरू गुमाएको छु।

१९९० सालतिर पनि हाम्रो गाउँमा महामारीको त्रास थियो। त्यतिवेला हाम्रो गाउँमा देखिए जस्तो महामारी देशका अन्य ठाउँमा पनि फैलिएको थियो कि थिएन, मलाई थाहा छैन। किनभने अहिले जस्तो समाचार सुन्ने माध्यम थिएन। मलाई १९९० देखि नै गाउँमा महामारीले मानिसहरू मरेको सम्झना छ।

१९९० देखि २००५ सालसम्म हरेक गर्मी महीनामा मानिस भटाभट मरेका थिए। त्यतिवेला मानिस मर्नुको कारण देउता रिसाएको ठान्यौं, हामीले। देउतालाई मनाउन गाउँमा पूजा पनि गरेका थियौं। तर, मान्छे मर्नुको कारण त झाडापखाला र कालाजार भन्ने रोग रहेछ, यो कुरा अलि पछि मात्र थाहा भयो।

त्यतिवेला झाडाबान्ताले र बेस्सरी ज्वरो आएर पनि गाउँमा मान्छे मरेका थिए।

२००४ सालतिरको कुरा हो, गाउँमा एकै दिन ८ जना मरेका थिए। त्यही वर्ष मेरो हजुरआमा र हजुरबुवा पनि बित्नुभएको थियो। हजुरआमालाई झाडाबान्ता भएको सम्झना छ ।

हजुरबुवा चाहिं ज्वरो आएर बित्नुभयो। त्यसरी मानिसहरू भटाभट मर्दा गाउँमा मलामी पाउन पनि गाह्रो हुन्थ्यो। मलामी जाँदा पनि मरिन्छ भनेर सबै डराउँथे।

२००४ सालतिरको कुरा हो, गाउँमा एकै दिन ८ जना मरेका थिए। त्यही वर्ष मेरो हजुरआमा र हजुरबुवा पनि बित्नुभएको थियो। हजुरआमालाई झाडाबान्ता भएको सम्झना छ । हजुरबुवा चाहिं ज्वरो आएर बित्नुभयो। त्यसरी मानिसहरू भटाभट मर्दा गाउँमा मलामी पाउन पनि गाह्रो हुन्थ्यो। मलामी जाँदा पनि मरिन्छ भनेर सबै डराउँथे।

अहिले जस्तो औषधि उपचारको व्यवस्था थिएन। त्यसमा पनि हाम्रो मधेशका गाउँहरु सबै किसिमका सेवा–सुविधाका हिसाबले पछाडि थिए। अहिले पनि राम्रो बाटोघाटो र स्वास्थ्य चौकी छैन।

हामीलाई डाक्टरी उपचार हुन्छ भन्ने थाहा नै थिएन। बिरामी पर्दा झारफुक गरिन्थ्यो र गाउँघरमा पाइने जडिबुटी खुवाइन्थ्यो । कहिले निको हुन्थ्यो, कहिले मानिस मर्थे। २००७/८ सालपछि भने विस्तारै सुधार आयो।

मैले २०१८ सालदेखि २०३६ सालसम्म गैडहवा गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरें। सानै उमेरदेखि देखेको मेरो गाउँको दयनीय अवस्थाका कारण स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखें। तर, त्यतिवेला अहिले जस्तो बजेटको व्यवस्था थिएन।

गाउँमा खोप लगाउने कार्यक्रम आउँदा गाउँलेलाई धेरैभन्दा धेरै सहभागी गराउन जोड दिएँ। राजा महेन्द्र र वीरेन्द्रको पालामा राम्रो काम गरेवापत विभूषण पनि पाएको थिएँ।

अहिले विभिन्न देशमा महामारीका कारण मानिस मरिरहेको समाचार रेडियोबाट सुन्छु। यसले मेरो बाल्यकालमा गाउँघरमा भएका घटनाको सम्झना आइरहेको छ।

त्यतिवेला औषधि उपचार नहुँदा मान्छे मर्नु त स्वाभाविक थियो। अहिले त अस्पताल छन्, डाक्टर छन्। धेरै विकास भएको छ। तर, पनि मान्छे रोगका कारण मरिरहेका छन्। किन यस्तो भयो भनेर अचम्म लागिरहेको छ।

(मुकेश पोखरेलसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस