भर्चुअल नाट्य उत्सव एक साता लम्ब्याइयो
![भर्चुअल नाट्य उत्सव एक साता लम्ब्याइयो](https://www.himalkhabar.com/uploads/posts/1585816706Dayalu-Rukh.jpg)
बन्दाबन्दीको समयमा रङ्गमञ्चका दर्शकलाई घरैमा फेसबुक मार्फत नाटक हेर्ने सुविधा दिने उद्देश्यले शुरु गरिएको ‘क्वारेन्टिन अभियान नाट्य उत्सव–२०७६’ एक साता लम्ब्याइने भएको छ।
उत्सवको प्रारम्भिक लक्ष्य एक साता आज (बिहीबार) पूरा हुँदैछ। तर सरकारले बन्दाबन्दीको अवधि २५ चैतसम्म थपेसँगै उत्सवको समय पनि अर्को सातासम्म लम्ब्याइएको उत्सवका निर्देशक केदार श्रेष्ठले बताए। “बन्दाबन्दीको अवधि थपिएको छ, दर्शकको माग पनि बढिरहेको छ। साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ। त्यसैले अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं” उनले भने।
आज सुरेन्द्र वर्मा लिखित र सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति ‘शकुन्तलाको औँठी’ को भिडियो प्रस्तुतिसँगै उत्सवको पहिलो साता समापन हुँदैछ। उत्सव अन्तर्गतका नाटकको भिडियो हरेक साँझ ठीक ५ बजे थिएटर मलको अफिसियल पेज https://www.facebook.com/TheatreMall बाट लाइभ स्ट्रिमिङ गरिनेछ।
अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेको बताउँदै निर्देशक श्रेष्ठले अब बालबालिका लक्षित नाटकलाई प्राथमिकता दिने जानकारी दिए। साताको शुरुआतमा लगातार दुई नाटक बालबालिका लक्षित देखाइने जनाइएको छ। उत्सवका लागि तय गरिएको तालिका अनुसार दोस्रो साताको पहिलो दिन शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति ‘उपियाँको निबन्ध’ को भिडियो देखाइनेछ। त्यसै गरी शनिबार कथाघेरा, कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’ प्रस्तुत गरिनेछ।
आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाइनेछ भने सोमबार आरोहण–गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’ को भिडियो लाइभ स्ट्रिमिङ गरिनेछ। युजिन ओ’निलको लेखन रहेको नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्।
अझै नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार भइरहेको उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए। उनका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ यसै साता प्रदर्शन गरिने सूचीमा परेका छन्। यी नाटक प्रदर्शनको मिति क्रम भने तय भइसकेको छैन। त्यसैगरी, उत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शनको सूचीमा छन्।
सरकारले कोरोनाभाइरसको रोकथामका लागि लागू गरेको बन्दाबन्दीमा संक्रमणबाट बच्ने एक मात्र उपाय क्वारेन्टिनलाई प्रोत्साहन गर्न थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले विश्व रङ्गमञ्च दिवस १४ चैतबाट उत्सव शुरु गरेका हुन्।