कला/साहित्य विहीबार, चैत १३, २०७६

‘क्वारेन्टिन अभियान नाट्य महोत्सव’ शुक्रबारदेखि

हिमालखबर

‘क्वारेन्टिन अभियान नाट्य महोत्सव’ शुक्रबारदेखि

कोरोनाभाइरस संक्रमण रोक्नका लागि नेपालमा बन्दाबन्दी (लक डाउन) छ । यो बन्दाबन्दीमा रङ्गमञ्चले नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न नसक्ने भएकाले फेसबुक मार्फत ‘क्वारेन्टिन अभियान नाट्य महोत्सव’ हुने भएको छ ।

थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले मार्च २७: विश्व रङ्गमञ्च दिवसमा १४ चैतदेखि ‘क्वारेन्टिन अभियान नाट्य महोत्सव २०७६’ आयोजना गर्ने भएको हो । आयोजकले यस ‘क्वारेन्टिन अभियान नाट्य उत्सव’ मा सहभागिताका लागि नाटकको भिडियो सहित अन्य रङ्गकर्मीहरूलाई समेत आग्रह गरेको छ ।

महोत्सवका निर्देशक केदार श्रेष्ठले भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुक पेजमा मञ्चन गर्ने बताएका छन् । उनले भने, “यो बन्दाबन्दीमा हाम्रा दर्शक र रङ्गप्रेमीहरूका लागि दैनिक जीवनयापन सहज बनाउन र मानसिक रुपमा साथ दिन महोत्सवको आयोजना गरेका हौं ।”

महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर समय हुनेछ । नाटकको भिडियो थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । लाइभ अवधिभर मात्र नाटक हेर्न पाइनेछ ।

त्यसपछि फेसबुक पेजमा नाटक रहने छैन । त्यसैले रङ्गप्रेमीले साँझ ५ बजे थिएटर टाइम छुट्याउनु पर्नेछ । लाइभ भिडियो सार्वजनिक रुपमा शेयर गर्न पाइने तर डाउनलोड तथा कुनै पनि क्यामेराले खिच्न पाइने छैन । सो विपरीत भए सर्वाधिकार र साइबर कानून लाग्ने जनाइएको छ । महोत्सव कम्तिमा एक सातादेखि अनिश्चित कालसम्म जारी रहने छ ।

प्रतिकृया दिनुहोस