ब्लग शनिबार, चैत १५, २०७६

'लकडाउन, जसले हामीलाई पुनःमान्छे बनायो !'

हिमालखबर

'लकडाउन, जसले हामीलाई पुनःमान्छे बनायो !'
चीनकाे वुहान शहर । तस्वीर: एबीसीन्यूज डट गाे डट कम।

२४ फागुनमा ‘हिमालखबर’ मा चीनको सांघाईमा कार्यरत् मार्श्या चेनको ‘लकडाउन अनुभूति’ प्रकाशित गर्दा कोरोनाभाइरस (कोभिड १९) लाई महामारी भनिन थालिएकै थिएन । चीनमा यो मितिमा ३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो, वुहानसँगै धेरै शहर संक्रमणको जोखिमका कारण ‘लकडाउन’ गरिएको थियो ।

नेपालमा ९ माघमा चीनबाटै फर्किएका एकजनामा कोरोना संक्रमण देखिए पछि थप संक्रमित फेला परेका थिएनन् । विश्वका धेरै देशहरुजस्तै नेपाल पनि त्रस्त त थियो । तर, चीनजस्तै ‘लकडाउन’ भोगिहाल्नुपर्ने अवस्था नआउला भन्ने सोच छदैं थियो ।

तर, यो तीन सातामा सबै कुरा परिवर्तन भएको छ । विश्वका १९९ देशमा २८ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ । नयाँ संक्रमित देखिएसँगै नेपाल पनि १० चैतदेखि बन्दाबन्दी (लकडाउन) मा छ । उता वुहानमा भने जीवन विस्तारै सामान्य बनिरहेको छ ।

हप्ता होइन, करिब डेढ महीनासम्म ‘लकडाउन’सँग संघर्ष गरेकी मार्श्याले ‘लकडाउन’का यी अनुपम अवसरहरू बारे अनुभूति साटेकी थिइन् । मार्श्याको यो व्यक्तिगत अनुभूतिले हामीलाई पनि उस्तै परिस्थितीको सामना गर्न र एकान्तवासमा आफू र आफ्नाहरुलाई खोज्न सघाउ पु¥याउनेछ।

...

सांघाईस्थित अपार्टमेन्टमा एक्लै बसेको आज ४१औं दिन भयो । कसैसँग नभेटी, बाहिर कतै पनि नगई यत्तिका दिन एकान्तमा विताएँ । यो मेरो जीवनको सबैभन्दा लामो मौनता हो।

मार्श्या चेन

चीनमा कोरोना भाइरस देखा परेपछि सबैजस्तै म पनि आत्तिएँ । तर, केही दिन बन्दी झैं बसेपछि सङ्कटले हामीलाई केही नयाँ कुरा सिकाउन थालेको महसूस भयो । चिनियाँ भाषामा सङ्कट शब्द, 危机, दुई अक्षर मिलेर बनेको छ । तीमध्ये पहिलोले खतरा र दोस्रोले अवसर जनाउँछ । यिन र याङको मिलन झैं हरेक चिजको दुई पक्ष हुन्छ । हरेक सङ्कटमा अवसर हुन्छ, तर त्यसलाई देख्न साहस र बुद्धिमत्ता चाहिन्छ।

अवसर–१ः धिमा गति

केही वर्षदेखि चीन विकासको ‘हाइपर मोड’ (अति सक्रिय अवस्था) मा छ । कुल गार्हस्थ्य उत्पादनमा हुने वृद्धि सफलता नाप्ने एक मात्र तरिका भए झैं देखिन्छ र देश तीव्रगतिमा चलिरहेको मेशिन जस्तै भएको छ । म पनि त्यो मेशिनको एउटा पुर्जा भएकी छु । आत्मसमीक्षा र मननका लागि यो तीव्रगति कम गर्नुपर्छ भन्ने थाहा छ तर पूरै प्रणाली यति अनियन्त्रित वेगले दौडिरहेको छ कि ममा यो ‘ब्रेक’ दबाउने साहस नै छैन ।

कोरोना भाइरसले भने पूरा प्रणालीमै हठात् ‘ब्रेक’ लगाइदियो । सम्पूर्ण देश अचानक टक्क अडिन बाध्य भयो । इतिहासमा कहिल्यै नभएको लामो बिदा भयो । मानिसहरू कुल गार्हस्थ्य उत्पादन वृद्धि र समाजको उच्च वर्गमा पुग्ने चिन्ता पन्छाउँदै, मेशिनको पुर्जा हुन छाडेर फेरि ‘मानव’ बन्नेतर्फ अग्रसर बने ।

आफ्नै अनुभवको कुरा गर्ने हो भने, यो वेला ‘मेरा लागि महत्वपूर्ण के हो ?’ भनेर आफूलाई सोध्न सकें । मैले त्यस्ता पुस्तकहरू पढ्न शुरू गरें जुन उत्पादकत्व र वृत्ति–विकासको लागि नभई मानवता र जीवनको अर्थ बारे लेखिएका थिए । यतिवेला म विमानको ‘स्वचालित मोड’ जस्तो अवस्थाबाट मुक्त हुँदै, निश्चित ‘प्रोग्रामिङ’ बाट बाहिर निस्किएर सचेतनाका साथ बाँच्न र सोचीविचारी बाटो रोज्न सक्ने भएकी छु ।

अवसर–२ः परिवारसँगको समय

व्यस्त आधुनिक जीवनशैलीमा अभ्यस्त हामी चिनियाँ शहरवासी प्रत्येकसँग आ–आफ्ना अजेन्डा छन् । हामीसँग गर्नुपर्ने काम र महत्वाकांक्षाको लामो सूची छ ।

शायद परिवारका अग्रजहरूसँग समय बिताउनु हाम्रो प्राथमिकताको पहिलो पाँचौं बुँदाभित्र पनि पर्दैनथ्यो । तर, कोरोना भाइरस सिर्जित सङ्कट परिवारसँग समय बिताउने अप्रत्याशित उपहार बनिदियो, जुन हामीमध्ये धेरैले गुमाएको महसूस गरेकै थिएनौं ।

आफ्ना आमाबुवासँग लगातार दुई हप्ता बिताएको अनुभूतिहरू मसँग बताइरहँदा मेरो एकजना साथीको स्वर कामिरहेको थियो । साथी ५५ वर्ष र उनका आमाबुवा ९० वर्षभन्दा माथिका छन् । “मैले उहाँहरूसँग जीवनमा कहिल्यै यस्तो समय बिताएकी थिइनँ, हाम्रो सम्बन्ध यति प्रगाढ होला भन्ने सोचेको पनि थिइनँ” उनले भनिन्, “कुनै हतार थिएन, अजेन्डा थिएन, गरिहाल्नुपर्ने कामको सूची पनि थिएन । खालि उहाँहरूका कुरा सुनें ।

उहाँहरूको पीर, चिन्ता र खुशीको स्रोत बुझ्न थालें । यो मेरा लागि जीवन नै उपहार पाएको जस्तो भयो ।”

अर्को साथीका लागि यो सङ्कट आफ्ना हजुरबा–हजुरआमालाई चिन्ने अवसर बन्यो । “अधिकांश चिनियाँ परिवारमा जस्तै म चार वर्षको हुँदा मेरा आमाबुवा गाउँबाट शहर बसाइँ सरेका थिए । धेरै वर्षपछि मलाई पनि हजुरबुवा–हजुरआमासँग बस्ने समय मिल्यो । मैले उहाँहरूका जीवनका धेरै कथा सुन्ने मौका पाएँ”, उनले भने ।

अरू थुप्रै साथीले पनि मलाई यस्तै ‘पहिलो पटक’ को अनुभव बारे कथाहरू सुनाए । कोरोना भाइरसले हामीलाई वास्ता नगरिएका तर मूल्यवान ती अनुभूतिको महत्व बुझाइदियो ।

अवसर–३ः समुदाय

आधुनिक जीवनले हामीलाई एक्लिएर बस्न, सहकार्यको सट्टा प्रतिस्पर्धा गर्न, एकअर्कामा निर्भर हुनुको सट्टा स्वतन्त्र र समुदायवादीको सट्टा व्यक्तिवादी हुन सिकाएको छ । तर, सङ्कटले हामीलाई त्यसको ठीक उल्टो गर्ने बनायो । वैयक्तिक उपलब्धिका बारे सोच्नुको साटो साझा कठिनाइ बेहोरिरहेका हामीलाई अरूसँग सम्पर्कमा रहन र सँगै काम गर्न सिकायो ।

अधिकांश मानिस घरभित्रै रहन बाध्य छन् तर अनलाइन समुदाय निकै सक्रिय भएको छ । धेरै वीच्याट समूह रातारात बनाइए, निःशुल्क अनलाइन कोचिङ, परामर्श, ध्यानसँगै सहायताका विभिन्न स्रोत उपलब्ध गराइए । विभिन्न संस्थाहरूले मानिसलाई छटपटी र चिन्ता कम गर्न सहयोग गर्ने अडियो र भिडियो उपलब्ध गराए ।

केही समूहले ‘अनलाइन फायरसाइड सेयरिङ’ उपलब्ध गराए, जहाँ मानिसहरूले आफ्ना कुरा साट्न सके । यो पीडामा मल्हम पनि बन्यो र आपासमा सम्पर्कमा रहन सहयोग पनि पुर्‍यायो ।

यो सङ्कटले हामीलाई हामी मानव नै हौं, रोबोट होइनौं भन्ने सम्झायाे। मानिसमा माया, आफ्नोपन र अन्तरसम्बन्धको चाहना र आवश्यकता हुन्छ । र यी चिजहरू भौतिक उन्नति वा लाभभन्दा बढी महत्वका छन् भन्ने पनि बुझायो ।

मलाई विश्वास छ, कोरोना भाइरसका कारण सिर्जित व्यक्तिगत सचेतनाको विकासले हामीलाई हाम्रो संसार सपार्न प्रेरित गर्नेछ ।

म यो सङ्कटको बादल पर्तिर एउटा ‘चाँदीको घेरा’ देखिरहेको छु । म कामना गर्छु, यो सङ्कट शिक्षाप्रद बनोस्, र हामी आत्मसमीक्षा गर्दै नवीन र फरक तरिकाले नयाँ दशकमा प्रवेश गर्न सकौं ।
चीन, बलियो रहिरहनु ! 

(चेन सांघाईस्थित एक निजी कम्पनीका व्यापार व्यवस्थापक हुन्। मार्श्याको यो लेख यसअघि कोरोनाः खतरासँगै अवसर शीर्षकमा प्रकाशित थियो । )

प्रतिकृया दिनुहोस