ब्लग शुक्रबार, फागुन १६, २०७६

राणाशासन हल्लाउने ‘हलो क्रान्ति’

भैरव रिसाल

राणाशासन हल्लाउने ‘हलो क्रान्ति’
भैरव रिसाल

राणाशासन फाल्न राजनीतिक मात्र होइन, सामाजिक आन्दोलनहरू पनि भए । त्यस्ता सामाजिक आन्दोलनमध्येको एक थियो– ‘हलो क्रान्ति’, जुन जातीय छुवाछूत विरुद्ध गरिएको थियो ।

यो क्रान्तिको नेतृत्व बडो सुझबुझका साथ पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मुखिया हरिदासले २००४ सालदेखि नै बनाएका रहेछन् । तर, फागुन, २००५ मा हरिदासको मृत्यु भएपछि यो अभियान केही धकेलिएछ।

अन्ततः ११ साउन २००६ मा लमजुङ, दुराडाँडामा शेषकान्त अधिकारीले आफ्नो खेतमा हलोको अनौ समातेर खेत जोतिछाडे । यो सुन्नासाथ चारैतिर ठूलो खलबल शुरू भएछ । विस्तारै हलो जोत्ने बाहुनको संख्या २७ जना पुगेछ।

उता कास्कीको बाटुलेचौरमा पनि पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा बाहुनकै एक समूहले बारी जोतेछन् । गोरखामा पूर्णप्रसाद ब्राह्मणहरूको नेतृत्वमा र धादिङ, केवलपुरमा देवीप्रसाद पौडेल दम्पती (केवलपुरे किसान), गैराघरेका दाजुभाइसहित चारजनाले हलो जोतेछन्।

मुलुकको सिरानमा हुकुमी राणाशाहीको क्रूर शासन थियो । तलतिर गाउँ–गाउँमा ठालु, शोषक, जिम्मावाल, तालुकदार, फटाहाहरू तथाकथित पण्डित, पुरोहितहरू, राणाशासनका जराका रूपमा थिए । गाउँले प्रायः तिनकै हैकम मान्थे।

न पर्चा, न जुलूस, न हड्ताल ! हलो जोत्ने आन्दोलन सामाजिक क्रान्तिको रूपमा फैलन थाल्यो । बाहुनले हलो जोते भनेर कम्पन प्रारम्भ भयो । हलो जोत्ने बाहुनहरू मूर्ख र अनपढ पनि थिएनन् । हलो क्रान्तिले राजनीतिक क्रान्तिलाई परोक्ष रूपमा सघाएको राणाशासनले निष्कर्ष निकालेछ।

अर्मपर्म नै बिथोलियो

सरकारले दुराडाँडाका हलो क्रान्तिका ब्राह्मणहरूलाई थुन्ने रणनीति लिएछ । शेषकान्त र तोयानाथलाई गिरफ्तार गरी पोखरा पुर्‍याइएछ । बडाहाकिमले ‘राजद्रोही तिमीहरूलाई बाँकी राख्दिनँ’ भनी तर्साएछन् । तोयानाथले बाहुनले हलो जोत्न हुन्न भनी शास्त्रमा कहीं उल्लेख छैन भनी प्रतिरक्षा गरेछन्।

यसरी हलो क्रान्तिले राजकाज मुद्दाको रूप लियो । त्यतिवेलाको नेपाली समाजमा चर्को जातपातको प्रचलन थियो । बाहुनमा पनि कुमाई र पूर्वीया, उपाध्याय र जैसी गरी चार थरी । भातभान्छा साह्रै कडा । बिहे हुन मन मिलेर नहुने, भातभान्छा नै मिल्नुपर्ने।

गोरु जोत्ने विद्वान् पण्डित नै भए पनि उनका छोरालाई कसैले छोरी नदिने भयो, उनकी छोरी कुनै बाहुनको छोराले बिहे नगर्ने भयो । तिथि, चाड पर्व, उत्सव, केही पर्दा गोरु जोत्ने बाहुनकोमा गोरु नजोत्ने बाहुन सहभागी नहुने भयो।

न पर्चा, न जुलूस, न हड्ताल ! हलो जोत्ने आन्दोलन सामाजिक क्रान्तिको रूपमा फैलन थाल्यो । बाहुनले हलो जोते भनेर कम्पन प्रारम्भ भयो । हलो जोत्ने बाहुनहरू मूर्ख र अनपढ पनि थिएनन् । हलो क्रान्तिले राजनीतिक क्रान्तिलाई परोक्ष रूपमा सघाएको राणाशासनले निष्कर्ष निकालेछ।

गाउँको भारो पर्म नै रोकिन लाग्यो । यसरी समाजमा नयाँ परिस्थिति सिर्जना हुन लाग्यो । हुँदाहुँदा गोरु जोत्ने बाहुनको हुक्का नलीमा गोरु नजोत्ने बाहुनले तमाखु खान छोडे । हलो जोत्ने र नजोत्ने ब्राह्मण परिवारमा चेलीबेटी, इष्टमित्र, ज्वाइँ–भानिज आउजाउ नै बन्द हुन थाल्यो।

बडाहाकिमले गाँठो फुकाए

७ फागुन, २००७ सालबाट राणाशासन उखेलियो । तर, हलो क्रान्तिको असर भने २०११/१२ सालसम्म पनि कायमै रह्यो । २०११ सालमा गोरखाको काफलडाँडामा भएको बिहेको जन्तेबाख्रो भोजमा हलो जोत्ने र नजोत्ने बाहुनहरू बीच निकै नोकझेक चल्यो । त्यहाँ ‘जात राजाको, भात भताहा’ को भन्ने उखान चरितार्थ भएको थियो । भताहाले भात खाऊन् नखाऊन् हलो जोताहाहरूले कुनै मतलब राखेनन्।

अर्को दृष्टान्त, गोरखा हर्मी भञ्ज्याङका ढकाल थरका एक युवाको हलो जोताहा भूमिनन्द खनालकी छोरीसँग विवाह तय भएछ । तर, हलो जोताहा र नजोताहा बाहुनहरू बीच भातभान्छा चल्ने नचल्ने विवादले चर्को रूप लिएछ । एउटा पक्षले जोताहा पक्षकालाई रु.१५०० जरिवाना तोकेछ । जोताहा पक्षधरले यदि जरिवाना तिरेर हुने भए दलितसँग पनि जरिवाना लिई भातभान्सा चलाऔं भनेछन् । अन्ततः भोजै भाँडिएछ।

धादिङको केवलपुरमा पनि त्यस्तै भयो । देवीप्रसाद पौडेलको नेतृत्वको हलो काण्डले गाउँमा बिहेबारी नै रोकिएपछि झङ्कप्रसाद बाँस्कोटाले बडाहाकिमलाई नै ल्याएर भोज गराए । बडाहाकिमको रोहवरमा हलो जोत्ने र नजोत्नेहरूलाई सँगै एउटै भान्सामा भात खुवाए । त्यसपछि बल्ल सामाजिक विधि व्यवहार पुनः थालनी भयो । यसरी हलो क्रान्तिले एउटा सफलता प्राप्त गर्‍यो।

प्रतिकृया दिनुहोस