प्रदूषित हावाले अस्पतालमा बढे बिरामी, युवा पनि जोखिममा
काठमाडौंमा वायु प्रदूषण बढ्दै गएपछि दीर्घरोगी त प्रभावित भएका छन् नै, युवामा पनि स्वास्थ्य समस्या देखिएको चिकित्सक बताउँछन्।
रसुवाकी ६० वर्षीया एक महिला दुई साताअघि आफ्नी छोरीलाई भेट्न काठमाडौं आएकी थिइन्। काठमाडौं आएको तीन दिनमा खोक्न थालेकी उनलाई चौथो दिन ज्वरो आयो। खोकीमा कालो खकार देखिने र छाती घ्यारघ्यार हुने, सास फेर्न पनि गाह्रो हुन थालेपछि उनलाई नजिकैको ह्याम्स अस्पताल पुर्याइयो।
उपचारमा संलग्न छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार अहिले उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिंदै छ। “अस्पताल ल्याउँदा अक्सिजनको मात्रा ७० प्रतिशत मात्रै थियो भने निमोनियाले छातीमा धेरै असर गरिसकेको थियो,” डा. पंगेनी भन्छन्, “उनको लक्षण हेर्दा काठमाडौंमा भएको वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएको भन्न सकिन्छ।”
पछिल्लो दुई सातादेखि यस्तै किसिमका धेरै बिरामीको उपचार गरिरहेको डा. पंगेनी बताउँछन्। तीमध्ये एक हुन्, धादिङका ६० वर्षीय पुरुष। पाँच वर्षअघि क्षयरोग भएर निको भएका उनी घरायसी कामले काठमाडौं आएका थिए। तर यहाँ आउनासाथ उनको अक्सिजनको मात्रा घट्यो भने रुघा, खोकी, ज्वरो र छाती घ्यारघ्यार हुने समस्या देखिन थाल्यो। अकस्मात् स्वास्थ्य बिग्रिएपछि ह्याम्स अस्पताल पुर्याइएका उनलाई पनि आईसीयूमा राखेर उपचार गर्नुपर्यो।
काठमाडौंको हावा अत्यन्त प्रदूषित भएकाले फोक्सोका दीर्घरोगीलाई सास फेर्न गाह्रो परिरहेको बताउँछन् डा. पंगेनी। धादिङ, रसुवा जस्ता पहाडी जिल्लाका दीर्घरोगी काठमाडौं आउँदा यहाँको वायु प्रदूषणका कारणले पहिलेको भन्दा १० प्रतिशतले अक्सिजनको मात्रा घट्ने उनी बताउँछन्।
डा. पंगेनीका अनुसार उनीकहाँ आएका बिरामी दीर्घरोगी वा ज्येष्ठ नागरिक मात्र छैनन्। “मैले दैनिक ४० जना बिरामी हेर्दा २० जना जति युवा छन्, जसलाई केही न केही श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखिएको छ,” उनी भन्छन्, “युवा र श्वासप्रश्वासका दीर्घरोग नभएका मानिसलाई समेत स्वास्थ्य समस्या देखिनु भनेको काठमाडौंको हावा अत्यन्त प्रदूषित छ भन्ने प्रमाण हो।"
उनले सुनाएकै एक बिरामीको उदाहरणले पनि काठमाडौंको वायु कति विषालु भइसकेको छ भन्ने थाहा हुन्छ। फोक्सोको बाथ भएर लामो समयदेखि डा. पंगेनीकहाँ नियमित फलोअपमा आइरहने काठमाडौंकी ५५ वर्षीया एक महिलालाई घरमै अक्सिजन दिएर राख्नुपर्थ्यो। उपचारकै क्रममा उनी छोरी भेट्न अस्ट्रेलिया गइन्। पंगेनीका अनुसार त्यहाँ उनलाई एक दिन पनि अक्सिजन दिनुपरेन।
तीन महीना बसेर काठमाडौं झरेको दिनदेखि फेरि उनलाई अक्सिजन दिनुपर्यो। “काठमाडौंमा बस्दा अक्सिजन चाहिने र बाहिर जाँदा अक्सिजन नचाहिने धेरै दीर्घरोगीको मैले उपचार गरिरहेको छु,” उनी सुनाउँछन्।
त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा कार्यरत चेस्ट फिजिसियन डा. सन्तकुमार दास पनि पछिल्लो समय श्वासप्रश्वाससँग सम्बन्धित बिरामी बढिरहेको बताउँछन्। उनका अनुसार अस्पतालका ओपीडी, इमर्जेन्सी र आईसीयू श्वासप्रश्वास सम्बन्धी दम र निमोनिया जस्ता रोगका बिरामीले भरिएका छन्। दीर्घरोग नभएका युवा समेत ज्वरो, सास फेर्न गाह्रो हुने, रुघा र कफ सहितको खोकीका लक्षण लिएर अस्पताल पुगेका छन्। “श्वासप्रश्वासका दीर्घरोगी त सधैं जोखिममा छन् नै, साधारण मानिस समेत बिरामी पर्नुले वायु अत्यधिक प्रदूषित छ भन्ने बुझिन्छ,” डा. दास भन्छन्।
वीर अस्पतालमा कार्यरत चेस्ट फिजिसियन डा. अशेष ढुंगाना पनि पछिल्लो समय श्वासप्रश्वासका बिरामी बढिरहेको बताउँछन्। उनको भनाइमा २५ शय्याको वार्डमा बिरामीको चाप बढी भएर नयाँ भर्ना हुन आउनेलाई रेफर गर्नुपरेको छ। ओपीडी र इमर्जेन्सीमा समेत उस्तै चाप छ। “बिरामीको लक्षण हेर्दा अधिकांशलाई प्रदूषणले बिरामी बनाइरहेको बुझिन्छ,” ढुंगाना भन्छन्।
माथिका दृष्टान्तले काठमाडौंको हावा सामान्य र श्वाप्रश्वास सम्बन्धी समस्या भएका दीर्घरोगीका लागि कति हानिकारक छ भन्ने देखाउँछन्।
‘वर्ल्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्ट’ ले प्रकाशन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (वायु गुणस्तर सूचकांक) अनुसार पछिल्लो एक महीनामा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीको अग्रपंक्तिमा आइरहेको छ। प्रदूषित वायुकै कारण खासगरी बालबालिका र दीर्घरोगीमा श्वासप्रश्वास सम्बन्धी समस्या देखा परिरहेको चिकित्सक बताउँछन्।
चैत दोस्रो सातायता नेपालमा वायु गुणस्तर सूचकांक २५० भन्दा माथिसम्म पुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १०० सम्मलाई सन्तोषजनक मानिन्छ। त्यसभन्दा माथि १५० सम्मलाई श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, किशोरकिशोरीका लागि अस्वस्थ मानिन्छ।
त्यस्तै, २०० सम्मलाई अस्वस्थ, त्यसभन्दा माथि ३०० सम्मलाई हानिकारक र ३०० भन्दा माथिलाई जोखिमयुक्त मानिएको छ। यो स्तरको प्रदूषणमा प्रतिघनमिटर १९५ माइक्रोग्राम ‘पीएम २.५’ हुन्छ। हावामा हुने १० माइक्रोमिटरभन्दा साना धूलो वा धूवाँका कणलाई ‘पीएम २.५’ भनिन्छ। त्यो भनेको कपालभन्दा पाँच गुणा सानो कण हो।
मानिसको नाकभित्र भएका रौं र साधारण किसिमका मास्कले त्यसलाई छेक्न नसक्ने श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्। उनका अनुसार हावामा रहेका यस्ता अत्यन्त सूक्ष्म हानिकारक कण हरेक पटक सास फेर्दा सीधै फोक्सोमा प्रवेश गर्छन्। स्वस्थ व्यक्तिले पनि लामो समय यस्तै हावामा सास फेर्दा दम, खोकी र हृदयाघातसम्म हुन सक्ने उनी बताउँछन्। “मुटुमा रगत सञ्चार गर्ने नसाहरूलाई यस्तो प्रदूषित हावाले साँघुरो बनाइदिने भएकाले युवा र स्वस्थ मानिसलाई हृदयाघात समेत गराउन सक्छ,” डा. कार्की भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको कृत्रिम फोक्सोले पनि काठमाडौंको वायु प्रदूषणबारे जानकारी दिन्छ। वायु प्रदूषण घटाउन चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित २०७९ चैत २४ गते मन्त्रालयले यूएसआईडी र डब्लूएचओको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको थियो। मन्त्रालयले राखेको १५ दिनमै उक्त कृत्रिम फोक्सो नचिनिने गरी कालो भएपछि त्यसलाई त्यहाँबाट हटाइयो। मन्त्रालयका अनुसार त्यो फोक्सो विभिन्न तह भएको हावा छान्ने यान्त्रिक फिल्टर ‘हाई-इफिशेन्सी पार्टिक्युलेट एयर (एचईपीए)’ बाट बनेको थियो।
अमेरिकी पर्यावरण संरक्षण निकाय ईपीएका अनुसार त्यस्तो फिल्टरले ‘सिद्धान्ततः कम्तीमा ९९.९७ प्रतिशत धूलो, परागकण, मोल्ड (एक प्रकारको ढुसी), ब्याक्टेरिया र वायुमा प्रसारित हुने ०.३ माइक्रोन आकारको कण पनि छान्न सक्छ।’ अर्थात्, एचईपीए फिल्टरबाट निर्मित उक्त कृत्रिम फोक्सोले लगभग मानिसको फोक्सोले छान्ने बराबरकै धूलो छान्न सक्थ्यो। दुई साताभित्रै त्यो पूर्ण रूपमा कालो भएको दृष्टान्तले काठमाडौं उपत्यकामा सहनै सकस हुने वायु प्रदूषण छ भन्ने सन्देश दिन्छ।
नेपालमा वायु प्रदूषणको असर केकति पर्यो भनेर अध्ययन नभए पनि चिकित्सकहरू वायु प्रदूषण हुने समयमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामीको चाप बढ्ने र दीर्घरोगीलाई समेत गाह्रो बनाउने गरेको बताउँछन्। डा. पंगेनीको भनाइमा यस्ता बिरामीको रगतमा प्रदूषणको मात्रा केकति छ भनेर अध्ययन गर्न सके वायु प्रदूषणको वास्तविक असर देखिन्छ। “वायु प्रदूषण हुने मौसममा ओपीडी, इमर्जेन्सी र आईसीयूमा बिरामीको चाप बढ्नुले वायु प्रदूषणले ठूलो असर गरिरहेको छ भन्ने बुझ्न सकिन्छ,” उनी भन्छन्।
डब्लूएचओको सहयोगमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ। त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनली सम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वास सम्बन्धी दीर्घरोग पर्छन्।
हृदयरोग, श्वासप्रश्वास सम्बन्धी दीर्घरोग र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेको उक्त अध्ययनले देखाएको थियो। अध्ययन प्रतिवेदन अनुसार सन् २०१९ मा एक लाख ९३ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएकोमा ४२ हजार १०० जनाको मृत्यु श्वासप्रश्वास सम्बन्धी दीर्घरोगबाट भएको थियो। जसमध्ये काठमाडौंमा पाँच हजार आठ जनाको मृत्यु भएको थियो।
वायु संकट शृंखलाका थप सामग्री :