अन्तर्वार्ता/विचार आइतबार, फागुन ४, २०७६

‘भत्किएका छाउगोठ फेरि कहिल्यै बन्दैनन्’

हिमालखबर

‘भत्किएका छाउगोठ फेरि कहिल्यै बन्दैनन्’

अछामलाई फागुनभित्रै ‘छाउगोठ मुक्त जिल्ला’ बनाउने तपाईंहरुको अभियान कसरी चलिरहेको छ ?

अहिले अछामका १० वटै स्थानीय तहका जनप्रतिनिधि मार्फत टोलटोलका छाउगोठ भत्काउने अभियान चलिरहेको छ । १५ फागुनभित्र सबै छाउगोठ भत्काइसकेर फेरि अनुगमन गरेपछि स्थानीय तहहरूलाई छाउगोठमुक्त घोषणा गरिनेछ । अहिलेसम्म कमलबजार नगरपालिका र केही वडाहरू छाउगोठ मुक्त भइसकेका छन् ।

५/६ वर्षअघि पनि केही गाविसलाई अभियानै अन्तर्गत ‘छाउगोठ मुक्त’ गरिएको थियो तर, सफल भएन नि ?

त्यो वेला अधिकारकर्मीहरूको पहलमा अभियान चलाइएको थियो । छाउगोठ नभत्काउनेलाई कारबाही गर्ने कानून थिएन, प्रहरीसँग पनि केही अधिकार थिएन । अहिले सबै काम कानून अनुसार भइरहेको छ त्यसैले अहिले भत्किएका छाउगोठ फेरि बन्दैनन् ।

जनचेतना अभियान नचलाई छाउपडी विरुद्ध राज्य कठोर भएको हो ?

छाउपडी प्रथा विरुद्धका जनचेतनामूलक अभियान वर्षौंदेखि चल्दै आएका हुन् तर प्रभावकारी नभएपछि कानूनमै दण्ड सजाय राख्नु परेको हो । यस्तो कुप्रथा हटाउन जनचेतनाले मात्र नपुगेपछि यो अभियान थालिएको हो । समुदायलाई साथमा लिएर राज्य कठोर भएको भन्नुपर्ला ।

छाउगोठ भत्काउँदा आएका अवरोधलाई कसरी पार लगाउनुहुन्छ ?

यस्ता परिवर्तनहरूमा सबैले साथ नदेलान् तर समुदायस्तरबाट विरोध नभएकै कारण हामी सफल भइरहेका छौं । यदि कसैले रोक्न खोज्छ भने उसले कानून अनुसारको सजाय भोग्नुपर्छ ।

छाउगोठ भत्किएपछि स्थानीयको प्रतिक्रिया कस्तो छ ?

पहिले छाउगोठमा बस्ने मात्र होइन,  परिवारका सदस्यहरूले पनि पहिले नै गर्नुपर्ने काम भनेका छन् । ढिलोचाँडो सबैले भन्नुपर्ने पनि यही हो । देशकै लज्जाको विषय छाउगोठ अब रहँदैन । अहिले वडास्तरसम्म निगरानी समूह गठन भएका छन् । केही वर्ष निरन्तर अनुगमन हुनुपर्छ ।

 

प्रतिकृया दिनुहोस