समाचार सोमबार, माघ २७, २०७६

कोरोनाभाइरस प्रभावित क्षेत्रबाट नेपाली ल्याउन वाइड बडी जहाज चीन पठाउने तयारी

रासस

कोरोनाभाइरस प्रभावित क्षेत्रबाट नेपाली ल्याउन वाइड बडी जहाज चीन पठाउने तयारी

सरकारले कोरोनाभाइरस फैलिएको चीनको हुपेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो ।

निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।  चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ ।

निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ ।

वाइड बडी जहाज पठाउँदा करीब २ दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।

कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने जानकारी दिए । 

चीनको हुवेई प्रान्तको वुहान प्रान्तबाट १ सय ८० नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३ सय ५१ जनामा सो भाइरस देखिएको छ । त्यसमध्ये चीनकै १७ हजार नागरिकमा याे भाइरस देखिएको छ । सो भाइरसका कारण चीनमा ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस