कला/साहित्य शनिबार, माघ १८, २०७६

बाघ बुझ्न, बुझाउन

हिमालखबर

बाघ बुझ्न, बुझाउन

सन् २०१० मा रुसको सेन्ट पिटसवर्गमा आयोजित बाघको वासस्थान भएका मुलुकका प्रमुखहरूको पहिलो सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गर्‍यो । सम्मेलनले बाघ संरक्षण प्रभावकारी बनाउन हरेक २९ जुलाइमा ‘बाघ दिवस’ मनाउने घोषणा पनि गर्‍यो ।

पिटसवर्ग प्रतिबद्धता अनुसार नै नेपालमा विगत दश वर्षमा पाटेबाघको संख्या १२१ वटाबाट बढेर २३५ पुगेको छ । विश्वबाटै लोपोन्मुख पाटेबाघ नेपालमा बढ्नुले संसारभरका संरक्षणकर्मी हौसिएका छन् ।

नेपाल बाघमा धनी हुँदै गए पनि नेपाली भाषामै बाघ बारेका पुस्तकको अभाव छ । स्तनधारी प्रजातिमध्ये सिकार गरेर खाने शीर्ष जनावर बाघबारे हालै प्रकाशित हेमसागर बराल लिखित पुस्तक ‘पाटेबाघ’ ले यो अभाव केही हदसम्म भए पनि पूरा गर्ने जमर्को गरेको छ । पुस्तकमा बाघको परिचय र विशेषता सहित सचित्र वर्णन छ ।

खण्ड ‘क’ देखि ‘ढ’ सम्म बाघ बारेको यो पुस्तक बाघको उत्पत्तिबाट शुरु हुन्छ र नेपालमा बाघको अध्ययन, अनुसन्धानमा सक्रिय संस्थाहरूको ठेगाना समेत दिएर सकिन्छ ।

यसबीचमा बाघको परिचयसँगै, बाघको बानीव्यहोरा र प्रजनन् अवस्था, बाघ र चितुवा बीचका फरक, बाघको सांस्कृतिक र धार्मिक महत्व, नेपालमा बाघ संरक्षणका प्रयास, बाघ र मानिसको सम्बन्ध, बाघको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणका प्रयास, बाघको भविष्य लगायतका थुप्रै विषय समावेश छन् ।

लेखक स्वयं वन्यजन्तुविद् भएकाले बाघसँगको जम्काभेटका प्रसङ्ग पनि रोचक लाग्छ ।

लेखकका अनुसार, नेपालमा २००७ सालको राणा शासन अन्त्यसँगै बाघ घट्न थालेको हो । उनी यसका लागि राजनीतिक अस्थिरता र २०११ सालमा तराईमा औलो उन्मूलन भएको समाचार फैलिएसँगै तराईमा बढेको बसाइँसराइलाई प्रमुख ठान्छन् ।

राणाकालमा बेलायतका राजपरिवार, उच्चपदस्थ अधिकारी र नेपालकै राजा–राणा खलकले तराईका जङ्गलहरूमा महीनौंसम्म बाघको शिकार गरे पनि दुई–तीन वर्षको फरकमा जङ्गलमा जाने गरेकाले बाघको संख्या खासै नघटेको लेखकको तर्क छ ।   

नेपालमा बाघको संख्या कसरी बढ्यो ? यसबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन् । खासगरी संरक्षणमा सरकारको नेतृत्वमा गैरसरकारी संस्थाको सक्रिय सहयोग र स्थानीय समुदायको चेतनाले यसमा अहम् भूमिका खेलेको छ । संरक्षण प्रभावकारी हुँदा चोरीशिकारीमा कमी आएको छ । बाघको वासस्थान सुरक्षित मात्र भएको छैन, आहारा अन्य वन्यजन्तुको संख्या पनि बढेको छ ।

बाघ त बढ्यो, तर अब अर्को चुनौती थपिएको छ । यो चुनौती भनेको ‘संख्यामा आधारित व्यवस्थापन’ हो । बाघले ओगट्ने स्थान, उसलाई आवश्यक आहारा जीवजन्तुको उपलब्धता, खेल्ने घाँसे मैदान तथा खानेपानीको उचित व्यवस्थापन हुन नसके बाघ फेरि घट्न सक्छ ।

बाघले जङ्गलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रमा अर्को बाघलाई बस्न दिंदैन । त्यसैले जङ्गलको क्षमताभन्दा बाघको संख्या धेरै भएमा बुढा, कमजोर र अर्ध–वयस्क बाघ जङ्गल बाहिर निस्कन्छन् । त्यस्ता बाघले घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्छन् ।

केही वर्षयता चितवन निकुञ्ज बाहिर निस्केका बाघमध्ये अधिकांश अर्ध–वयस्क छन् । त्यसैले, अबको बाघ संरक्षण रणनीतिले बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने तथा प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

बाघ संरक्षणको अर्को समस्या भनेको वनमारा (माइकानिया मिक्रान्था) लगायतका मिचाहा वनस्पतिको प्रकोप हो । पानीका स्रोत सुक्दै जानुले पनि संरक्षणमा चिन्ता थपेको छ ।

विश्वभर बाघको संख्या ३ हजार ८९० रहेको छ । सन् २०१६ को तथ्यांक अनुसार पाटेबाघको संख्या सबैभन्दा बढी भारतमा २ हजार २२६ र सबैभन्दा कम लाओसमा दुई वटा रहेको छ । यीबाहेक इन्डोनेसिया, चीन, थाइल्यान्ड, बाङ्लादेश, भूटान, मलेशिया, म्यानमार, रुसमा पनि बाघ पाइन्छ । यताका वर्षहरूमा भियतनाम, कम्बोडिया र लाओसमा भने बाघ लोप भइसकेको बताइन्छ ।

बाघको उपलब्धताको हिसाबले विश्वमा नेपाल आठौं स्थानमा पर्छ । सन् २०२० लाई भ्रमण वर्ष मनाउने राष्ट्रिय अभियानको एउटा पाटो पाटेबाघ पनि हुनसक्छ । पुस्तकमा लेखक बराल ‘बाघ पर्यटन’ बारे पनि चर्चा गर्छन् ।

उनी विश्वमा बाघ पाइने मुलुकहरूमा पछिल्लो समय बाघ पर्यटन फस्टाएको उल्लेख गर्दै भारतबाटै पनि थुप्रै कुरा सिक्न सक्ने बताउँछन् । बाघ पर्यटनबारे उचित र आकर्षक योजना बनाउन सके बाघ संरक्षणमै पनि थप योगदान पुग्न सक्ने उनको भनाइ छ ।

विख्यात वैज्ञानिक जर्ज स्यालरले भनेका छन्, “बाघ जस्ता प्रकृतिका अनुपम उपहारलाई यदि हामीले लोप हुनबाट जोगाउन सकेनौं भने आउँदो पिंढीले हाम्रो अदूरदर्शिता र असंवेदनशीलताका लागि हामीलाई कहिल्यै क्षमा गर्ने छैनन् ।”

बरालको पाटेबाघ नेपाली भाषामा बाघबारे लेखिएको दुर्लभ पुस्तक मात्र होइन, बाघबारे बुझाउन, संवेदनशील हुन लेखिएको सरल पुस्तक पनि हो । पुस्तकबाट संरक्षणकर्मीभन्दा बढी सामान्य नागरिक र बाघसँग जीवन जोडिएका स्थानीयवासीले फाइदा लिनसक्छन् ।

पुस्तक: पाटेबाघ, लेखक: हेमसागर बराल, प्रकाशक: हिमाली प्रकृति, पृष्ठ: १३०+१०

महेश्वर आचार्य

प्रतिकृया दिनुहोस