कला/साहित्य शनिबार, माघ ४, २०७६

नयाँ विषय पुरानै शैली

हिमालखबर

नयाँ विषय पुरानै शैली

पुस्तक– अन्तिम प्रश्न, कथाकार– भोजराज घिमिरे, प्रकाशक– शिखा बुक्स, पृष्ठ– २५०, मूल्य– रु.३५०

‘सेतो घोडा’, ‘कार्यव्यसन’, र ‘सलाम बद्री’ मा जागिरको रैखिक र उमङ्गविहीन जीवनले जन्माएका निस्सारता तथा विरक्ति प्रष्ट प्रवाहित छन्।

कुनै पनि लेखक आफू बाँचेको जीवनको अप्रत्याशित अभिव्यक्तिबाट बच्न सक्दैन । यस अर्थमा, लेखकको अवचेतनले उसको निजी जीवनका गोप्यतालाई सिर्जनामा पोखिनबाट रोक्न दिंदैन ।

कथाकार भोजराज घिमिरे कथा संग्रह ‘अन्तिम प्रश्न’ मा सचेतन मस्तिष्कले आफ्नो प्रशासनिक जीवनको भित्री पक्ष लुकाउने कोशिशमा छन् । तर, समालोचक ज्योफ्री हार्टमेनले भने जस्तो उनले छोडेका, नटिपेका, नदेखे जस्तो गरेका र स्थगित राखेका प्रसङ्गमा उनको पूर्व प्रशासनिक व्यक्तित्वका अव्यक्त रहस्य आएकै छन् ।

संग्रहका १६ कथामध्ये कतिपय यसै मान्यताका आधारमा व्याख्यातित छन् । ‘सेतो घोडा’, ‘कार्यव्यसन’, र ‘सलाम बद्री’ मा जागिरको रैखिक र उमङ्गविहीन जीवनले जन्माएका निस्सारता तथा विरक्ति प्रष्ट प्रवाहित छन् । ‘सेतो घोडा’ त्यही रूपक हो, जसलाई एउटा जागिरेलाई जस्तै, बलियो हुँदासम्म प्रयोग गरिन्छ, उमेर र तेज ढलेपछि तिरस्कृत ।

‘कार्यव्यसन’ काम काम भन्दै सधैं व्यस्त रहनुको परिणामस्वरूप दुर्व्यसनीतुल्य हुनु र जीवनको सन्तुलन गुमाउनुको अन्तरकथा हो । ‘सलाम बद्री’ जागिरका साँध, सीमा र नियमहरूको बन्धनले जीवनका मृदु यथार्थलाई देख्न र अनुभूत गर्न नसक्ने अवस्थाको कबुल हो । जागिरकै सिलसिलामा शहरमा व्यस्त मान्छे बाध्यकारी अवस्थामा मात्रै गाउँको घरमा पुग्दा आफूमा अनपढ गाउँलेको जति पनि व्यावहारिक चेत नभएको पाउँछ ।

घिमिरेको कथाकारिताको मार्ग सामाजिक यथार्थवादी र शैली चाहिं रैखिक, इतिवृत्तान्तम् हो । अधिकांश कथाको कार्यपीठिका ग्रामीण नेपाली समाज हो, जहाँको मौलिक न्याय व्यवस्था, राजनीतिक बुझाइ, सम्बन्धहरू, यौनिकता, विवाह, पलायन, रोजगार, पुस्तान्तरण, दाइजो प्रथा आदि विषय यथार्थको मर्मस्थानसम्म पुगेर टिपिएका छन् । कतिपय विषय भने घिमिरेले अत्याधुनिक समयको गर्तबाट टिपेका छन् ।

‘सम्झौता’ शीर्षकको कथा समलैङ्गिक सम्बन्धमाथि लेखिएको छ, जसमा विवाहित पुरुष आफूमा विपरीत लिङ्गी रुझान नभएको स्वीकारोक्ति सहित श्रीमतीसँग जिन्दगीभर साथ दिने तर, आफूखुशी बाँच्ने सम्झौता गर्छ ।

शीर्ष कथा ‘अन्तिम प्रश्न’ पनि वैवाहिक सम्बन्धको बीचमा अप्रत्याशित रूपमा आइपरेको प्रतिकूलतामाथि लेखिएको छ । अतिशय प्रेम पालेर बसेका श्रीमान्–श्रीमतीमध्ये क्यान्सरका कारण श्रीमतीको मृत्यु भएपछि परिवारको करकापमा दोस्रो बिहे गर्न बाध्य पुरुषको मनोभाव देखाइएको छ ।

‘विनु दी’ कथा दरबारले किशोरीहरूलाई वेश्यावृत्तिमा लाग्न र जीवनभर ग्लानिबोध सहेर बाँच्न अभिशप्त पारेको विषयमा केन्द्रित छ । कथाकी मूल पात्र विनु यौवनको आभा दरबारले खाइदिएर क्षत–विक्षत हुन पुगेकी छिन्, जसलाई उमेर घर्केपछि आफ्नो चौखटबाट निकालेर सडकमा फालिदिएको छ ।

‘यस्तै छ यहाँको चलन’ मा नेपाल र पश्चिमा मुलुकबीच सामाजिक मूल्य तथा मानवीय स्वतन्त्रताका भिन्नतालाई अथ्र्याइएको छ । क्यानाडाको पृष्ठभूमिमा लेखिएको उक्त कथामा क्यानाडावासीहरूको जीवनशैलीको सिको गर्दै आप्रवासी नेपालीले पनि आफ्ना मौलिक सामाजिक मूल्यसँग सम्झौता गरिरहेको सन्दर्भ छ ।

‘पछ्याउन छोड्दैनन्’ शीर्षकको कथामा राजनीतिका ठूला सपना देखाएर नेतृत्व विचलन भएपछिको निराशा र विद्रोह छ । बच्चा जन्माउने उमेर काटेकी एक आमा चिकित्सककहाँ आउँछिन् र पुनः गर्भाधानका लागि सहयोग गर्न अनुरोध गर्छिन् ।

विसङ्गत र बेतुक देखिने यस परिस्थितिको अन्तरकथा अर्कै छः उनको छोरो शहीद भएको छ तर, उसको सपना पूरा गरिएको छैन । त्यसैका लागि उनी पुनः अर्को छोरो जन्माउन चाहन्छिन् । उनका केही कथामा राजनीतिक अवमूल्यन तथा आम मतदातामाझ यो वा त्यो पार्टी भनेर कित्ताकाट गरी घर नै तोड्ने प्रवृत्तिमाथि कटाक्ष पनि छ ।

‘आफ्नो मान्छे’ उमेर रहुन्जेल प्रयोग गर, र अशक्त भएपछि वृद्धाश्रममा छोडिदेऊ भन्ने मान्यताको विपक्षमा छ । ‘सान्दाइ’ छोरीको बिहेका लागि दाइजोको व्यवस्था गर्न आफ्नो सर्वस्व लुटिएको एउटा निरीह बाबुको कथा हो । ‘अनुबन्धन’ साहित्यमा पछिल्लो समय मौलाएको अरूबाट लेखाउने र आफू सेलिब्रिटी हुने होडबाजीको पर्दाफास गर्नका निमित्त लेखिएको कथा हो ।

कथाकार घिमिरे सामाजिक अन्तरसम्बन्धका एक परिपक्व साक्षी र अधिवक्ता हुन् । उनका कथामा हिजो र आजको समयको चित्र छ, स्त्री–पुरुषका मनभित्र र बाहिरका भाव तथा आग्रहको बोध छ । तर, पुरानै संरचना र शैलीको निरन्तरता, ठाउँठाउँमा देखापर्ने पक्षपाती चरित्र, पुरुषवादी आग्रह र मूल्यबोध तथा पछिल्लो समयका राजनीतिक परिवर्तनपछि सतहमा आएका नवीन स्वर र पहिचानको अनदेखा उनको कथाकारिताका कमजोर पक्ष हुन् ।

महेश पौड्याल

प्रतिकृया दिनुहोस